काठमाडौं: तेह्रथुम जिल्लाको लालीगुराँस नगरपालिका वडा नम्बर २ मा निर्माण गरिने शीतभण्डार भवनको शिलान्यास गरिएको छ। भारतीय दूतावासका प्रथम सचिव ऋषभ देव र लालीगुराँस नगरपालिकाका प्रमुख अर्जुन माबोहाङले संयुक्त रूपमा उक्त भवनको शिलान्यास गरेका हुन्।
भारत सरकारको करिब ४ करोड ४१ लाख नेपाली रुपैयाँको आर्थिक सहयोगमा यो परियोजना अघि बढाइएको हो। उच्च प्रभाव सामुदायिक विकास आयोजना (एचआइसीडीपी) अन्तर्गत सञ्चालन हुने यस परियोजनाको कार्यान्वयन लालीगुराँस नगरपालिकामार्फत हुनेछ। तेह्रथुम जिल्लामा भारत सरकारको सहयोगमा सञ्चालन भइरहेको यो दोस्रो उच्च प्रभाव सामुदायिक विकास आयोजना हो।
शिलान्यास कार्यक्रममा नगरप्रमुख माबोहाङ र अन्य सरोकारवालाहरूले भारत सरकारले प्रदान गर्दै आएको विकास सहयोगको प्रशंसा गरेका छन्। यो नयाँ शीतभण्डार संरचनाले लालीगुराँस नगरपालिकामा कृषि क्षेत्रको व्यावसायिक विकासमा टेवा पुर्याउने र दिगो कृषि मोडल निर्माणमा मद्दत गर्ने विश्वास व्यक्त गरिएको छ। नेपाल र भारतबिच छिमेकी मुलुकका रूपमा बहुक्षेत्रीय सहयोगको सम्बन्ध रहँदै आएको छ।
