काठमाडौं । मनाङमा निर्माणाधीन ६५ मेगावाट क्षमताको दुधखोला जलविद्युत आयोजनाले वित्तीय व्यवस्थापन पूरा गरेको छ । आयोजनामा एनएमबि बैंकको नेतृत्वमा बैंक तथा वित्तीय संस्थाले ९ अर्ब ६७ करोड रुपैयाँ ऋण लगानी गर्ने भएका छन् ।
दुधखोला हाइड्रो पावर कम्पनीले प्रवर्द्धन गरिरहेको आयोजनामा एनएमबि बैंक अगुवा बैंक तथा सानिमा बैंक सहअगुवा बैंकका रूपमा छन् । आयोजनाको प्रमुख लगानीकर्तामा माउन्टेन इनर्जी नेपाल तथा सीताराम तिमिल्सिनाको समूह रहेको छ ।
आयोजनाको कुल अनुमानित लागत १२ अर्ब ९० करोड रुपैयाँ रहेको छ । प्रतिमेगावाट लागत करिब १९ करोड ८४ लाख रुपैयाँ पर्ने आयोजनामा कुल लागतको ठूलो हिस्सा बैंक ऋणबाट जुटाइने भएको हो ।
ऋण सम्झौतामा एनएमबि बैंकका सहायक महाप्रबन्धक दिनेश दुलाल र दुधखोला हाइड्रो पावर कम्पनीका अध्यक्ष अरुण केसीले हस्ताक्षर गरेका छन् ।
एनएमबि बैंकले यसअघि ५० भन्दा बढी जलविद्युत आयोजनामा लगानी गरिसकेको जनाएको छ।
