काठमाडौं- स्थानीय बजारमा सुनचाँदीको मूल्यमा उल्लेख्य वृद्धि भएको छ । चार दिनको अन्तरालमा सुन र चाँदी दुवैको मूल्यमा तीव्र वृद्धि भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य २ लाख ७८ हजार र त्यति नै चाँदीको मूल्य ५ हजार ६५५ कायम भएको छ ।
मङ्गलबार एक तोला सुन २ लाख ७६ हजार ५०० र त्यति नै चाँदीको मूल्य ५ हजार ३४० मा कारोबार भएको थियो । गत आइतबार प्रतितोला २ लाख ७० हजार ६०० मा कारोबार भएको छापावाला सुन हिजो तोलामा ४ हजार १००ले बढेर २ लाख ७४ हजार ७०० कायम भएको थियो ।
यसैगरी, चाँदीको मूल्य पनि बढेको छ । आइतबार प्रतितोला ४ हजार ९९० मा खरिदबिक्री भएको एक तोला चाँदी हिजो ५ हजार १९५ मा किनबेच भएको थियो ।
अमेरिकी डलरको उतारचढाव तथा विश्वव्यापी आर्थिक अनिश्चितताका कारण स्थानीय बजारमा सुनचाँदीको मूल्य बढेको व्यवसायीहरूले बताएका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन चार हजार ६३५ र त्यति नै परिमाणको सेतो धातु ९० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।