लमजुङ- लमजुङमा यस वर्ष अलैँची बेचेर २४ करोड ३० लाख रुपियाँ आम्दानी भित्रिएको छ । राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ लमजुङका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ मा १३५ मेट्रिक टन अलैँची बिक्रीबाट त्यति आम्दानी भएको हो ।
यस वर्ष अलैँची प्रतिकिलो एक हजार आठ सयदेखि दुई हजार पाँच सय रुपियाँसम्म बिक्री भएको उक्त एकाइका कृषि अधिकृत हरिबहादुर मिजारले जानकारी दिनुभयो । गत वर्षको तुलनामा यस वर्ष उत्पादन घटे पनि मूल्यवृद्धि हुँदा बढी आम्दानी भएको उहाँको भनाइ छ ।
गत वर्ष ०.४ प्रतिशतले बढी उत्पादन भएको अलैँची यस वर्ष घटेर ०.३९ प्रतिशत भएको कृषि अधिकृत मिजारले बताउनुभयो । आव २०८१/८२ मा उत्पादित १५० मेट्रिक टन अलैँचीका दाना बिक्रीबाट २२ करोड रुपियाँ आम्दानी भएको थियो । गत आवमा प्रतिकिलो एक हजार पाँच सयदेखि दुई हजार चार सय रुपियाँसम्म अलैँचीको मूल्य आएको थियो ।
यस वर्ष भारतमा पनि अलैँची उत्पादनमा कमी आएकाले माग उच्च हुँदा यहाँका किसानले राम्रो मूल्य पाएको अलैँची व्यवसायी महासङ्घ गण्डकीका अध्यक्ष अजय तामाङले बताउनुभयो । आव २०८०/८१ मा जिल्लाका किसानले २५१ मेट्रिक टन अलैँची बेचेर २४ करोड रुपियाँ आम्दानी गरेका थिए ।
तामाङका अनुसार उक्त वर्ष जिल्लाका किसानले प्रतिकिलो एक हजार दुई सय रुपियाँका दरले अलैँची बेचेका थिए । आव २०७९/८० मा ३८० मेट्रिक टन अलैँची बिक्रीबाट २० करोड रुपियाँ आम्दानी भएको थियो । उक्त वर्ष प्रतिकिलो मूल्य कम्तीमा ५५० देखि सात सय रुपियाँसम्म थियो । आव २०७८/७९ मा ३३५ मेट्रिक टन अलैँचीबाट १५ करोड, आव २०७७/७८ मा तीन हजार पाँच सय क्विन्टलबाट १८ करोड २० लाख, आव २०७६/७७ मा दुई हजार क्विन्टलबाट १२ करोड रुपियाँ आम्दानी भएको परियोजनाले
जनाएको छ । जिल्लामा ७५० हेक्टर क्षेत्रफलमा अलैँची खेती हुँदै आए पनि ३७५ हेक्टर क्षेत्रफलमा उत्पादन हुँदै आएको छ । उक्त परियोजनाले अलैँची जोन पकेट क्षेत्रका रूपमा मस्र्याङ्दी गाउँपालिका, बेँसीसहर नगरपालिका, क्व्होलासोथार गाउँपालिका, दुधपोखरी गाउँपालिका र दोर्दी गाउँपालिकालाई घोषणा गरिसकेको छ ।
यस वर्ष सबैभन्दा बढी मस्र्याङ्दी गाउँपालिकाका किसानले अलैँची बिक्रीबाट आम्दानी गरेका नेपाल अलैँची व्यवसायी महासङ्घ लमजुङका अध्यक्ष सोमबहादुर तामाङले बताउनुभयो ।