काठमाडौँ- भारतको केन्द्रीय विद्युत् प्राधिकरणले नेपालका आठ जलविद्युत् आयोजनाको २८३ मेगावाट विद्युत् निर्यातको अनुमति नवीकरण गरेको छ । भारतको विद्युत् मन्त्रालय अन्तर्गत रहेको प्राधिकरणले इन्डियन इनर्जी एक्सचेन्ज (आइइएक्स) का लागि चार र मध्यकालीन सम्झौता अन्तर्गत हरियाणा राज्यमा निर्यात हुने चार आयोजनाका लागि निर्यात अनुमति करिब एक वर्षका लागि नवीकरण गरेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।
प्राधिकरणले देशभित्र खपत गरी बचेको विद्युत् भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स) को डेअहेड तथा रियल टाइम मार्केटमा प्रतिस्पर्धी दरमा र द्विपक्षीय मध्यकालीन विद्युत् बिक्री सम्झौताबमोजिम हरियाणा र विहार राज्यमा बिक्री गरिरहेको छ । भारतको प्रसारण संरचना प्रयोग गरी बङ्गलादेशमा पनि विद्युत् निर्यात भइरहेको छ ।
आइइएक्सका लागि १०३ र विहारका लागि १८० मेगावाट विद्युत् निर्यातको अनुमति नवीकरण भएको हो । सबै आयोजनाको निर्यात गत मङ्गलबारबाट लागु हुने गरी करिब एक वर्षका लागि नवीकरण स्वीकृति भएको छ ।
प्राधिकरणले हरेक वर्ष जुन–अक्टोबरमा हरियाणालाई विद्युत् बिक्री गर्छ । प्राधिकरणले हरियाणालाई विद्युत् बिक्रीका लागि अनुमति पाएका आयोजनाको विद्युत् आइएक्समा पनि बिक्री अनुमति मागेको थियो । भारतको केन्द्रीय विद्युत् प्राधिकरणले उक्त प्रस्तावलाई स्वीकृति दिएको हो ।
अब प्राधिकरणले यी चार आयोजनाबाट उत्पादित विद्युत् पनि शुक्रबारदेखि आइएक्समा समेत निरन्तर रूपमा बिक्री गर्न पाउने भएको छ । नेपालले बङ्गलादेश निर्यात गर्ने ४० मेगावाटसमेत गरी कुल १,१६५ मेगावाट विद्युत् निर्यातको अनुमति पाएको छ ।
अन्तर्राष्ट्रिय सौर्य गठबन्धन आइएसएको आठौँ सभामा सहभागी हुन भारतको नयाँ दिल्ली भ्रमणका क्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले भारतका विद्युत्मन्त्री मनोहरलाल खट्टरसँगको भेटमा विद्युत् निर्यात स्वीकृतिको प्रक्रियालाई सरलीकृत गरिदिन आग्रह गर्नुभएको थियो । उहाँले नेपालमा विद्युत् उत्पादनको सबैभन्दा राम्रो समय अहिले भएकाले नवीकरणका लागि पठाइएको प्रस्तावलाई तत्काल स्वीकृति गरिदिनसमेत आग्रह गर्नुभएको थियो ।
 
                 
                     
                     
                                    
                                     
                            
                                                     
                                                         
                                                         
                                                         
                                                         
                                                