काठमाडौं। कर्णालीको कालिकोटमा निर्माण हुने ४२० मेगावाट क्षमताको तिला–२ जलविद्युत् आयोजनाका लागि ७० अर्ब ७ करोड रुपैयाँको वित्तीय व्यवस्थापन टुंगिएको छ।
ऊर्जा तिला पावर कम्पनीले एभरेस्ट बैंकको अगुवाइमा विभिन्न बैंक तथा वित्तीय संस्थासँग लगानी सम्झौता गरेसँगै आयोजना निर्माणको महत्वपूर्ण पूर्वशर्त पूरा भएको हो।
अर्धजलाशययुक्त प्रकृतिको आयोजना कालिकोटको तिलागुफा नगरपालिकामा बाँध र खाँडाचक्र नगरपालिकामा विद्युत्गृह निर्माण गरी अघि बढाइनेछ। कुल लागतको ७५ प्रतिशत अर्थात् ५२ अर्ब ५५ करोड रुपैयाँ ऋणबाट तथा २५ प्रतिशत अर्थात् १७ अर्ब ५२ करोड रुपैयाँ स्वपुँजीबाट जुटाइनेछ।
आयोजनामा स्ट्रीम इन्भेस्टमेन्ट, ऊर्जा इम्प्याक्ट फन्ड र रविन्स युएसएलगायत संस्थागत तथा व्यक्तिगत लगानीकर्ताको समेत सहभागिता छ।
तिला–२ लाई दैनिक ६ घण्टासम्म पिकिङ गर्न सकिने गरी विकास गरिनेछ। आयोजनाबाट वार्षिक २ हजार ३१८.७९ गिगावाट घण्टा विद्युत् उत्पादन हुने अनुमान छ। यसमध्ये सुख्खायामको पिक समयमा ४५१.०५, अफपिक समयमा २०५.४५ र वर्षायाममा १ हजार ६६२.२९ गिगावाट घण्टा विद्युत् उत्पादन हुने प्रक्षेपण गरिएको छ।
नेपाल विद्युत् प्राधिकरणसँग आयोजनाको २९६.७४ मेगावाट क्षमताका लागि विद्युत् खरिद–बिक्री सम्झौता (पीपीए) भइसकेको छ भने विद्युत् विकास विभागबाट उत्पादन अनुमतिसमेत प्राप्त भइसकेको छ।
आयोजना निर्माण सुरु भएको चार वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ। सुख्खायामको पिक समयमा विद्युत् उपलब्ध गराउन सक्ने क्षमताका कारण तिला–२ सामान्य नदी प्रवाहमा आधारित आयोजनाभन्दा प्रणालीका दृष्टिले महत्वपूर्ण हुने अपेक्षा गरिएको छ।
कर्णालीमा भौगोलिक कठिनाइ र पूर्वाधार अभावका बीच ७० अर्बभन्दा बढीको निजी लगानी जुट्नुले ठूला जलविद्युत् आयोजनाप्रति बैंक तथा निजी क्षेत्रको बढ्दो विश्वाससमेत देखाएको छ।
