काठमाडौं: नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा साताको पहिलो दिन सोमबार उच्च गिरावट आएको छ। गत साता करिब ५८ अङ्कले बढेको बजारमा यस दिन ३२.६५ अङ्कको गिरावट देखिएको छ। यससँगै नेप्से परिसूचक १.२१ प्रतिशतले घटेर २६५७.५० विन्दुमा सीमित भएको छ।
बजार घटे पनि कारोबार रकममा भने उत्साह कायमै छ। सोमबार कुल ३४३ वटा कम्पनीको १ करोड ९८ लाख २२ हजार कित्ता सेयर किनबेच भएको छ। ७० हजार २२८ पटकको कारोबारबाट कुल ७ अर्ब १८ करोड ३७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।
बजारमा बिक्री दबाब देखिँदा अधिकांश कम्पनीको मूल्य घटेको छ। तथ्यांक अनुसार यस दिन २१ वटा कम्पनीको सेयर मूल्य बढ्दा २५२ वटा कम्पनीको मूल्यमा गिरावट आएको छ। ६ वटा कम्पनीको मूल्य भने स्थिर रहेको छ। बजार घटे पनि बेनी हाइड्रोपावरका लगानीकर्ताले भने सर्वाधिक १३.५८ प्रतिशतले नाफा कमाएका छन्।
समूहगत रूपमा सबै समूहका सूचक ओरालो लागेका छन्। बैंकिङसहित ९ वटा समूहको सूचक एक प्रतिशतभन्दा धेरैले घटेको छ। कारोबार रकमका आधारमा घलेम्दी हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ। कम्पनीको ३७ करोड ६३ लाख रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ। त्यसैगरी, ग्लोबल आइएमई बैंकको २९ करोड ४२ लाख, कुमारी बैंकको २७ करोड ९१ लाख, लुम्बिनी विकास बैंकको २३ करोड ४८ लाख र मकर जितुमाया सुरी हाइड्रोपावरको २० करोड १९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
