काठमाडौं: मुस्ताङमा कात्तिक महिनाको २० दिनमा ५१ हजारभन्दा बढी स्वदेशी तथा विदेशी पर्यटक भित्रिएका छन्। भदौ महिनादेखि प्राकृतिक विपत्तिका कारण सुस्ताएको मुस्ताङको पर्यटन क्षेत्र कात्तिकमा लयमा फर्किँदै ५१ हजार १ सय २३ जना पर्यटकले भ्रमण गरेका हुन्।
जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी सन्तोष बस्यालका अनुसार यस अवधिमा ४१ हजार १ सय ९१ आन्तरिक, ८ हजार ५ सय ४९ सार्क राष्ट्रका र १ हजार ३ सय ८३ अन्य राष्ट्रका पर्यटक भित्रिएका छन्। बस्यालले पर्यटकको आगमनमा सुधार भएको र मौसम अनुकुल रहे जाडोयाममा पनि चहलपहल कायम रहने बताए। पर्यटक सूचना केन्द्रका अनुसार आन्तरिक पर्यटकमा २९ हजार ५ सय ११ पुरुष र ११ हजार ६ सय ८० महिला छन्। सार्क राष्ट्रबाट ४ हजार ९ सय पुरुष र ३ हजार ६ सय ४९ महिला तथा अन्य राष्ट्रबाट ८ सय ३४ पुरुष र ५ सय ४९ महिलाले भ्रमण गरेका छन्।
कात्तिक ७ गते सबैभन्दा धेरै ४ हजार १ सय ४ जना र कात्तिक १४ गते सबैभन्दा कम ८ सय २२ जना पर्यटक भित्रिएका छन्। सार्क राष्ट्रबाट आउने अधिकांश भारतीय तीर्थालु मुक्तिनाथ मन्दिरको दर्शनका लागि आउने गरेका छन्। भोटेकोशी र कालीगण्डकी नदी तथा ‘अर्णव’ चक्रवातका कारण यस वर्षको मुख्य सिजनमा पर्यटकको चाप घटेको थियो।
मुस्ताङ उद्योग वाणिज्य संघका अध्यक्ष राजु लालचनले चाडबाडको बिदा र उपयुक्त मौसमका कारण पर्यटकको संख्या बढेसँगै स्थानीय व्यवसायीमा उत्साह थपिएको बताए। मुस्ताङ भित्रिने पर्यटकको विवरण घाँसा र छुसाङ चेकपोष्टमा संकलन गरिन्छ भने फर्किने क्रममा लेते प्रहरी चौकीले तथ्यांक राख्ने गर्दछ। मुक्तिनाथ मन्दिर, प्राचीन गुफा, गुम्बा र मुस्ताङको कला संस्कृति यहाँका प्रमुख आकर्षण हुन्।
