काठमाडौं: हिम पर्वत हाइड्रोपावर लिमिटेडले कात्तिक ११ गतेदेखि साधारण शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि शेयर निष्काशन गर्न लागेको हो।
कम्पनीले १ अर्ब ६९ करोड रुपैयाँको जारी पूँजीको ३५ प्रतिशत अर्थात ५९ लाख १५ हजार कित्ता शेयर निष्काशन गर्न अनुमति पाएको छ। यसमध्ये १६ लाख ९० हजार कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि छुट्याइएको छ। जसअनुसार दोलखा जिल्लाको बिगु गाउँपालिका वडा नं. ५, ६, ७ र ८ तथा कालिन्चोक गाउँपालिका वडा नं. २, ३ र ४ का बासिन्दाका लागि १० लाख १४ हजार कित्ता र बाँकी वडाहरुका लागि ६ लाख ७६ हजार कित्ता शेयर निष्काशन गरिनेछ।
त्यस्तै, सर्वसाधारणका लागि छुट्याइएको शेयरको १० प्रतिशत अर्थात ४ लाख २२ हजार ५०० कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरिने कम्पनीले जनाएको छ। प्रतिशेयर अंकित मूल्य १०० रुपैयाँ तोकिएको यस आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ।
