काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट शुक्रबार २०० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गर्ने भएको छ। केन्द्रीय बैंकले २० दिनको अवधिका लागि उक्त रकम तान्न लागेको हो।
निक्षेप संकलनका लागि आज दिउँसो २ बजे बोलकबोलको समय तोकिएको छ। बोलकबोलमा सहभागी हुने बैंक तथा वित्तीय संस्थाले न्यूनतम १० करोड रुपैयाँ र सोही अंकले भाग जाने गरी अधिकतम आह्वान गरिएको रकमसम्म प्रस्ताव गर्न सक्नेछन्।
सहभागी हुने संस्थाहरूले निक्षेपबापत जम्मा गर्न चाहेको रकम र ब्याजदर उल्लेख गर्नुपर्नेछ। राष्ट्र बैंकका अनुसार बहु-ब्याजदरमा पनि बहु-बोलकबोल गर्न सकिने व्यवस्था गरिएको छ। यस निक्षेप संकलन उपकरणमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले मात्र भाग लिन पाउनेछन्।
साँवा तथा ब्याज भुक्तानी आगामी मङ्सिर १७ गते हुनेछ। ब्याजदर समेत बोलकबोलको माध्यमबाट नै निर्धारण गरिने राष्ट्र बैंकले जनाएको छ।
