Logo

डेडिकेटेड र ट्रङ्क लाइनको बक्यौता उठाउन पत्राचार

अ+ अ-

काठमाडौँ- डेटिकेटेड तथा ट्रङ्क लाइन महसुलको बक्यौता रकम असुल गर्न नेपाल विद्युत् प्राधिकरण पुनः सक्रिय भएको छ । २०८२ असोजमा प्राधिकरणले जारी गरेको सूचनालाई आधार बनाउँदै प्राधिकरणले सम्बन्धित शाखामार्फत उद्योगीलाई महसुलको बक्यौता भुक्तानी गर्न पत्राचार गरेको हो ।

प्राधिकरणको ग्राहक सेवा निर्देशनालय प्रमुख तथा प्राधिकरण उपकार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले प्रादेशिक कार्यालयलाई गत शुक्रबार त्यस्तो पत्राचार गर्नुभएको थियो । सोही अनुसार महसुल सङ्कलन गर्ने सम्बन्धित कार्यालयमा बक्यौता महसुल भुक्तानी गर्न सम्बन्धित औद्योगिक ग्राहकलाई पत्राचार गरेको हो ।

विद्युत् नियमन आयोगले यही चैत १ गते यो विवादमा रहेको पञ्चकन्या स्टिल्स र पञ्चकन्या प्लास्टिक इन्डस्ट्रिजले पेस गरेको उजुरीमा प्राधिकरणलाई बक्यौता रकम तिर्नुपर्ने गरी फैसला गरेको थियो ।

विद्युत् नियमन आयोगको इजलासले यी दुई उद्योगका पञ्चकन्या स्टिल्सले आफूमाथि अन्यायपूर्ण व्यवहार भयो भन्दै दायर गरेको निवेदन उपर सुनुवाइ गर्दै मागदाबी नपुगेको ठहर गरेको थियो ।

यो फैसला आएपछि प्राधिकरणलाई महसुल असुलीका लागि थप आधार मिलेकाले अहिले महसुल असुलीका लागि पत्राचार गरिएको प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले जानकारी दिनुभयो । “नियामकले गरेको फैसला कार्यान्वयन गर्नु प्राधिकरणको दायित्व हो,” उहाँले भन्नुभयो, “फैसला आएपछि हामी चुप लाग्नु त भएन, यसबाहेक नयाँ सरकारको पनि यसमा ध्यान पुगेको छ ।”

शाक्यका अनुसार अहिले गत असोजको सूचनामा उल्लिखित व्यवस्था अनुसार नै किस्ता रकम भुक्तान गर्न भनिएको हो । शाक्यले भन्नुभयो, “हामीले अहिले नतिरे लाइन काट्छौँ भनेका छैनौँ, के गर्ने भन्ने विषयमा कानुनी परामर्श गर्दै छौँ ।”

गत असोज १२ को सूचना अनुसार २१ दिनको अवधिभित्र बक्यौता रकम नतिरेपछि त्यस्ता उद्योगको विद्युत् आपूर्तिसमेत विच्छेद गरिएको थियो । त्यसपछि २२ उद्योगीले सम्पूर्ण बक्यौतालाई २८ किस्तामा विभाजन गरी पहिलो किस्ता रकम प्राधिकरणलाई बुझाएका थिए ।

तीमध्ये छ उद्योगले दोस्रो किस्ता पनि भुक्तान गरेका थिए । तथापि उद्योगीले यस रकमलाई धरौटीका रूपमा व्याख्या गर्दै आएका छन् । प्राधिकरणका अनुसार केही उद्योगले नियमित महसुलका अतिरिक्त बक्यौता किस्ता तिर्दै आए पनि अधिकांशले कात्तिक पछिको किस्ता भुक्तान गरेका छैनन् ।