Logo

मितेरी सहकारी हिनामिना प्रकरण : मुद्दा चलाउन सिफारिस गर्ने तयारी

अ+ अ-

काठमाडौँ- नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले ललितपुरको मितेरी बचत तथा ऋण सहकारीको बचत रकम हिनामिनाबारे अनुसन्धान अन्तिम चरणमा पुर्‍याएको छ । सो सहकारीको रकम हिनामिनामा सिआइबीले मुख्य आरोपी बर्दिया साबिक मोतीपुर गाविस–६ का ज्योतिबहादुर भण्डारी, धादिङ धुनीबेँसी–९ का सुवास खत्री र बर्दिया बाँसगढी–९ का सुरेश अधिकारीलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ ।

सिआइबीका प्रवक्ता युवराज खड्काका अनुसार मुख्य फरार आरोपित ज्योति गुरुङलाई फरार प्रतिवादी कायम गरी पक्राउ परेका तीन जनाविरुद्ध ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुरमा मुद्दा चलाउन सिफारिस गर्ने तयारी छ । उहाँले भन्नुभयो, “मितेरी सहकारीको रकम हिनामिनामाबारेको अनुसन्धान अन्तिम चरणमा पुगेको छ । अब केही दिनभित्रै प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाउने तयारीमा छौँ ।” सिआइबी स्रोतका अनुसार सहकारीको रकम अपचलनमा मुख्य आरोपित ज्योतिबहादुर भण्डारीले अनधिकृत रूपमा सहकारीको रकम लिई हिनामिना गरेको पाइएको छ । सहकारीको रकम हिनामिना गर्दा तत्कालीन महाप्रबन्धक ज्योति गुरुङ (फरार आरोपित) मार्फत ज्योति गुरुङले लिएको पाइएको छ । गुरुङविरुद्ध रेड कर्नर नोटिस जारी भई खोजी भइरहेको प्रहरीले जनाएको छ ।

सहकारीको रकम अवैध रूपमा गुरुङमार्फत लिएर ज्योतिबहादुर भण्डारीकोमा पुर्‍याउन सुरेश अधिकारीले भरियाका रूपमा काम गरेको पाइएको छ । खड्काका अनुसार पक्राउ परेका तिनै जना मुख्य आरोपितविरुद्धको बिगो कति रहने भन्ने खुल्न बाँकी छ । प्रवक्ता खड्काले प्रारम्भिक अनुसन्धानमै १४ करोड बढी रकम हिनामिना भएको पाइएको र प्रतिवेदन बुझाउने बेलासम्म थप रकम र अभियुक्त जोडिन सक्ने पनि जानकारी दिनुभयो । सिआइबीले हालसम्म गरेका अनुसन्धानमा यस प्रकरणमा मुख्य अभियुक्त ज्योतिबहादुर भण्डारीलाई किटान गर्ने तयारी छ । भण्डारी सहकारीको रकम हिनामिनापछि सहकारीका सञ्चालक र पदाधिकारीलाई थप प्रलोभनमा पारी रकम असुल गरी फरार रहेको अवस्थामा नेपाल प्रहरीले इन्टरपोलको सहयोगमा गत असार ४ गते कम्बोडियाबाट पक्राउ गरी नेपाल ल्याएको थियो ।

भण्डारी पक्राउ परेसँगै प्रहरीले धादिङका सुवास खत्री र बर्दियाका सुरेश अधिकारीलाई पनि पक्राउ गरेको थियो । पक्राउ परेका सुवास खत्री लामो समयदेखि अवैध हुन्डी कारोबार र क्रिप्टोकरेन्सी कारोबारमा संलग्न रहेको खुलेको छ । खत्रीका साथबाट बरामद भएको मोबाइल र विद्युतीय उपकरणबाट झन्डै पाँच अर्बबराबरको रकम कारोबार देखिएको पाइएको छ ।

मितेरी सहकारीको रकम हिनामिनाका अर्का आरोपित सुरेश अधिकारी सहकारीबाट रकम लिएर हुन्डीमार्फत ज्योतिबहादुर भण्डारीलाई कम्बोडिया र थाइल्यान्डमा पठाएको खुलेको छ । सहकारीको रकम हिनामिनाबारे छानबिन गर्न गठित संसदीय छानबिनको सिफारिस र सहकारीका अध्यक्ष कुम्मराज गुरुङको जाहेरीपछि सिआइबीले उक्त सहकारीको रकम हिनामिनाबारे अनुसन्धान गरिरहेको छ ।