काठमाडौं: यती एयरलाइन्सले दसैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै ‘यतीले उडाउँछ, भाग्यले गुडाउँछ’ नामक अभियान सञ्चालनमा ल्याएको छ। असोज २३ देखि सुरु भएको यो अभियान ३९ दिनसम्म अर्थात् कात्तिक ३० गतेसम्म सञ्चालन हुनेछ।
यस योजनाअन्तर्गत यात्रुले बम्पर उपहारमा ५ लाख ७१ हजार रुपैयाँ मूल्य बराबरको पुजो ज्याङ्गो १२५ स्कुटर जित्ने अवसर पाउनेछन्। साथै, साप्ताहिक उपहारका रूपमा माउन्टेन फ्लाइटको व्यवस्था गरिएको कम्पनीले जनाएको छ। अग्नि मोटो इन्कको प्रायोजनमा सञ्चालित यस अभियानमा सहभागी हुन यात्रुले छुट्टै दर्ता गर्नुपर्ने छैन। अभियान अवधिमा टिकट बुक गरी यात्रा पूरा गर्ने यात्रुहरू स्वतः यस योजनामा सहभागी हुनेछन्।
तर, टिकट रद्द गरिएका, रकम फिर्ता लिइएका वा प्रयोग नगरिएका टिकटहरू भने यो उपहार योजनामा समावेश गरिने छैनन्। विजेताको घोषणा १ डिसेम्बर २०२६ मा यती एयरलाइन्सको आधिकारिक फेसबुक पेजमार्फत प्रत्यक्ष प्रसारण गरिनेछ। चाडपर्वको यात्रालाई थप विशेष बनाउने र यात्रुप्रति आभार व्यक्त गर्ने उद्देश्यले यो अभियान सञ्चालन गरिएको कम्पनीले जनाएको छ।
