Logo

मलको आपूर्ति सहज पार्ने स्पष्ट खाका पेस गर्न प्रमको निर्देशन

अ+ अ-

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले रासायनिक मलको आपूर्ति व्यवस्था कसरी सहज पार्न सकिन्छ भनेर तीन दिनभित्र स्पष्ट खाका पेस गर्न कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई निर्देशन दिनुभएको छ । प्रधानमन्त्रीले कृषि तथा पशुपन्छी विकासमन्त्री, मुख्य सचिव, कृषि सचिव, कृषि सामग्री कम्पनी र साल्ट टे«डिङ कर्पाेरेसनका प्रमुखसँग मङ्गलबार छलफल गरी कृषि मल व्यवस्थापन र उत्पादन वृद्धिबारे तीन दिनभित्र स्पष्ट खाका पेस गर्न तीनबुँदे निर्देशन दिनुभएको हो ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार धान बालीमा किसानले सहज ढङ्गले मल नपाएको गुनासो आएपछि यस विषयमा प्रधानमन्त्रीले सम्बन्धित निकायलाई बोलाएर छलफल गर्नुभएको हो । सो अवसरमा मलको आयात, मौज्दात र वितरण अवस्थाबारे प्रधानमन्त्रीले जानकारी लिनुभएको मन्त्रालयले जनाएको छ ।

छलफलपछि प्रधानमन्त्रीले रासायनिक मलको आपूर्ति व्यवस्था चुस्तदुरुस्त गराउन नयाँ ढाँचासहितको तीन दिनभित्र ठोस योजना ल्याउन निर्देशन दिनुभएको कृषि मन्त्रालयले जनाएको छ ।

छलफलमा प्रधानमन्त्रीले रासायनिक मलको प्रयोगसँगै कम्पोस्ट र आर्गानिक मलको उत्पादन र प्रयोगका लागि राष्ट्रिय अभियान सञ्चालन तथा यसमा अनुदान नीतिको प्रस्ताव ल्याउन निर्देशन दिनुभएको मन्त्रालयका सहसचिव रामकृष्ण श्रेष्ठले जानकारी दिनुभयो । यस्तै कृषि मन्त्रालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको समन्वयमा माटोको उर्वरता बचाउने खालको रासायनिक मल कारखाना नेपालमै खोल्न अध्ययनको खाका ल्याउनसमेत प्रधानमन्त्रीले निर्देशन दिनुभएको छ । बैठकमा रासायनिक मलको आयात, वितरण, मौज्दातको अवस्था, टेन्डर, माग अनुसार आपूर्ति गर्न नसकिएको र वितरण प्रणालीमा समस्यालगायतका विषयमा प्रधानमन्त्रीलाई जानकारी गराएको सहसचिव श्रेष्ठले जानकारी दिनुभयो ।

मन्त्रालयले मलको आपूर्ति नियमित रूपमा भइरहेको जनाए पनि किसानले समयमा मल पाउन सकेका छैनन् । बजारमा माग अनुसार मलको आपूर्ति कम हुनुका साथै वितरण प्रणालीमा देखिएको समस्याका कारण धान बालीमा मल हाल्ने समयमा बर्सेनि किसानले अभाव खेप्नु परेको छ ।

युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दा माग अनुसार मलको आपूर्ति हुन नसक्नु, प्रदेश र स्थानीय तहले समयमा नै कोटा निर्धारण नगर्नु र सहकारीले समयमा कोटा अनुसार मल लिन नआउँदा पनि किसानले पर्याप्त मात्रामा मल पाउन नसकेको सरकारी अधिकारीको भनाइ छ ।

कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट टे«डिङ कर्पाेरेसनसँग हाल ३० हजार ९८३ मेट्रिक टन रासायनिक मल मौज्दात छ । जसमा युरिया १९ हजार ९२३ मेट्रिक टन, डिएपी १० हजार ४४८ मेट्रिक टन र ६११ मेट्रिक टन छ ।

यस्तै मन्त्रालयले चालु आव २०८२/८३ मा छ लाख मेट्रिक टन मलको खरिद गर्ने लक्ष्य राखेको छ । मल खरिदका लागि २८ अर्ब ८२ करोड रुपियाँ बजेट विनियोजन गरिएको छ । चालु आवको बजेटमार्फत तीन लाख मेट्रिक टन मल खरिदका लागि बोलपत्र आह्वान भइसकेको मन्त्रालयले जनाएको छ ।

यस्तै रासायनिक मल एक लाख ४० हजार ५०४ मेट्रिक टन मल आउने क्रममा छ । यसमध्ये कृषि सामग्री कम्पनीतर्फ ७८ हजार ३४९ मेट्रिक टन र साल्ट ट्रेडिङतर्फ ६२ हजार १५४ मेट्रिक टन छ ।