काठमाडौं। चीनको बाह्य व्यापारमा तीव्र वृद्धि देखिएको छ। सन् २०२६ का पहिलो सात महिनामा चीनको वस्तु आयात–निर्यात ३०.१३ ट्रिलियन युआन पुगेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा १७.३ प्रतिशत बढी हो।
चीनले अगस्ट ७ मा सार्वजनिक गरेको तथ्यांकअनुसार उक्त अवधिमा निर्यात १४ प्रतिशत र आयात २२ प्रतिशतले बढेको छ। जुलाईमा उच्च प्रविधियुक्त उत्पादनको निर्यात वृद्धि दर मात्रै ५० प्रतिशतभन्दा माथि पुगेको जनाइएको छ।
चिनियाँ जन विश्वविद्यालयका प्राध्यापक वाङ श्याउसुङका अनुसार चीनको पूर्ण औद्योगिक प्रणाली, ठूलो उत्पादन क्षमता, विशाल घरेलु बजार र बढ्दो नवप्रवर्तनले बाह्य व्यापारलाई बल दिएको छ। खुलापन विस्तार गर्ने नीतिले समेत व्यापार वृद्धिमा सहयोग पुर्याएको उनको भनाइ छ।
चीनले उत्पादन केन्द्रका रूपमा मात्र नभई विश्वकै ठूलो बजारमध्ये एकका रूपमा आफ्नो भूमिका विस्तार गरिरहेको छ। हालसम्म ६३ देशबाट आयात हुने वस्तुमा शून्य भन्सार नीति लागू गरिएको तथा चीनको आयात लगातार १७ वर्षदेखि विश्वको दोस्रो ठूलो रहेको जनाइएको छ।
यसै वर्ष बेलारुस, जर्मनी, बेलायत र थाइल्यान्डलगायत देशमा ‘चीनतर्फ आयात’ प्रवर्द्धन कार्यक्रम आयोजना गरिएका छन्। यसले विदेशी उत्पादनलाई चिनियाँ बजारमा प्रवेश गर्ने थप अवसर दिएको बताइएको छ।
चीनको बाह्य व्यापारलाई अर्थतन्त्रको जीवन्तता मापन गर्ने महत्वपूर्ण सूचकका रूपमा हेरिएको छ। पछिल्लो व्यापार वृद्धिले चिनियाँ अर्थतन्त्रको संरचनात्मक सुधार, नयाँ वृद्धि क्षेत्रको विस्तार र दीर्घकालीन स्थायित्वको आधार कायम रहेको संकेत गरेको दाबी गरिएको छ।
यसैबीच, अन्तर्राष्ट्रिय मुद्रा कोष र ड्युश बैंकलगायत संस्थाले सन् २०२६ का लागि चीनको आर्थिक वृद्धिको प्रक्षेपणसमेत बढाएका छन्। सन् २०२६ को पहिलो अर्धवार्षिकमा करिब ४,८०० विदेशी लगानीकर्ताले चीनमा आफ्नो लगानी बढाएको तथ्यांकले समेत लगानीकर्ताको विश्वास कायम रहेको संकेत गरेको छ।
आगामी महिनाहरूमा चीन अन्तर्राष्ट्रिय सेवा व्यापार मेला, चीन अन्तर्राष्ट्रिय लगानी तथा व्यापार मेला र नोभेम्बरमा नवौँ चीन अन्तर्राष्ट्रिय आयात एक्स्पोलगायत ठूला व्यापारिक कार्यक्रम आयोजना हुँदैछन्। चीनले यस्ता कार्यक्रममार्फत आफ्नो बजारलाई थप खुला गर्दै विश्वका व्यापारिक साझेदारसँग सहकार्य विस्तार गर्ने नीति अघि बढाएको छ।
