काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना साउनमा नेपालमा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) प्रतिबद्धता अघिल्लो महिनाको तुलनामा ६६.५७ प्रतिशतले घटेको छ। उद्योग विभागका अनुसार साउनमा ३ अर्ब ७७ करोड रुपैयाँ बराबरको एफडीआई प्रतिबद्धता आएको हो।
अघिल्लो महिना १० अर्ब ३८ करोड रुपैयाँ बराबरको एफडीआई प्रतिबद्धता आएको थियो। साउनमा कुल १९१ वटा विदेशी लगानीका परियोजना स्वीकृत भएका छन्। तीमध्ये १८७ परियोजना स्वचालित प्रक्रियाबाट स्वीकृत भएका हुन्, जसमा ३ अर्ब ४७ करोड रुपैयाँ लगानी प्रतिबद्धता रहेको छ।
त्यस्तै, नियमित प्रक्रियामार्फत चार परियोजनाका लागि २९ करोड ९४ लाख रुपैयाँ बराबरको लगानी स्वीकृत भएको विभागले जनाएको छ।
साउनमा स्वीकृत परियोजनाबाट १ हजार ७७३ जनालाई रोजगारी दिने प्रतिबद्धता गरिएको छ। यसबाहेक सेयर खरिद सम्झौता/सेयर सदस्यता सम्झौता (एसपीए/एसएसए) अन्तर्गत २५ करोड ४० लाख रुपैयाँ बराबरका तीन परियोजनालाई स्वीकृति दिइएको छ। सोही अवधिमा आठवटा प्रविधि हस्तान्तरण सम्झौता (टीटीए) समेत स्वीकृत भएका छन्।
परियोजनाको संख्याका आधारमा सूचना तथा सञ्चार प्रविधि (आईसीटी) क्षेत्र अगाडि रहेको छ। साउनमा स्वीकृत १९१ परियोजनामध्ये १२८ वटा आईसीटी क्षेत्रका छन्। यद्यपि, यस क्षेत्रमा ५६ करोड ९८ लाख ३० हजार रुपैयाँ बराबरको मात्र एफडीआई प्रतिबद्धता आएको छ।
रकमका आधारमा भने पर्यटन क्षेत्रले सबैभन्दा बढी विदेशी लगानी प्रतिबद्धता प्राप्त गरेको छ। पर्यटनसँग सम्बन्धित ३३ परियोजनामा १ अर्ब ६४ करोड रुपैयाँ लगानी प्रतिबद्धता आएको छ, जुन कुल प्रतिबद्धताको करिब ४३.४ प्रतिशत हो।
त्यस्तै, उत्पादनमूलक क्षेत्रमा नौ परियोजनामार्फत ८४ करोड ३२ लाख रुपैयाँ, सेवा क्षेत्रमा १९ परियोजनामार्फत ६८ करोड २० लाख रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको छ। ऊर्जा र कृषि तथा वनमा आधारित क्षेत्रमा एक–एक परियोजनाका लागि २ करोड रुपैयाँका दरले लगानी प्रतिबद्धता आएको विभागले जनाएको छ।
आर्थिक वर्ष २०८२/८३ मा भने १ हजार ११६ परियोजनामार्फत कुल ५८ अर्ब रुपैयाँ बराबरको एफडीआई प्रतिबद्धता प्राप्त भएको थियो। सरकारले साना विदेशी लगानीकर्तालाई सहज बनाउन स्वचालित प्रक्रियामार्फत लगानी स्वीकृत गर्ने व्यवस्थालाई प्राथमिकता दिँदै आएको छ।
