सुर्खेत: कर्णाली प्रदेश सरकारले कात्तिक महिनामा ३२ करोड ३६ लाख ४८ हजार २२४ रुपैयाँ खर्च गरेको छ। असोज मसान्तसम्म २ अर्ब ५४ करोड ८६ लाख ३४ हजार रुपैयाँ खर्च गरेको सरकारले कात्तिक महिनामा थप यो रकम खर्चिएको हो। चालु आर्थिक वर्ष २०८३/०८४ को ४ महिनाको अवधिमा कुल ८.११ प्रतिशत बजेट कार्यान्वयन भएको छ।
प्रदेश सरकारले यस आर्थिक वर्षका लागि ३५ अर्ब ३९ करोड ८५ लाख ४८ हजार रुपैयाँको कुल बजेट विनियोजन गरेको थियो। जसमध्ये हालसम्म २ अर्ब ८७ करोड २२ लाख ८२ हजार ६१० रुपैयाँ खर्च भइसकेको छ। कात्तिक महिनामा चाडपर्वका कारण तलब भत्ता भुक्तानी र केही आयोजनाको ठेक्का व्यवस्थापनमा खर्च भएको जनाइएको छ।
विकास बजेटतर्फको अवस्था भने सुस्त देखिएको छ। कात्तिक महिनामा ९ करोड ६१ लाख १७ हजार ३८४ रुपैयाँ विकास बजेट खर्च भएको छ। प्रदेश लेखा नियन्त्रकको कार्यालयका लेखा अधिकृत ललित थापाका अनुसार ४ महिनाको अवधिमा कुल विकास बजेटको ४.४० प्रतिशत मात्र कार्यान्वयन भएको छ। चालु आर्थिक वर्षका लागि प्रदेश सरकारले २० अर्ब ७४ करोड ६७ लाख १२ हजार रुपैयाँ विकास बजेट छुट्याएको छ।
कात्तिक मसान्तसम्म विकास बजेटतर्फ कुल ९१ करोड २० लाख ४६ हजार ४६२ रुपैयाँ खर्च भएको छ। यता, चालु बजेटतर्फ भने १३.८५ प्रतिशत खर्च भइसकेको छ। सरकारले चालु तर्फ १४ अर्ब रुपैयाँ बराबरको वार्षिक बजेट विनियोजन गरेको थियो।
