काठमाडौं: एप्पलले आफ्नो २८ वर्ष पुरानो अनलाइन फोरम ‘एप्पल सपोर्ट कम्युनिटी’ आगामी नोभेम्बर २०, २०२६ मा स्थायी रूपमा बन्द गर्ने घोषणा गरेको छ। मंगलबार एक सूचना जारी गर्दै कम्पनीले फोरम बन्द गर्ने निर्णय सार्वजनिक गरेको हो।
फोरम बन्द गर्ने घोषणासँगै प्रयोगकर्ताहरूका लागि नयाँ पोस्ट गर्ने सुविधा हटाइएको छ। यद्यपि, प्रयोगकर्ताहरूले फोरममा रहेका पुराना सामग्रीहरू भने पढ्न सक्नेछन्। एप्पलले आफ्नो सहायता रणनीति र ग्राहकका आवश्यकताहरूको मूल्याङ्कन गरेपछि यो निर्णय लिइएको जनाएको छ।
एप्पलले जारी गरेको सूचनामा भनिएको छ, ‘एप्पल सपोर्ट कम्युनिटी नोभेम्बर २०, २०२६ मा स्थायी रूपमा बन्द हुनेछ। आफ्ना एप्पल उत्पादनहरूमा अरूलाई मद्दत गर्न समय र विशेषज्ञता योगदान गर्ने कम्युनिटी सदस्यहरूलाई हामी धन्यवाद दिन चाहन्छौँ।’
सन् १९९८ मा ‘एप्पल टेक एक्सचेन्ज’ का नामबाट सुरु भएको यो फोरमले प्रयोगकर्ताहरूलाई प्राविधिक सल्लाह लिनका लागि लामो समयदेखि माध्यम प्रदान गर्दै आएको थियो। सुरुवाती दिनमा यो फोरम प्रयोगकर्ताहरूबीचको छलफल र सहयोगको मुख्य थलो थियो। सन् २००० मा यसलाई ‘एप्पल डिस्कसन्स’ र सन् २०११ मा ‘एप्पल सपोर्ट कम्युनिटीज’ नाम दिइएको थियो। सन् २०२२ देखि यो ‘एप्पल सपोर्ट कम्युनिटी’ का रूपमा सञ्चालित थियो।
एप्पलले आफ्ना ग्राहकहरूलाई अब आधिकारिक एप्पल सपोर्ट साइटमार्फत मात्र निरन्तर प्राविधिक सहायता प्राप्त गर्न सकिने स्पष्ट पारेको छ। कम्पनीको पछिल्लो कदमसँगै अब प्रयोगकर्ताहरू प्राविधिक समस्या समाधानका लागि आधिकारिक च्यानलहरूमा नै निर्भर हुनुपर्ने भएको छ।
