काठमाडौं। प्रतिनिधिसभाको पूर्वाधार विकास समितिले बडादसैँ, दीपावली र छठलगायतका चाडपर्वमा यात्रुको आवागमनलाई सहज, सुरक्षित र व्यवस्थित बनाउन सरोकारवाला निकायहरूलाई निर्देशन दिएको छ।
समितिका सभापति आशिष गजुरेलका अनुसार सोमबार बसेको बैठकले चाडपर्वका समयमा यात्रुको चापलाई ध्यानमा राख्दै पर्याप्त सवारीसाधन परिचालन गर्न र तोकिएका स्थानबाट मात्र टिकट बिक्री गर्न भनेको छ।
समितिले सवारीसाधनको प्राविधिक परीक्षण, चालकको पर्याप्त विश्राम र गति नियन्त्रण सुनिश्चित गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ। साथै, सडकको अवस्थाको पूर्वमूल्यांकन गरी वैकल्पिक मार्गको तयारी गर्न र क्षमताभन्दा बढी यात्रु राख्ने कार्यलाई नियन्त्रण गर्न निर्देशन दिइएको छ। एकीकृत बसपार्क नीतिको प्रभावकारी कार्यान्वयन र सरोकारवाला निकायबीच समन्वय कायम गर्न पनि समितिले जोड दिएको छ।
यात्रुले टिकट नपाउने, तोकिएभन्दा बढी भाडा तिर्नुपर्ने वा ठगीमा पर्ने समस्या समाधानका लागि तत्काल कार्ययोजना बनाएर लागू गर्न मन्त्रालयलाई निर्देशन दिइएको छ।
यसका साथै, यात्रु सहायता कक्ष स्थापना गर्न, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, महिला र बालबालिकामैत्री सेवा प्रदान गर्न र सडक यात्राका क्रममा खानेपानी तथा खाजाको मूल्य र गुणस्तरमा ठगी हुन नदिन पनि समितिले निर्देशन दिएको छ। सार्वजनिक यातायातलाई व्यवस्थित बनाउन गठित उपसमितिमा सांसद राजुनाथ पाण्डेलाई सदस्यका रूपमा चयन गर्ने निर्णय पनि बैठकले गरेको छ।
