काठमाडौं। अर्घाखाँचीको मालारानी गाउँपालिका-९, गोखुङ्गास्थित कालुकाठेमा बाँझो छाडिएको जमिनमा अहिले व्यावसायिक किवी खेती फस्टाएको छ।
कुनै समय खेतीयोग्य नमानिएको पाखोबारीमा सुरु गरिएको किवी खेतीले स्थानीय स्तरमा कृषि उद्यमको नयाँ सम्भावना देखाएको छ।
शिक्षण पेसा छाडेर व्यवसायमा लागेका पदम क्षेत्रीले छ वर्षअघि ४१ रोपनी जग्गा खरिद गरी स्थानीय कृष्ण पौडेल र जीवलाल पौडेलसँगको साझेदारीमा मालारानी कृषि तथा पशुपन्छी फार्म सञ्चालनमा ल्याउनुभएको हो। दोलखाबाट बिरुवा ल्याएर सुरु गरिएको यस फार्ममा हालसम्म करिब एक करोड रुपियाँ लगानी भइसकेको छ।
गत वर्ष ३० क्विन्टल किवी उत्पादन भएको फार्मबाट करिब नौ लाख रुपियाँ आम्दानी भएको थियो। यस वर्ष उत्पादन दोब्बरभन्दा बढी अर्थात् ६० क्विन्टल नाघ्ने अनुमान गरिएको छ। पर्याप्त सिँचाइ, माटो परीक्षण र प्राङ्गारिक मलको प्रयोगले उत्पादन बढाउन मद्दत गरेको क्षेत्रीले बताए। उनले भने, “सुरुमा कस्तो हुन्छ भन्ने अन्योल थियो, अहिले बोटमा पातभन्दा धेरै फल देखिन थालेको छ, गाउँमै केही गर्न सकिन्छ भन्ने विश्वास बढेको छ।”
फार्मले किवीका साथै भैँसी, कुखुरा र बाख्रापालनमार्फत कृषिलाई विविधीकरण गरेको छ। यहाँ उत्पादित किवी सन्धिखर्क र बुटवलका बजारमा पठाउने तयारी गरिएको छ, जहाँ प्रतिकिलो दुई सयदेखि तीन सय रुपियाँसम्म बिक्री हुने गरेको छ। किवी खेतीको सफलतासँगै स्थानीय कृषकहरू समेत व्यावसायिक खेतीतर्फ आकर्षित भएका छन्।
कृषि ज्ञान केन्द्र अर्घाखाँचीका प्रमुख बुद्धिराज घिमिरेका अनुसार गोखुङ्गा र खनलगायतका क्षेत्रमा किवी खेती गर्ने कृषकको सङ्ख्या बढेको छ।
केन्द्रले कृषकलाई खेती प्रविधि, तालिम र कृषि औजार उपलब्ध गराउँदै आएको छ। क्षेत्रीले गाउँमै मेहनत गरेर आम्दानी र रोजगारी सिर्जना गर्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गर्न चाहेको बताए।
