काठमाडौं: चितवनको पुरानो सदरमुकाम उपरदाङ्गढीमा नेपाल टेलिकमले नयाँ टावर जडान गरेको छ। वर्षौंदेखि सञ्चार सेवाबाट वञ्चित रहेका स्थानीयवासीले टावर सञ्चालनमा आएपछि फोन र इन्टरनेट सेवा सहज भएको महसुस गरेका छन्।
स्थानीय बासिन्दाको पहल र नेपाल टेलिकमको प्राविधिक टोलीको सक्रियतामा उक्त क्षेत्रमा नेटवर्क सेवा सुचारु भएको हो। नेपाल टेलिकम भरतपुरका प्रमुख राकेश चौधरीले उपरदाङ्गढीमा नेटवर्कको समस्या रहेकाले टावर निर्माण गरिएको जानकारी दिए। पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण क्षेत्र भएकाले टेलिकमले यसलाई प्राथमिकतामा राखेको उनले बताए।
त्यसैगरी, नेपाल टेलिकम भरतपुरका कर्मचारी सुरेश अधिकारीले भरतपुरकै चौकीडाँडामा पनि अर्को टावर जडान भइसकेको र छिट्टै सञ्चालनमा आउने जानकारी दिए। यस प्रयाससँगै जिल्लाका विकट पहाडी क्षेत्रमा नेपाल टेलिकमको पहुँच विस्तार हुने भएको छ।
