सन् १९८४ को सुरुआत
अमेरिकाको सिकागोमा एउटा स्थानीय बिहानको टेलिभिजन कार्यक्रम लगभग असफलताको अन्तिम चरणमा थियो। कार्यक्रमको नाम थियो-‘एएम सिकागो’।
दर्शक संख्या कमजोर थियो। कार्यक्रम स्थानीय टेलिभिजन बजारको पुछारमा थियो। त्यसलाई सम्हाल्ने जिम्मेवारी दिइयो-ओप्रा गेल विन्फ्रेलाई।
त्यो निर्णय सामान्य टेलिभिजन नियुक्तिजस्तो देखिन्थ्यो।तर त्यही निर्णयले केही वर्षपछि अमेरिकी मिडिया उद्योगको शक्ति सन्तुलन बदल्ने थियो।
विन्फ्रेले कार्यक्रमलाई समाचार पढ्ने औपचारिक शैलीमा चलाइनन्। उनले मानिसलाई बोल्न दिइन्। उनीहरूको व्यक्तिगत कथा सुनिन्। दुःख, सम्बन्ध, परिवार, हिंसा, गरिबी, जातीय विभेद र जीवनका असहज विषयलाई टेलिभिजनको केन्द्रमा ल्याइन्।
एक वर्षभित्र ‘एएम सिकागो’ स्थानीय रेटिङमा पहिलो स्थानमा पुग्यो। त्यहाँबाट एउटा कार्यक्रमको यात्रा सुरु भयो-‘द ओप्रा विन्फ्रे शो’सम्म।
पीडादायी बाल्यकाल सुरु भएको जीवन
ओप्रा विन्फ्रेको जन्म २९ जनवरी १९५४ मा अमेरिकाको मिसिसिपी राज्यको कोसियस्कोमा भएको थियो। आमाबुबाले सम्बन्ध विच्छेद गरेपछि उनको बाल्यकालको ठूलो समय हजुरआमासँग बित्यो।
मिसिसिपीको कोसियुस्कोस्थित गरिब ग्रामीण फार्ममा गरिब परिवेशमा हुर्किएकी ओप्राको बाल्यकालमा घरभित्रका आधारभूत सुविधा पनि पर्याप्त थिएनन्।
उनी विद्यालयमा उत्कृष्ट विद्यार्थी बनिन्। वक्तृत्व र बहसमा चम्किइन्। छात्रवृत्ति पाइन्। टेनेसी स्टेट युनिभर्सिटीमा अध्ययन गर्ने अवसर पाइन्।
तर उनको वास्तविक करिअर कक्षाकोठाभन्दा बाहिर सुरु भइसकेको थियो।
१९ वर्षमै टेलिभिजनको ढोका
सन् १९७० को दशक अमेरिकी केबल टेलिभिजनका लागि उत्थानको युग थियो-त्यस्तो समय, जब दशकौँदेखि तीन ठूला प्रसारण सञ्जालको पकडमा रहेको टेलिभिजन बजारमा प्रविधि, पुँजी र उद्यमशीलताले नयाँ खेल सुरु गरिरहेका थिए ।
१९ वर्षको उमेरमा ओप्राले न्यासभिलको डब्लुएलएसी-टिभीमा टेलिभिजन समाचार वाचकको काम पाइन्।
त्यतिबेला उनी अमेरिकी टेलिभिजन उद्योगमा प्रवेश गर्ने केही अश्वेत महिलामध्ये एक थिइन्।
तर समाचार वाचनको औपचारिक अनुशासन उनको स्वभावसँग पूर्ण रूपमा मेल खाएन। उनी समाचार पढ्दा पनि घटनाभन्दा मानिसमा बढी केन्द्रित हुन्थिन्।
सिकागोमा कार्यक्रमको जिम्मेवारी
सन् १९८४ मा सिकागोको एबीसी सम्बद्ध डब्लुएलएस-टिभीले उनलाई ‘एएम सिकागो’ सञ्चालन गर्ने जिम्मेवारी दियो।
