काठमाडौं: कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। बुधबार काठमाडौंको सुवर्ण शमशेर सडकस्थित सिल्भर ओक ब्याङ्क्वेट एन्ड इभेन्ट्समा आयोजित सभाले आर्थिक वर्ष २०८२/८३ का लागि २.१० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ।
बैंकले जनाएअनुसार साधारणसभाले करसहितको उक्त लाभांशका साथै आर्थिक वर्ष २०८२/८३ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन र असार मसान्तसम्मको वासलात तथा नाफा-नोक्सान हिसाबसहितका वित्तीय विवरणहरू पनि स्वीकृत गरेको छ।
विगत २५ वर्षदेखि वित्तीय सेवा प्रदान गर्दै आएको कुमारी बैंकले हाल देशभर २७९ शाखा, २९४ एटीएम, ४१ एक्सटेन्सन काउन्टर र ४० शाखारहित बैंकिङ इकाइमार्फत सेवा दिइरहेको छ। बैंकले आगामी दिनमा आफ्ना ग्राहकहरूलाई थप सरल, सुलभ र प्रभावकारी सेवा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको छ।
