काठमाडौं: नेपालको मुख्य पर्यटकीय सिजन मानिने अक्टोबर र नोभेम्बर महिनामा बाढी र प्रतिकूल मौसमका कारण पर्यटन क्षेत्रले ठूलो धक्का व्यहोरेको छ। भदौ १० को भोटेकोशी बाढी र त्यसपछिको निरन्तर वर्षाले सडक, पुल र पदमार्गमा क्षति पुर्याउँदा हालसम्म ४० प्रतिशतभन्दा बढी बुकिङ रद्द भइसकेका छन्।
अगस्ट महिनामा ८० प्रतिशतभन्दा बढी बुकिङ भएपछि उत्साहित बनेका व्यवसायीहरू अहिले निराश छन्। मौसममा सुधार नआउँदा मनास्लु र धौलागिरिलगायतका हिमाल आरोहणमा गएका पर्यटकहरू आधार शिविरबाटै फर्किन बाध्य भएका छन्। पर्यटन व्यवसायी ङावाङिमा शेर्पाका अनुसार अन्तर्राष्ट्रिय स्तरमा प्राकृतिक विपत्तिको नकारात्मक प्रचारले गर्दा नेपाल असुरक्षित रहेको भ्रम फैलिएको छ। यसले गर्दा लामो समयदेखि योजना बनाएर आएका पर्यटकहरू समेत यात्रा स्थगित गर्न बाध्य भएका छन्।
अर्का व्यवसायी राजेन्द्र सापकोटाले सडक सञ्जाल बिग्रिँदा गन्तव्यमा पुग्न नसक्दा पर्यटकमा नराम्रो सन्देश गएको बताए। उनले सरकारसँग तीनवटा मुख्य माग राखेका छन्। पहिलो, मौसमका कारण यात्रा गर्न नपाएका पर्यटकका लागि परमिटको म्याद थप गरिनुपर्ने, दोस्रो, अप्ठ्यारोमा परेका पर्यटकको सहुलियत दरमा उद्धार गरिनुपर्ने र तेस्रो, हिमाल तथा पदमार्ग क्षेत्रमा भरपर्दो मौसम पूर्वानुमानको व्यवस्था गरिनुपर्ने।
होटल संघ नेपालका अध्यक्ष विनायक शाहले सडक तथा पुलको क्षतिले गर्दा पर्यटकीय गन्तव्यसम्मको पहुँच मुख्य चुनौती बनेको बताए। उनले काठमाडौंसँगै पोखरा र भैरहवा विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गर्न र छिमेकी मुलुकहरूमा नेपाल सुरक्षित रहेको सन्देश प्रवाह गर्न सरकारसँग आग्रह गरे। नेपाल पर्यटन बोर्डको तथ्यांक अनुसार पछिल्ला वर्षहरूमा अक्टोबर र नोभेम्बरमा पर्यटक आगमन बढ्दो क्रममा थियो, तर यस वर्षको प्राकृतिक विपत्तिले होटल, ट्राभल र पर्वतारोहण व्यवसायलाई प्रत्यक्ष संकटमा पारेको छ।