कार्यक्रम अन्तिम स्थानमा थियो। ओप्रा आएपछि परिस्थिति उल्टियो।
केवल एक वर्षभित्र कार्यक्रम स्थानीय रेटिङको शीर्षमा पुग्यो। यो सफलता टेलिभिजन उद्योगका लागि संकेत थियो-ओप्रा केवल प्रस्तोता होइनन्, उनी दर्शक निर्माण गर्न सक्ने व्यक्ति हुन्।
सन् १९८६ मा कार्यक्रम राष्ट्रिय रूपमा विस्तार भयो। नाम परिवर्तन भयो-‘द ओप्रा विन्फ्रे शो’।

मानवीय कथामा केन्द्रीत ओप्राको सबैभन्दा ठूलो आविष्कार
ओप्राले बुझिन् कि दर्शकलाई समाचार वा मनोरञ्जन मात्रले बाँध्न सकिँदैन। उनीहरूलाई आफ्नो जीवनसँग सम्बन्धित कथा चाहिन्छ।
त्यसैले कार्यक्रममा मानिसहरूले आफ्ना व्यक्तिगत कथा सुनाउन थाले। घरेलु हिंसा। यौन दुर्व्यवहार। गरिबी।सम्बन्ध। मातृत्व। स्वास्थ्य। जातीय विभेद। व्यक्तिगत असफलता।
यी विषय पहिले टेलिभिजनमा असहज मानिन्थे। ओप्राले तिनलाई मुख्यधाराको सामग्री बनाइन्।
टिभी कार्यक्रमबाट ओप्रा प्रभाव!
ओप्राले एउटा सफल कार्यक्रममै आफूलाई सीमित गरिनन्। सन् १९९६ मा उनले ओप्राज बुक क्लब सुरु गरिन्।
कुनै पुस्तक ओप्राले छनोट गरिदिएपछि त्यसको बिक्रीमा अचानक ठूलो उछाल आउन थाल्यो। यसले एउटा नयाँ शक्ति जन्मायो-ओप्रा प्रभाव।
उनको सिफारिस आफैंमा बजार थियो।
४९ वर्षमै अर्बपति
सन् २००३। ओप्रा ४९ वर्षकी थिइन्। त्यही वर्ष उनी अर्बपति बनिन्।
यो उपलब्धि केवल टेलिभिजनबाट कमाएको पैसाको परिणाम थिएन। यसको पछाडि थियो-स्वामित्व, सामग्री, वितरण, ब्रान्ड र विविध आम्दानी स्रोतको संयोजन।
उनको सम्पत्ति बढ्दै जाँदा व्यवसाय पनि फैलिँदै गयो।
हार्पो प्रोडक्सन्स। टेलिभिजन। चलचित्र। पत्रिका। पुस्तक क्लब। वेबसाइट। रेडियो। ब्रान्ड साझेदारी।पछि आफ्नै टेलिभिजन नेटवर्क।
‘द ओप्रा विन्फ्रे शो’ अन्त्य, ब्रान्डको होइन
सन् २०११ मा ‘द ओप्रा विन्फ्रे शो’ २५ वर्षपछि बन्द भयो।
अमेरिकाको टेलिभिजन इतिहासकै सबैभन्दा सफल डे-टाइम टक शोमध्ये एकको अन्त्य भयो। तर ओप्राको व्यवसायिक यात्रा रोकिएन।
बरु उनी एउटा महत्त्वपूर्ण प्रयोगतर्फ लागिन्। ओप्रा विन्फ्रे नेटवर्क-ओडब्लुएन।
अब उनी कार्यक्रमकी प्रस्तोता मात्र होइनन्। उनी नेटवर्ककी प्रमुख कार्यकारी बनिन्।
१० प्रतिशत हिस्साले फेरि बजार हल्लायो
ओप्राको व्यवसायिक शक्ति मिडियामा मात्र सीमित थिएन। सन् २०१५ मा उनले वेट वाचर्स इन्टरनेसनलमा १० प्रतिशत हिस्सेदारी किनिन्।
उनी कम्पनीकी प्रवक्ता पनि बनिन्।
