Logo

पुराना र अव्यावहारिक कानुन संशोधन गरी युगसापेक्ष बनाउनुपर्छ: सभामुख अर्याल

अ+ अ-

काठमाडौँ- सभामुख डोलप्रसाद अर्यालले मुलुकको आवश्यकता र भविष्यको चुनौतीलाई सम्बोधन गर्ने गरी कानुन निर्माण हुनुपर्नेमा जोड दिनुभएको छ ।

पूर्वसांसद मञ्चद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले पुराना र असान्दर्भिक कानुनको संशोधन वा खारेजी तथा प्रविधिमैत्री नयाँ कानून निर्माण अहिलेको मुख्य विधायकी जिम्मेवारी भएको बताउनुभयो । सभामुख अर्यालले देश निर्माणका लागि तीन पुस्ताको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्नुभयो ।

कानून निर्माण प्रक्रियामा व्यावहारिकताको अभाव रहेको भन्दै उहाँले वर्तमान सवारीचालक अनुमतिपत्र सम्बन्धी व्यवस्थाको आलोचना गर्नुभयो । उहाँले लाइसेन्स परीक्षाको प्रक्रियामा रहेको ९० दिनको समयसीमा र कतिपय अवस्थामा राखिएको शैक्षिक योग्यताको प्रावधानप्रति पनि आपत्ति जनाउनुभयो । लिखित परीक्षामा अनुत्तीर्ण हुनेले तीन महिनासम्म कुर्नुपर्ने नियम अव्यावहारिक रहेको र यसले नागरिकको जीविकोपार्जनमा समेत बाधा पुर्‍याएको उहाँको तर्क छ ।

सभामुख अर्यालले भन्नुभयो, “हामीभन्दा अघिल्लो अनुभवी पुस्ता, काम गर्ने हुटहुटी भएको वर्तमान पुस्ता र प्रविधिमा पोख्त नयाँ पुस्ता मिलेर अघि बढे मात्रै यो देश बस्न लायक र जनताले खोजेजस्तो बन्नेछ । अत्यन्तै असुरक्षित मानिने दुईपाङ्ग्रे सवारीका लागि १८ वर्ष र सुरक्षित मानिने चारपाङ्ग्रेका लागि २१ वर्षको उमेरहद तोकिनु आफैँमा विरोधाभासपूर्ण छ । के हामीले सुरुमा नागरिकलाई असुरक्षित सवारी चलाउन बाध्य पारिरहेका त छैनौँ ? हामीकहाँ कानून बनाइन्छ र जनतामाथि लादिन्छ, तर त्यसको व्यावहारिक पक्ष र सामाजिक चेतनाको स्तरलाई वास्ता गरिँदैन ।”

कानून निर्माण गर्दा प्रयोगकर्ता र सरोकारवालासँग पर्याप्त छलफल नहुने गरेको भन्दै सभामुख अर्यालले असन्तुष्टि व्यक्त गर्नुभयो । मुलुकको समृद्धिका लागि राज्यका तीनै अङ्ग कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाको कार्यगत गति र भावना मिल्नुपर्ने उहाँको धारणा छ ।

उहाँले स्रोत र साधनभन्दा पनि सफा ‘नियत’ भए मात्र नीति–नियमले सार्थक परिणाम दिने उल्लेख गर्नुभयो । आगामी दिनमा युवा सांसदले सरकारलाई घच्घच्याउँदै जनजीविकासँग जोडिएका विषयमा प्रभावकारी कानुन निर्माणका लागि पहल गर्ने उहाँले प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।