काठमाडौं। यातायात व्यवस्था विभागले चाडपर्वका लागि खुल्ने अग्रिम टिकट बुकिङ मौसमको अवस्था हेरेर मात्रै सुरु गर्ने तयारी गरेको छ। नेपाल मौसम विज्ञान विभागले असोज ९ देखि ११ गतेसम्म देशका अधिकांश भूभागमा भारी वर्षा हुने पूर्वानुमान गरेपछि यस्तो निर्णय लिइएको हो।
यातायात व्यवस्था विभागका अधिकारी गणेशमान सिं राईले आगामी केही दिनको मौसम र सडकको अवस्था मूल्याङ्कन गरेर मात्रै टिकट बुकिङबारे थप छलफल गरिने बताउनुभयो। उहाँका अनुसार सरोकारवालासँगको परामर्शपछि मात्रै अग्रिम टिकट बुकिङको मिति तय गरिनेछ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष पुण्यप्रसाद सिटौलाले पनि सडकको अवस्था र मौसमलाई मध्यनजर गर्दै अग्रिम बुकिङ खुलाउने निर्णय भएको जानकारी दिनुभयो। उहाँले चाडपर्वको समयमा सार्वजनिक यातायातको भाडादर वृद्धि नहुने स्पष्ट पार्नुभयो।
यसैबीच, सडक विभागले दसैँलाई लक्षित गर्दै सडक मर्मतको कार्यलाई तीव्रता दिएको छ। विभागका उपमहानिर्देशक एवम् प्रवक्ता शुभराज न्यौपानेका अनुसार पहिलो चरणमा सात हजार छसय किलोमिटर सडकमा खाल्डाखुल्डी पुर्ने काम भइरहेको छ। सम्भावित बाढी र पहिरोको जोखिमलाई ध्यानमा राख्दै दुईसय स्थानमा पहिरो हटाउने मेसिन र जनशक्ति तयारी अवस्थामा राखिएको छ। विभागले पहिरो गएको खण्डमा आधा घण्टाभित्र मेसिन परिचालन गर्ने र दुई घण्टाभित्र यातायात सुचारु गर्ने रणनीति बनाएको छ।
गत वर्ष दसैँको समयमा काठमाडौँ उपत्यकाबाट छ लाख ११ हजारभन्दा बढी यात्रु बाहिरिएका थिए। यस वर्ष पनि चाडपर्व नजिकिएसँगै अग्रिम टिकट बुकिङबारे सर्वसाधारणको चासो बढेको छ।
