काठमाडौं: गुल्मीको मुसिकोट नगरपालिका-४ वडागाउँमा सञ्चालित दसैं लक्षित खसी बजारबाट किसानले मनग्य आम्दानी गरेका छन्। साना किसान कृषि सहकारी संस्थाले आयोजना गरेको उक्त मेलामा ५६ वटा खसीबोका बिक्री हुँदा १४ लाख ६२ हजार २८० रुपियाँको कारोबार भएको छ।
मेलामा सहभागी किसान दुर्गा रासकोटीले ७२ र ४२ किलोका दुई बोका बेचेर एकै दिन ६८ हजार रुपियाँ कमाएको छ। पशुपति आधारभूत विद्यालयका प्रधानाध्यापकसमेत रहेका रासकोटीले विगत १५ वर्षदेखि व्यावसायिक बाख्रापालन गर्दै आएको छ। उनले बिचौलियाको अन्त्य भई सिधै व्यवसायीलाई बिक्री गर्न पाउँदा खुसी व्यक्त गर्नुभयो। अर्का किसान रुद्रबहादुर केसीले पनि आफ्नो ५७ किलोको बोका बिक्री गर्नुभयो। पूर्व सैनिक केसीले व्यावसायिक बाख्रापालनबाट वार्षिक खर्च कटाएर करिब साढे दुई लाख रुपियाँ आम्दानी गर्दै आएको छ।
सहकारीले किसानलाई प्रोत्साहन गर्न जिउँदो खसीबोकाको तौलका आधारमा प्रतिकिलो २५ रुपियाँ अनुदान उपलब्ध गराएको छ। संस्थाका अध्यक्ष हरि छन्त्यालका अनुसार किसानलाई प्रोत्साहन रकम, ढुवानी खर्च र तौलका आधारमा गरी कुल एक लाख २६ हजार २५० रुपियाँ वितरण गरिएको छ। मेलामा सबैभन्दा ठूलो ७६ किलोको बोका खेमबहादुर बगालेले बिक्री गरेको छ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख हुमकान्त पाण्डेका अनुसार जिल्लामा वार्षिक ४५ हजार खसीबोका किनबेच हुने गरेको छ। मुसिकोट नगरपालिकाका नगरप्रमुख जिवलाल खरेलले कृषि र पशुपालन आर्थिक समृद्धिको आधार भएकाले नगरपालिकाले उत्पादन र बजारीकरणमा जोड दिएको बताए।
