काठमाडौं । निजी क्षेत्रको अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले चीनको सांघाई र थाइल्यान्डको बैंककमा नियमित उडान विस्तार गर्ने भएको छ। कम्पनीले आगामी सेप्टेम्बरदेखि सांघाई र अक्टोबरदेखि बैंककमा काठमाडौं–केन्द्रित नियमित उडान सुरु गर्ने तयारी गरेको हो।
हिमालय एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठका अनुसार कम्पनीले भदौ २२ गतेदेखि काठमाडौं–सांघाई उडान सुरु गर्ने तयारी गरेको छ। सांघाईमा सातामा दुई उडान गर्ने योजना रहेको कम्पनीले जनाएको छ। सांघाईबाट काठमाडौं फर्किने क्रममा भने जहाज चीनकै कुन्मिङमा ट्रान्जिट हुने गरी उडान तालिका बनाइएको छ।
चीनबाट नेपाल आउने पर्यटकको संख्या बढ्दै गएको तथा पर्यटकीय र चाडपर्वको सिजन सुरु हुन लागेकाले चीनतर्फको उडान विस्तार गर्न लागिएको श्रेष्ठले बताए।
कम्पनीले अक्टोबर २७ अर्थात् कात्तिक १० गतेदेखि काठमाडौं–बैंकक नियमित उडान सुरु गर्ने तयारीसमेत गरेको छ। बैंककमा सातामा तीन उडान गर्ने योजना रहेको हिमालय एयरलाइन्सले जनाएको छ।
हाल हिमालय एयरलाइन्सले चीनका ल्हासा र सेन्जेनमा नियमित उडान गर्दै आएको छ। कोभिड–१९ महामारीअघि कम्पनीले चीनका पाँच गन्तव्यमा उडान सञ्चालन गर्दै आएको थियो। महामारीपछि चिनियाँ पर्यटकको आगमन घटेपछि कम्पनीले चीनतर्फका उडान संख्या र गन्तव्य घटाएको थियो।
तर पछिल्लो समय नेपालमा चिनियाँ पर्यटकको आगमनमा उल्लेख्य सुधार आएको छ। नेपाल पर्यटन बोर्डका अनुसार सन् २०२६ को जुलाईमा ११ हजार ९९ जना चिनियाँ पर्यटक नेपाल आएका छन्। सन् २०१९ को जुलाईमा १० हजार २१५ चिनियाँ पर्यटक नेपाल आएका थिए। यस आधारमा कोभिडपूर्वको तुलनामा जुलाईमा चिनियाँ पर्यटक आगमन ८.६५ प्रतिशतले बढेको छ।
यस्तै, सन् २०२५ को जुलाईको तुलनामा २०२६ को जुलाईमा चिनियाँ पर्यटक आगमन ६१ प्रतिशतले बढेको छ। चिनियाँ पर्यटक आगमनमा देखिएको सुधारसँगै एयरलाइन्सले चीनतर्फ आफ्नो अन्तर्राष्ट्रिय नेटवर्क पुनः विस्तार गर्न लागेको हो।
हिमालय एयरलाइन्सले चीनबाहेक कुवेत, क्वालालम्पुर, दोहा, दमाम, रियाद र दुबईमा नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्दै आएको छ। सांघाई र बैंकक थपिएसँगै कम्पनीको अन्तर्राष्ट्रिय गन्तव्य सञ्जाल थप विस्तार हुनेछ।
