काठमाडौं: तिहारको समयमा घर, पसल र सवारीसाधन सजावटका लागि सयपत्री फूलको माग बढेसँगै यस वर्ष सुनसरीमा १५ करोड रुपियाँभन्दा बढीको कारोबार भएको छ। धरान कृषिउपज बजारस्थलका प्रबन्धक लक्ष्मण भट्टराईका अनुसार धरान, इटहरी, इनरुवा, दुहबी र झुम्का लगायतका सहरी क्षेत्रमा फूलको खपत उच्च रहेको छ।
सहरमा फूलको व्यापार बढी हुने भएकाले गाउँका किसान तथा व्यापारीहरूले समेत बिक्रीका लागि फूल बजारमा ल्याएका छन्। यस वर्ष तिहार केही ढिलो परेको र सयपत्री फुल्ने मौसम अनुकूल भएकाले स्थानीय उत्पादनले राम्रो बजार पाएको छ। साथै, सरकारले आयातित फूलको प्रवेशमा कडाइ गरेपछि नेपाली उत्पादनले थप प्राथमिकता पाएको भट्टराईले बताउनुभयो।
घरका करेसाबारी, खेतबारी, गमला र छतमा लगाइएका सयपत्री फूल यस वर्ष राम्रोसँग फुलेकाले माग अनुसारको उपलब्धता बढेको छ। स्थानीय बजारका अतिरिक्त पूर्वी पहाडी जिल्लाका किसानले उत्पादन गरेका फूलसमेत बिक्रीका लागि सुनसरीका बजारमा भित्रिएका छन्। किसान अर्जुन विष्टले अनुकूल मौसम, स्थानीय उत्पादन र आयातमा गरिएको कडाइका कारण यस वर्ष सयपत्री फूलको कारोबार बढेको बताउनुभयो।
