काठमाडौँ। काठमाडौँ उपत्यकामा आगामी आइतबारदेखि उपभोक्ताले जुनसुकै ब्रान्डका खाली सिलिन्डर साटफेर गरेर खाना पकाउने एलपी ग्यास लिन पाउने भएका छन्। चाडपर्वको समयमा एकअर्का ब्रान्डका सिलिन्डर साट्न नपाउँदा उपभोक्ताले सास्ती खेप्नुपरेको गुनासोपछि नेपाल एलपी ग्यास उद्योग सङ्घले यस्तो व्यवस्था गरेको हो।
नेपाल आयल निगमको समन्वय र ग्यास विक्रेता महासङ्घको सहकार्यमा असोज २५ गते आइतबारदेखि असोज ३१ गते शनिबारसम्म उपत्यकाका ६ वटा निश्चित स्थानबाट ग्यास बिक्री तथा सिलिन्डर साटफेर गरिने सङ्घले जनाएको छ। यी केन्द्रहरूबाट बिहान ९:३० बजेदेखि अपराह्न ४:३० बजेसम्म सेवा लिन सकिनेछ।
सङ्घका अध्यक्ष दिवान चन्दद्वारा जारी विज्ञप्तिअनुसार भारतका विभिन्न रिफाइनरीबाट ग्यासको आयात नियमित भइरहेको छ र भदौ महिनामा मात्र ४२ लाख १३ हजार ६६१ सिलिन्डर बिक्री भएको थियो। आपूर्ति सहज भए पनि चाडबाडका समयमा खाली सिलिन्डर साटफेरमा देखिएको समस्या समाधान गर्न यो विशेष व्यवस्था गरिएको हो।
सिलिन्डर साटफेर हुने स्थानहरूमा सिफलचौरमा एभरेस्ट र सुगम, पेप्सीकोलामा सगर ग्यास, बालाजु औद्योगिक क्षेत्रको गेट अगाडि नेपाल, एचपी, गीता, राजधानी र त्रिवेणी ग्यास उपलब्ध हुनेछन्। त्यस्तै सुकेधारामा बाबा र श्री ग्यास, कलङ्कीमा साईबाबा र श्रीकृष्ण ग्यास तथा हरिसिद्धिमा श्रीराम ग्यास साटफेर गर्न सकिनेछ।
