काठमाडौं। सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८३/०८४ को बजेट बुधबार साँझ ५ बजे प्रदेशसभामा प्रस्तुत गर्ने भएको छ। आर्थिक वर्ष सुरु भएको करिब ८० दिनपछि प्रदेश सरकारले बजेट ल्याउन लागेको हो।
कार्यव्यवस्था परामर्श समितिको मंगलबार बसेको बैठकले बुधबार साँझ ५ बजेका लागि प्रदेशसभाको बैठक आह्वान गर्ने निर्णय गरेको छ। सभामुख भीमबहादुर भण्डारीले बजेट प्रस्तुतिका लागि बैठक बोलाउने निर्णय भएको पुष्टि गरेका छन्।
यसअघि तत्कालीन प्रदेश सरकारले गत असार १ गते बजेट प्रस्तुत गरेको थियो। तर, सत्तारुढ दलहरूबीचको विवादका कारण बजेट पारित हुन सकेन। सोही विवादका कारण कांग्रेस नेतृत्वको सरकार ढल्नुका साथै साउन १ गतेदेखि प्रदेश सरकार बजेटविहीन अवस्थामा पुगेको थियो।
बजेट पारित नहुँदा प्रदेश सरकारका नियमित विकास निर्माण र प्रशासनिक खर्चसम्बन्धी कामहरू प्रभावित भएका थिए। कर्मचारीहरूले साउन महिनादेखिको तलबसमेत पाउन सकेका छैनन्। बुधबार बजेट प्रस्तुत भएसँगै प्रदेशमा कायम रहेको बजेट शून्यताको अवस्था अन्त्य हुने अपेक्षा गरिएको छ।
