काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद करिश्मा कठरियाले किसानको धान सरकारले तोकेको न्यूनतम समर्थन मूल्यमा खरिद गर्ने ग्यारेन्टी गर्न सरकारको ध्यानाकर्षण गराएकी छन्। सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद कठरियाले किसानहरूले बर्सेनि मलको अभाव र प्राकृतिक विपत्तिको मार खेप्नुपरेको उल्लेख गरिन्।
उनले यस वर्ष पनि समयमा रासायनिक मल उपलब्ध नहुँदा धान उत्पादन घट्ने जोखिम बढेको बताइन्। साथै, अविरल वर्षा र बाढीका कारण पाक्न लागेको धानबालीमा क्षति पुगेको उनले जानकारी दिइन्। सरकारले समयमै धान खरिद नगर्दा किसानहरूले तोकिएको न्यूनतम समर्थन मूल्य पाउन नसक्ने अवस्था रहेको उनको भनाइ छ।
सांसद कठरियाले स्थानीय तहसँग आवश्यक समन्वय गरेर किसानको धान राज्यले तोकेको न्यूनतम समर्थन मूल्यमा शतप्रतिशत खरिद गर्ने व्यवस्था मिलाउन सरकारसँग माग गरिन्।
