काठमाडौं । रिलायन्स स्पिनिङ मिल्सले गत आर्थिक वर्ष २०८२/८३ मा १० अर्ब ४५ करोड ९६ लाख रुपैयाँको धागो बिक्री गरेको छ। कम्पनीको सञ्चालन आम्दानी अघिल्लो आर्थिक वर्षको १० अर्ब २३ करोड ७८ लाख रुपैयाँबाट २.२ प्रतिशतले बढेको हो।
कम्पनीले समीक्षा अवधिमा ३९ करोड ९० लाख रुपैयाँ खुद नाफा कमाएको छ। यससँगै प्रतिसेयर आम्दानी २२ रुपैयाँ ४ पैसा कायम भएको छ। अघिल्लो आर्थिक वर्षमा कम्पनीको खुद नाफा ४७ करोड ५८ लाख रुपैयाँ र ईपीएस २७ रुपैयाँ ८७ पैसा थियो।
बिक्री बढे पनि बिक्री लागत, बिक्री तथा वितरण खर्च र प्रशासनिक खर्च बढ्दा सञ्चालन नाफा घटेर ७४ करोड रुपैयाँमा सीमित भएको छ। कम्पनीका अनुसार अन्तर्राष्ट्रिय बजारमा देखिएका समस्या तथा ढुवानी र आपूर्तिसम्बन्धी चुनौतीले खर्च बढाएको हो।
यस्तै, नेपाली रुपैयाँ अमेरिकी डलरको तुलनामा करिब १२.३७ प्रतिशत अवमूल्यन हुँदा कम्पनीले २० करोड २ लाख रुपैयाँ वैदेशिक विनिमय हानी व्यहोरेको छ। त्यसमध्ये ८ करोड १० लाख रुपैयाँ डलर कर्जाको पुनर्मूल्यांकनबाट सिर्जित गैरनगद नोक्सानी हो। अघिल्लो वर्ष यस्तो हानी ५ करोड २ लाख रुपैयाँ थियो।
कम्पनीले कर्जा घटाएसँगै वित्तीय लागतमा भने कमी आएको जनाएको छ। असार मसान्तसम्म कम्पनीको कुल सम्पत्ति १३ अर्ब ९९ करोड ३४ लाख रुपैयाँ रहेको छ। स्थिर सम्पत्ति ९ अर्ब २८ करोड रुपैयाँ छ।
कम्पनीको चुक्ता पुँजी १ अर्ब ९० करोड रुपैयाँ र अदर इक्विटी ७ अर्ब ६६ करोड रुपैयाँ रहेको छ। प्रतिसेयर नेटवर्थ ५०३ रुपैयाँ ३२ पैसा, प्रतिसेयर कुल सम्पत्तिको मूल्य ७३६ रुपैयाँ ५० पैसा र तरलता अनुपात २.०७ रहेको छ।
समीक्षा अवधिमा कम्पनीले विभिन्न व्यवसायिक संस्थासँग नियमित कारोबार गरेको जनाएको छ। कम्पनीले पेट्रोलियम पदार्थको मूल्य वृद्धि, ढुवानीमा ढिलाइ, नीतिगत परिवर्तन तथा अमेरिकी डलरको उतारचढावलाई मुख्य चुनौतीका रूपमा उल्लेख गरेको छ।
तर, सञ्चालन कार्यसम्पादन र तरलता अवस्था सुदृढ रहेको तथा विदेशी मुद्रा जोखिम न्यूनीकरणका लागि हेजिङलगायतका उपाय अवलम्बन गर्ने कम्पनीले जनाएको छ।
