काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको सातदिने युद्धविराम प्रस्ताव अस्वीकार गरेपछि सोमबार अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेको छ। यसले विश्वव्यापी मुद्रास्फीति बढ्ने चिन्ताका साथै विभिन्न देशका सेयर बजारमा दबाब सिर्जना गरेको छ।
इरानले गत साता संयुक्त राष्ट्रसंघको महासभामा युद्धविरामको प्रस्ताव राखेको थियो। उक्त प्रस्ताव कार्यान्वयन भएमा विश्वको महत्वपूर्ण ऊर्जा आपूर्ति मार्ग होर्मुज जलडमरूमध्य पुनः सञ्चालनमा आउने अपेक्षा गरिएको थियो। तर ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले उक्त प्रस्ताव अस्वीकार गरे । यद्यपि, दुई देशबीच अप्रत्यक्ष वार्ता सुरु हुन सक्ने सम्भावना कायमै रहेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन्।
इरानले आफ्ना रोक्का गरिएका सम्पत्ति फुकुवा गर्नुपर्ने, तेलमाथिका प्रतिबन्ध हटाउनुपर्ने र अमेरिकी नौसैनिक नाकाबन्दी अन्त्य गर्नुपर्ने सर्तहरू राखेको छ। शुक्रबार घटेको तेलको मूल्य सोमबार पुनः उकालो लागेको हो। अन्तर्राष्ट्रिय बजारमा उत्तर समुद्री कच्चा तेलको मूल्य १.८ प्रतिशतले बढेर प्रतिब्यारेल १०६.१९ अमेरिकी डलर पुगेको छ भने पश्चिमी टेक्सासको कच्चा तेलको मूल्य १ प्रतिशतले बढेर ९३.३४ डलर पुगेको छ।
मूल्य वृद्धिको असर एसियाली सेयर बजारमा देखिएको छ। दक्षिण कोरिया, जापान, चीन, फिलिपिन्स, थाइल्यान्ड र इन्डोनेसियाका सेयर बजारमा गिरावट आएको छ भने हङकङ, अस्ट्रेलिया, सिंगापुर र न्युजिल्यान्डका बजारमा वृद्धि देखिएको छ। विश्व ऋणपत्रको प्रतिफल पनि सन् २००७ यताकै उच्च स्तरमा पुगेको छ। अब लगानीकर्ताको ध्यान अमेरिकी केन्द्रीय बैंकको आगामी मौद्रिक नीति र यसै साता सार्वजनिक हुने मुद्रास्फीति तथा रोजगारीसम्बन्धी तथ्यांकतर्फ केन्द्रित भएको छ।
