काठमाडौं: निजी क्षेत्रको वायुसेवा कम्पनी यती एयरलाइन्सले युवराज विष्टलाई नयाँ प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा नियुक्त गरेको छ। यसअघि कम्पनीको नेतृत्व सम्हाल्दै आएका सुवास सापकोटाको कार्यकाल सकिएपछि विष्टलाई उक्त जिम्मेवारी दिइएको हो।
यती एयरलाइन्समा लामो समयदेखि कार्यरत विष्ट कम्पनीको आन्तरिक व्यवस्थापन, सञ्चालन र कार्यप्रणालीबारे राम्रो अनुभव राख्छन्। कम्पनीले उनलाई आन्तरिक व्यवस्थापनमा परिचित भएकै कारण नेतृत्वमा ल्याएको हो।
निवर्तमान सीईओ सापकोटाले आफ्नो कार्यकालमा कम्पनीको वित्तीय अवस्था सुधार, खर्च नियन्त्रण र व्यवस्थापनलाई चुस्त बनाउने कामलाई प्राथमिकता दिएका थिए। चार्टर्ड एकाउन्टेन्ट सापकोटाले सञ्चालन लागत घटाउन विभिन्न निर्णयहरू लिएका थिए।
यती एयरलाइन्स हाल आफ्नो संरचना र सञ्चालन प्रणालीलाई थप व्यावसायिक बनाउने चरणमा छ। कम्पनीलाई निजीबाट पब्लिक लिमिटेडमा रूपान्तरण गर्ने प्रक्रिया अघि बढेको छ। यस्तो अवस्थामा संस्थागत सुशासन, व्यवस्थापन र सेवा विस्तारलाई थप व्यवस्थित बनाउनु नयाँ नेतृत्वका लागि प्रमुख चुनौती र जिम्मेवारी हुनेछ। विष्टको नेतृत्वमा कम्पनीले सञ्चालन दक्षता र सेवाको गुणस्तरमा कस्तो प्रगति गर्छ भन्ने विषयलाई चासोका साथ हेरिएको छ।
