Logo

राजनीतिक विषयमा प्रवेश गर्दैनौँ, अशान्ति फैलाउने गतिविधि रोक्छौँ : प्रजिअ पौडेल

अ+ अ-

काठमाडौँ- काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वर पौडेलले विकसित राजनीतिक घटनाक्रमका कारण कुनै पनि अप्रिय घटना हुन नदिन स्थानीय प्रशासन सचेत रहेको बताउनुभएको छ ।

आइतबार अध्यक्ष केपी शर्मा ओलीको पक्राउको विरोधमा नेकपा (एमाले)ले बुझाएको ज्ञापनपत्र बुझ्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आफूहरू राजनीतिक विषयमा प्रवेश नगर्ने तर हिंसात्मक र अशान्ति फैलाउने गतिविधि रोक्ने कुरामा सचेत भएर लागिरहेको बताउनुभयो । आफूलाई सरकारले दिने जुनसुकै जिम्मेवारी प्रशासनिक र पेसागत भाव अनुसार निर्वाह गर्ने उहाँको भनाइ छ । उहाँले शनिबार मैदानमा भएका गतिविधिबारे अध्ययन भइरहेको भन्दै अराजनीतिक र गैरकानुनी क्रियाकलाप गर्नेलाई कानुनी कारबाही गरिने स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, “कुनै पनि अप्रिय घटना नघटोस् भनेर हामी एकदमै चनाखो छौँ । हामी यहाँहरूलाई पनि यही अनुरोध गर्छौँ । यो बिचमा हामीले जुन खालको हिंसा देख्यौँ, त्यो अवस्थाबाट अब स्थिरतातर्फ जाँदै गर्दा केही राजनीतिक घटनाक्रम विकसित भएका छन् । यस अवस्थामा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को जमानामा सञ्चारमाध्यममा फरक ढङ्गले पनि सूचना जान सक्छन्, यसतर्फ सचेत हुन पनि हामी अनुरोध गर्छौँ ।”

उहाँले थप्नुभयो, “हामी राजनीतिक विषयमा प्रवेश गर्दैनौँ, प्रशासनिक र पेसागत धर्म अनुसार अगाडि बढ्छौँ । हिजोका घटनामा केही झडप भएका छन्, हामीले सुरक्षाकर्मीलाई पनि संयमित भएर कर्तव्य निर्वाह गर्न भनेका छौँ । हिजो भएका गैरकानुनी हर्कत गर्नेलाई कानुनी दायरामा ल्याउँछौँ ।”

पार्टीको शनिबार बसेको सचिवालय बैठकको निर्णय बमोजिम एमालेले जिल्ला प्रशासन कार्यालयमा विरोधपत्र बुझाएको थियो । विरोधपत्रमा संविधान, मानव अधिकार र विधिको शासनविपरीत गरिएका कदम तत्काल सच्याउँदै ओलीसहित सबैलाई सम्मानजनक व्यवहार सुनिश्चित गर्न माग गरिएको छ ।