काठमाडौं । टाटा मोटर्सले नेपाली बजारमा नयाँ पञ्च ईभी र नयाँ टियागो ईभी सार्वजनिक गरेको छ । टाटाको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङले काठमाडौंको भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’को अवसर पारेर दुवै विद्युतीय गाडी सार्वजनिक गरेको हो ।
नयाँ पञ्च ईभीको सुरुवाती मूल्य ३३ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । एक्स्पो अवधिभर बुकिङ गर्ने ग्राहकले भने विशेष अफरअन्तर्गत ३२ लाख ९९ हजार रुपैयाँमै पञ्च ईभी खरिद गर्न सक्नेछन् । अर्थात् एक्स्पोमा बुकिङ गर्दा ग्राहकले १ लाख रुपैयाँ छुट पाउनेछन् ।
नयाँ टियागो ईभीको सुरुवाती मूल्य २८ लाख ९९ हजार रुपैयाँ निर्धारण गरिएको छ । एक्स्पोमा पञ्च ईभी र टियागो ईभी बुकिङ गर्ने ग्राहकलाई कम्पनीले ११ वर्ष वा २ लाख २० हजार किलोमिटरसम्मको विस्तारित वारेन्टी सुविधा उपलब्ध गराएको जनाएको छ ।
गाडी सार्वजनिक कार्यक्रममा सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले नेपालमा पछिल्लो प्रविधिसहितका विद्युतीय सवारीसाधन भित्र्याउन कम्पनी प्रतिबद्ध रहेको बताए ।
‘नेपालमा पछिल्लो प्रविधिसहितका विद्युतीय सवारीसाधन भित्र्याउन हामी प्रतिबद्ध छौँ । नयाँ पञ्च ईभी र टियागो ईभी नेपाली बजारमा सार्वजनिक गर्नुले हाम्रो प्रतिबद्धतालाई अझ पुष्टि गरेको छ,’ उनले भने ।
उनका अनुसार दुवै मोडल फरक–फरक ग्राहकका आवश्यकता र प्रयोगलाई ध्यानमा राखेर विकास गरिएको हो ।
सिप्रदीले विद्युतीय गाडीको बिक्रीसँगै चार्जिङ तथा सर्भिस पूर्वाधार विस्तारमा समेत लगानी गर्दै आएको जनाएको छ । सिप्रदी ट्रेडिङका चीफ अपरेटिङ अफिसर राजेशप्रसाद गिरीले ग्राहकलाई ईभी प्रयोगमा थप सहजता र विश्वास दिलाउन आवश्यक पूर्वाधार निर्माणलाई प्राथमिकता दिइएको बताए ।
कम्पनीका अनुसार हाल २१ भन्दा बढी ईभी सर्भिस सेन्टर, ४० वटा डीसी चार्जिङ प्वाइन्ट र १५० भन्दा बढी एसी चार्जिङ प्वाइन्ट सञ्चालनमा छन् ।
अत्याधुनिक ‘एक्ट.ईभी’ प्लेटफर्ममा आधारित नयाँ पञ्च ईभीमा ३२ किलोवाट र ४० किलोवाट क्षमताका दुई ब्याट्री विकल्प उपलब्ध छन् । नेपालको सडकमा गरिएको परीक्षणअनुसार यी ब्याट्रीले एकपटक पूर्ण चार्जमा ३०० देखि ३२५ किलोमिटरसम्मको रेन्ज दिने कम्पनीको दाबी छ ।
पञ्च ईभीमा १९५ मिलिमिटरको ग्राउन्ड क्लियरेन्स, बीएनसीएपी ५ स्टार सुरक्षा रेटिङ, ६ वटा एयरब्याग, ३६० डिग्री क्यामेरा, १.५सी डीसी फास्ट चार्जिङ, भ्वाइस एक्टिभेटेड सनरुफ, २६.०३ सेन्टिमिटरको हर्मन इन्फोटेनमेन्ट तथा डिजिटल ककपिट, भेन्टिलेटेड सिट र ३६६ लिटरको बुट स्पेसजस्ता सुविधा छन् ।
त्यस्तै, दैनिक आवतजावतलाई लक्षित नयाँ टियागो ईभीमा नयाँ डिजाइन, आकर्षक रङ विकल्प, ३६० डिग्री एचडी क्यामेरा, २६.०३ सेन्टिमिटरको इन्फोटेनमेन्ट सिस्टम र ६ वटा एयरब्यागलगायतका सुविधा दिइएको छ ।
