दाङ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराहीमा उपचारका लागि आउने बिरामीले अब अस्पताल पुगेर लामो लाइन बस्नुपर्ने बाध्यता हट्ने भएको छ। प्रतिष्ठानले सूचना प्रविधिको प्रयोग गर्दै मोबाइलबाटै ओपीडी टिकट लिन सकिने अनलाइन सेवा सुरु गरेको हो।
प्रतिष्ठानका सूचना अधिकारी निशान भट्टराईका अनुसार बिरामीले ‘राप्ती एकेडेमी हेल्थ’ वा ‘मेरो डाक्टर’ एप डाउनलोड गरेर मोबाइल नम्बर र पासवर्डमार्फत लगइन गरी सेवा लिन सक्नेछन्। एपमा प्राप्त हुने ओटीपी कोड राखेपछि ओपीडी टिकट काट्न सकिने व्यवस्था गरिएको छ।
नयाँ बिरामीले आवश्यक व्यक्तिगत विवरण भरेर सेवा लिन सक्नेछन् भने पुराना बिरामीले आफ्नो कार्ड तथा पहिलेको विवरणका आधारमा टिकट लिन सक्ने प्रतिष्ठानले जनाएको छ।
अनलाइन प्रणालीमा बिरामीले आफूलाई आवश्यक ओपीडी सेवा, चिकित्सक र उपलब्ध समयसमेत छनोट गर्न सक्नेछन्। यसले अस्पताल पुग्नुअघि नै उपचारका लागि आवश्यक समय निर्धारण गर्न सहज हुनेछ।
प्रतिष्ठानका उपकुलपति प्राडा अजयकुमार मिश्रले सूचना प्रविधिलाई व्यवहारमै प्रयोग गरेर बिरामीमैत्री सेवा प्रवाह गर्ने उद्देश्यले अनलाइन ओपीडी टिकट सेवा सुरु गरिएको बताए। उनका अनुसार डिजिटल प्रणालीले बिरामीको समय बचत गर्नुका साथै अस्पतालको सेवा प्रवाहलाई थप व्यवस्थित बनाउनेछ।
उनले सरकारी सेवामा सुशासन र प्रविधिको प्रयोगलाई प्राथमिकता दिँदै बिरामीलाई सहज, छिटो र प्रभावकारी सेवा दिने प्रतिष्ठानको उद्देश्य रहेको बताए।
अस्पताल निर्देशक सहप्राध्यापक डा. सुरेश रसाइलीका अनुसार ओपीडी टिकट लिन अस्पतालमै पुगेर घण्टौँ लाइन बस्नुपर्ने अवस्था कम हुनेछ। मोबाइलबाटै टिकट काट्न सकिने भएपछि बिरामीको समय बचत हुनुका साथै अस्पतालमा हुने अनावश्यक भीड व्यवस्थापनमा समेत सहयोग पुग्नेछ।
प्रतिष्ठानले डिजिटल प्रणालीमार्फत स्वास्थ्य सेवा थप सहज, छिटो, सुरक्षित र विश्वसनीय बनाउने लक्ष्य राखेको जनाएको छ।
अनलाइन ओपीडी टिकट सेवा सुरु भएपछि विशेषगरी टाढाबाट उपचारका लागि घोराही आउने बिरामीलाई थप सुविधा पुग्ने अपेक्षा गरिएको छ। बिहानै अस्पताल पुगेर टिकटको लाइनमा बस्नुपर्ने झन्झट घट्दा बिरामीले घरबाटै उपचारको समय मिलाउन सक्नेछन्।
स्वास्थ्य सेवा लिन आउने नागरिकको संख्या बढ्दै जाँदा अस्पतालमा भीड व्यवस्थापन चुनौती बन्दै गएको अवस्थामा डिजिटल टिकट प्रणालीले त्यसलाई केही सहज बनाउने अपेक्षा प्रतिष्ठानको छ। सेवा प्रभावकारी रूपमा सञ्चालन भए अस्पतालको प्रशासनिक कामसमेत व्यवस्थित हुने देखिन्छ।
