महोत्तरी: महोत्तरीका डोम समुदाय आफ्नो पुर्ख्यौली पेसा संकटमा परेपछि जीविकोपार्जनका लागि भारत जान बाध्य भएका छन्। बाँसका चोयाबाट सामग्री बनाउने परम्परागत सीप आधुनिकतासँगै लोप हुन थालेपछि उनीहरू आर्थिक संकटमा परेका हुन्।
औरही-१ का ३२ वर्षीय छोटे मरिकले पुर्ख्यौली पेसाले परिवार पाल्न धौ-धौ परेको बताए। उनले भने, “बाबु बाजेले सिकाएका सीप यही हो, तर यसले अब जीवन धान्ने दिन गए।” बाँसका सामग्रीको माग दीपावली र छठ जस्ता पर्वमा मात्र सीमित भएपछि वर्षभरिको खर्च जुटाउन कठिन भएको उनको भनाइ छ।
यस्तै समस्या ४० वर्षीय इन्दल मरिकको पनि छ। बजारमा प्लाष्टिकका सामग्रीको प्रयोग बढेपछि बाँसका डालो, नाङ्लो र पङ्खाको माग घटेको छ। इन्दलका अनुसार नयाँ पुस्ताले यो पेसामा चासो दिन छाडेका छन् र रोजगारीका लागि भारततर्फ लाग्ने क्रम बढेको छ।
डोम समुदायको अर्को मुख्य पेसा सुँगुरपालन पनि पछिल्लो समय असहज बनेको छ। बस्ती विकास र सामाजिक असहजताका कारण यो पेसा पनि संकटमा परेको सम्सी-६ का सुरेश मरिकले बताए।
सोनमाका परमेश्वर मरिकले १५-१६ वर्षकै उमेरमा युवाहरू भारत जानुपर्ने बाध्यता रहेको उल्लेख गरे। सरकारले चुनावका बेला बाहेक अन्य समयमा आफूहरूको समस्या नसुनेको उनको गुनासो छ। ललिता मरिक र अञ्जली मरिक जस्ता स्थानीयले आर्थिक अभावका कारण छोराछोरीलाई शिक्षा दिन पनि समस्या भइरहेको बताएका छन्। अनारस मरिकले नयाँ पुस्ताका लागि सीपमूलक तालिम र रोजगारीको व्यवस्था गर्न सरकारसँग माग गरेका छन्।
