काठमाडौं । लिपमोटरले नेपाली बजारमा नयाँ विद्युतीय एसयूभी बीओथ्रीएक्स सार्वजनिक गरेको छ । नाइमा मोबिलिटी एक्स्पोमा नेपालका लागि आधिकारिक वितरक सांग्रिला मोटर्सले बीओथ्रीएक्स सार्वजनिक गर्दै बुकिङसमेत खुला गरेको हो ।
‘इन्टेलिजेन्ट अर्बन मोबिलिटी’ अवधारणामा आधारित यो एसयूभी पाँचवटा कलर अप्सनमा उपलब्ध हुनेछ । नेपाली सडकको अवस्थालाई ध्यानमा राखेर तयार गरिएको दाबी गरिएको बीओथ्रीएक्सको ग्राउन्ड क्लियरेन्स १९० एमएम छ ।
गाडीमा १४५ किलोवाट क्षमताको मोटर र ५३ किलोवाट आवरको ब्याट्री दिइएको छ । कम्पनीका अनुसार यसले एकपटकको चार्जमा ५०५ किलोमिटरसम्मको रेन्ज दिन्छ ।
बीओथ्रीएक्समा ५१० लिटरको बुट स्पेससँगै फराकिलो केबिन र प्रिमियम इन्टेरियर दिइएको छ । सुरक्षातर्फ एडभान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम (एडास) लेभल–२ प्रविधि उपलब्ध छ ।
लिपमोटरले विश्वव्यापी रूपमा स्टेलान्टिस समूहसँग सहकार्य गर्दै आएको छ । स्टेलान्टिसअन्तर्गत मासेराटी, जीप र प्युजोलगायत १४ प्रमुख अटोमोबाइल ब्रान्ड रहेका छन् ।
कम्पनीका अनुसार लिपमोटरले विश्वभर १६ लाखभन्दा बढी विद्युतीय सवारी बिक्री गरिसकेको छ । जुलाई महिनामा मात्रै कम्पनीले १ लाखभन्दा बढी सवारी बिक्री गरेको जनाएको छ ।
लिपमोटरको बिक्री तथा सेवा सञ्जाल विश्वका ४० भन्दा बढी देशमा विस्तार भएको छ । कम्पनीका अनुसार विश्वभर १ हजार ७०० भन्दा बढी बिक्री तथा सेवा केन्द्रमार्फत ग्राहकलाई सेवा दिइँदै आएको छ ।
नेपाली बजारमा पहिलो १०० जना ग्राहकका लागि बीओथ्रीएक्सको मूल्य ४४ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।
