काठमाडौं। सरकारले राष्ट्रिय गौरवका सिँचाइ आयोजनालाई समयमै सम्पन्न गर्दै कृषि उत्पादन र अर्थतन्त्रसँग प्रत्यक्ष जोड्ने गरी कार्यान्वयन अघि बढाउने भएको छ।
राष्ट्रिय गौरवका सिँचाइ आयोजनाको विद्यमान अवस्था, समस्या तथा आगामी कार्ययोजनाबारे सिँचाइ विभागका महानिर्देशक, जलस्रोत महाशाखा प्रमुख, आयोजना प्रमुखलगायत सम्बन्धित अधिकारीसँग भएको छलफलमा आयोजनाको समय, लागत र उपलब्धिलाई केन्द्रमा राखेर नतिजामुखी कार्यान्वयनमा जोड दिइएको हो ।
मन्त्रालयअन्तर्गत रहेका सबै राष्ट्रिय गौरवका सिँचाइ आयोजना आगामी पाँच वर्षभित्र सम्पन्न गर्ने गरी स्पष्ट कार्ययोजना अघि बढाउने तयारी गरिएको छ । त्यस्तै, भेरी–बबई बहुउद्देश्यीय आयोजना, बबई सिँचाइ आयोजना र सिक्टा सिँचाइ आयोजनालाई आगामी तीन सुख्खा मौसमभित्र सम्पन्न गर्ने लक्ष्यका साथ काम अघि बढाउनुपर्नेमा जोड दिइएको छ ।
सरकारले सिँचाइलाई केवल भौतिक पूर्वाधार निर्माणको विषयका रूपमा नभई कृषि उत्पादन वृद्धि, औद्योगिक विकास र राष्ट्रिय समृद्धिसँग जोडिएको प्राथमिकताका रूपमा अघि बढाउने नीति लिएको छ।
सुख्खा याममा उपलब्ध पानीको न्यायोचित र अधिकतम उपयोग सुनिश्चित गर्न स्काडा लगायत आधुनिक प्रविधिको प्रयोग गर्ने तयारीसमेत गरिएको छ । हिउँदे बालीको सिजनलाई लक्षित गरी विशेष सिँचाइ कार्ययोजना बनाउने तथा सिँचाइ आयोजनालाई कृषि र उद्योगसँग जोडेर एकीकृत योजना अघि बढाउने विषयमा पनि छलफल भएको छ ।
आयोजनाको प्रगति, समयसीमा, लागत र उपलब्धिको नियमित समीक्षा गर्दै समस्या पहिचान र तत्काल समाधानमा जोड दिने रणनीति लिइने भएको छ । लामो समयदेखि निर्माणाधीन आयोजनालाई थप समय र लागत बढाउने प्रवृत्तिबाट मुक्त गर्दै निर्धारित समयभित्र प्रतिफल दिने गरी कार्यान्वयन गर्ने सरकारको प्राथमिकता छ ।
सरकारको जोड अब ‘आयोजना निर्माण’मा मात्र नभई निर्माण भएका संरचनाबाट अधिकतम पानी उपयोग, कृषि उत्पादन वृद्धि र आर्थिक प्रतिफल सुनिश्चित गर्नेमा रहेको छ ।
समयमै आयोजना सम्पन्न गर्ने, उपलब्ध पानीको अधिकतम उपयोग गर्ने र सिँचाइ विस्तारमार्फत कृषि उत्पादन तथा समग्र अर्थतन्त्रलाई बलियो बनाउने लक्ष्यसहित आगामी कार्ययोजना अघि बढाइने भएको छ ।
