Logo

ताप्लेजुङमा साढे ८६ करोड रुपियाँ फ्रिज

अ+ अ-

ताप्लेजुङ- ताप्लेजुङमा गत आर्थिक वर्ष २०८२/८३ मा साढे ८६ करोड रुपियाँभन्दा बढी रकम खर्च हुन नसकी फ्रिज भएको छ। कोष तथा लेखा नियन्त्रक कार्यालय ताप्लेजुङका अनुसार गत आवमा विनियोजित बजेटमध्ये कुल ८६ करोड ५७ लाख ९५ हजार ३९६ रुपियाँ बजेट फ्रिज भएको हो।

कार्यालयका लेखापाल मनकुमार सङ्ग्रौलाका अनुसार फ्रिज भएको रकममध्ये सङ्घीय सरकारतर्फ ५२ करोड ७९ लाख ७२ हजार ३९० रुपियाँ र प्रदेश सरकारतर्फ ३३ करोड ७८ लाख २३ हजार छ रुपियाँ रहेको छ।

जिल्लामा चालुको तुलनामा पुँजीगत बजेट बढी फ्रिज भएको छ। सङ्घ र प्रदेश सरकारबाट चालुतर्फ कुल पाँच अर्ब २६ करोड नौ लाख १५ हजार ६२६ रुपियाँ विनियोजन भएकोमा ३७ करोड चार लाख ८४ हजार ९९० रुपियाँ फ्रिज भएको छ।

जसमा सङ्घीय सरकारतर्फको चार अर्ब ७८ करोड चार लाख ८० हजार ९०६ रुपियाँ चालु बजेटमध्ये चार अर्ब ५१ करोड ९९ लाख ४५ हजार ६४६ रुपियाँ खर्च भई २६ करोड पाँच लाख ३५ हजार २६० रुपियाँ फ्रिज भएको छ। यस्तै, प्रदेशतर्फको ६१ करोड २८ लाख १४ हजार रुपियाँ चालु बजेटमध्ये ५० करोड २८ लाख ६४ हजार २७० रुपियाँ खर्च भई १० करोड ९९ लाख ४९ हजार ७३० रुपियाँ बजेट फ्रिज भएको छ।

पुँजीगततर्फ भने सङ्घ र प्रदेश दुवै गरी कुल ४९ करोड ५३ लाख १० हजार ४०६ रुपियाँ बजेट फ्रिज भएको छ। सङ्घीय सरकारको ७६ करोड २१ लाख ८५ हजार रुपियाँ पुँजीगत बजेटमा ४९ करोड ४७ लाख ४७ हजार ८७० रुपियाँ खर्च भई २६ करोड ७४ लाख ३७ हजार १३० रुपियाँ रकम फ्रिज भएको छ। त्यसै गरी प्रदेशतर्फ ५२ करोड ३८ लाख ३४ हजार रुपियाँ पुँजीगत बजेटमध्ये २९ करोड ५९ लाख ६० हजार ७२४ रुपियाँ मात्र खर्च भई २२ करोड ७८ लाख ७३ हजार २७६ रुपियाँ बजेट फ्रिज भएको कोष तथा लेखा नियन्त्रक कार्यालयले जनाएको छ।

खर्च नभई फ्रिज भएको यो रकम सम्बन्धित निकाय अर्थात् सङ्घ र प्रदेश सरकारको खातामा फिर्ता जाने कोष तथा लेखा नियन्त्रक कार्यालयले जनाएको छ।