काठमाडौं। दसैँ र तिहारबिचको लामो बिदाका कारण तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा आन्तरिक पर्यटकको चाप बढेको छ।
बिदाको समयमा परिवार र साथीभाइसँग घुम्न निस्कने पर्यटकले गर्दा बन्दीपुरका बजार र होटलहरूमा चहलपहल बढेको हो। बन्दीपुर पर्यटन विकास समितिका पूर्वअध्यक्ष बैसबहादुर गुरुङका अनुसार दसैँ र तिहारको बिदाले आन्तरिक पर्यटकको सङ्ख्यामा वृद्धि गरेको छ।
छोटो भ्रमणका लागि बन्दीपुर उपयुक्त गन्तव्य बनेको उहाँले बताउनुभयो। साथै ‘भिजिट बन्दीपुर २०२५’ अभियानले विदेशी पर्यटकलाई समेत आकर्षित गर्न मद्दत पुगेको छ। बन्दीपुरका परम्परागत घर, ढुङ्गा छापिएका सडक, शान्त वातावरण र हिमशृङ्खलाको दृश्यावलोकन मुख्य आकर्षणका रूपमा रहेका छन्।
बन्दीपुर सामुदायिक होमस्टेका पूर्वअध्यक्ष राजु बानियाँका अनुसार बजारका पुराना गल्लीमा घुम्ने, स्थानीय परिकारको स्वाद लिने र मौलिक बस्तीको रहनसहन बुझ्ने अवसरले पर्यटकलाई तान्ने गरेको छ।
पर्यटकीय याम सुरु भएसँगै विदेशी पर्यटकको आगमनमा पनि वृद्धि भएको छ। बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापाले खड्गदेवी मन्दिर, थानीमाई, रानीवन, रामकोट र सिद्धगुफा जस्ता स्थलमा पनि पर्यटकको चहलपहल बढेको जानकारी दिए।
गाउँपालिकाले प्राकृतिक सौन्दर्य, मौलिक संस्कृति र ग्रामीण जीवनशैलीलाई पर्यटनसँग जोडेर प्रचारप्रसार गर्दै आएको छ। अध्यक्ष थापाले भन्नुभयो, “बन्दीपुरको आकर्षण बजारको सुन्दरता र हिमालको दृश्यमा मात्र सीमित छैन, यहाँको मौलिक संस्कृति, ग्रामीण जीवनशैली र स्थानीय रहनसहनले पनि पर्यटकलाई लोभ्याउने गरेको छ।”

