काठमाडौं: अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले पाकिस्तानलाई करिब १ अर्ब २० करोड अमेरिकी डलर उपलब्ध गराउने विषयमा पाकिस्तानी अधिकारीहरूसँग कर्मचारी तहको सम्झौता गरेको छ। उक्त सम्झौता कार्यान्वयनमा आउन आईएमएफको कार्यकारी बोर्डबाट अन्तिम स्वीकृति प्राप्त गर्नुपर्ने हुन्छ।
आईएमएफकी वार्ताकार इभा पेट्रोभाले मध्यपूर्वको द्वन्द्वका बाबजुद पाकिस्तानी अधिकारीहरूले अर्थतन्त्रको सफल व्यवस्थापन गरेको बताएकी छन्। उनले सरकारको कडा नीतिका कारण समष्टिगत आर्थिक स्थिरता कायम राख्न सहयोग पुगेको उल्लेख गरिन्।
पाकिस्तानको अर्थतन्त्रमा बढ्दो मूल्यवृद्धि, ऊर्जाको उच्च मूल्य र आपूर्ति शृंखलामा देखिएको अवरोधका कारण अझै पनि दबाब कायमै रहेको छ। आईएमएफको तथ्यांकअनुसार आर्थिक वर्ष २०२६ को पहिलो तीन त्रैमासिकमा पाकिस्तानको वास्तविक कुल गार्हस्थ्य उत्पादन (जीडीपी) वृद्धि ४ प्रतिशत रहेको छ भने समग्र आर्थिक वृद्धि ३.६ प्रतिशत रहने अनुमान गरिएको छ।
पेट्रोभाका अनुसार मे महिनामा उच्च विन्दुमा पुगेको मुद्रास्फीति सेप्टेम्बरसम्म आइपुग्दा १०.३ प्रतिशतमा झरेको छ। उनले मुलुकको मुख्य मुद्रास्फीति नियन्त्रणमा रहेको समेत जानकारी दिएकी छन्।
