धनुषा: दसैँका अवसरमा खसीबोकाको कारोबार बढ्ने भएपछि धनुषाको क्षीरेश्वरनाथ नगरपालिका-६ स्थित सखुवा खसीबोका बजार तीन दिन सञ्चालन हुने भएको छ। यसअघि साताको दुई दिन मात्र सञ्चालन हुँदै आएको सो बजार अब बिहीबार, शुक्रबार र शनिबार सञ्चालनमा आउने भएको हो।
बजार व्यवस्थापन समितिका अनुसार उपभोक्ताको सुविधा र खसीबोकाको बढ्दो मागलाई मध्यनजर गर्दै यो निर्णय गरिएको हो। बजारका ठेकेदार अनिल चौधरीले दसैँमा खसीबोका खरिद-बिक्री गर्ने उपभोक्ता, किसान र व्यापारीको चाप बढेकाले बजार सञ्चालनको समय थप गरिएको जानकारी दिए। उनले भने, ‘चाडपर्वका समयमा उपभोक्ताले आफूलाई आवश्यक खसीबोका खरिद गर्न र किसान तथा व्यापारीले सहज रूपमा बिक्री गर्न सकून् भन्ने उद्देश्यले बजार सञ्चालनको समय बढाइएको हो।’
सखुवास्थित यो बजार स्थानीय किसानका लागि आफ्नो उत्पादन बिक्री गर्ने मुख्य थलो हो। दसैँ नजिकिँदै गर्दा बजारमा चहलपहल बढेको छ। व्यापारी महेन्द्र यादवका अनुसार खसीबोकाको खरिद-बिक्रीले बजार क्षेत्र चलायमान बनेको छ। समय थपिएसँगै उपभोक्ताले खसीबोका छनोट गर्न थप समय पाउनेछन् भने किसान तथा व्यापारीलाई बिक्री व्यवस्थापन गर्न सहज हुने अपेक्षा गरिएको छ। दसैँमा मासुका लागि खसीबोकाको माग उच्च रहने भएकाले उचित मूल्यमा खरिद-बिक्रीको वातावरण बनाउन बजारको व्यवस्थापनमा ध्यान दिइएको छ।