एक चर्चित मिडिया व्यक्तित्वको नाम उपभोक्ता सदस्यता व्यवसायसँग जोडिँदा कम्पनीको बजार मूल्यमा ठूलो प्रभाव देखियो।
पुरस्कारभन्दा ठूलो प्रभाव
ओप्राको करिअरमा पुरस्कारको सूची लामो छ। उनले १८ डे-टाइम एमी अवार्ड, दुई प्राइमटाइम एमी, टोनी अवार्ड, पिबडी अवार्ड र मानवतावादी सम्मान प्राप्त गरेकी छन्।
सन् २०१३ मा राष्ट्रपति बराक ओबामाबाट प्रेसिडेन्सियल मेडल अफ फ्रिडम प्राप्त गरिन्।
ओप्रा विन्फ्रेको प्रभावबारे सन् २०१२ मा अमेरिकी राष्ट्रपति बराक ओबामाले “असल साथी” भन्दै भनेका थिए-“जब ओप्राले तपाईंलाई मन पराउँछिन्, अरू मानिसले पनि तपाईंलाई मन पराउँछन्।”
व्यापारको अर्को नियम: एउटै आम्दानीमा निर्भर नहुनु
ओप्राको साम्राज्यको सबैभन्दा महत्त्वपूर्ण व्यवसायिक पाठमध्ये एक हो-विविधीकरण।
टेलिभिजन कार्यक्रमबाट सुरु भएको ब्रान्ड पुस्तक बिक्रीसम्म पुग्यो। पुस्तकबाट पत्रिका। पत्रिकाबाट डिजिटल। डिजिटलबाट रेडियो। मिडियाबाट टेलिभिजन नेटवर्क। व्यक्तिगत ब्रान्डबाट उपभोक्ता व्यवसायमा हिस्सेदारी।
यो विस्तार अनियन्त्रित थिएन। प्रत्येक नयाँ व्यवसाय उनको मूल सम्पत्ति-दर्शकको विश्वास-सँग जोडिएको थियो।
विश्वासलाई पैसामा बदल्ने कला
ओप्राको सबैभन्दा ठूलो व्यवसायिक सम्पत्ति उनको कम्पनीको कार्यालय वा टेलिभिजन स्टुडियो होइन। त्यो उनको दर्शकसँगको सम्बन्ध हो।
विज्ञापनदाताले दर्शक किन्न सक्छन्। तर विश्वास किन्न सक्दैनन्।
ओप्राले दशकौँ लगाएर त्यो विश्वास निर्माण गरिन्।
उनको कार्यक्रमले मानिसको निजी जीवनलाई सार्वजनिक संवादमा ल्यायो। त्यही संवादले समुदाय बनायो। समुदायले दर्शक बनायो। दर्शकले ब्रान्ड बनाए। ब्रान्डले व्यवसाय बनायो। र व्यवसायले सम्पत्ति।
४० करोड डलरभन्दा बढी परोपकार
अर्बपति बनेपछि ओप्राले आफ्नो सम्पत्तिको ठूलो हिस्सा सामाजिक क्षेत्रमा लगानी गरिन्।
सन् १९८७ मा स्थापना गरिएको ओप्रा विन्फ्रे फाउन्डेसनले महिला, बालबालिका र परिवारको शिक्षा, सुरक्षा तथा सशक्तीकरणमा काम गर्ने संस्थालाई सहयोग गर्दै आएको छ।
उच्च शिक्षामा उनले ४० करोड डलरभन्दा बढी सहयोग गरेको विवरण सार्वजनिक छ।
सन् २०२० मा कोभिड–१९ महामारीका कारण प्रभावित समुदायलाई सहयोग गर्न उनले १ करोड २० लाख डलर प्रतिबद्ध गरिन्।
ओप्राको व्यवसायिक ब्लुप्रिन्ट
ओप्रा विन्फ्रेको यात्रालाई केवल सफल प्रस्तोताको कथा मान्नु उनको वास्तविक उपलब्धिलाई सानो बनाउनु हो।
उनको साम्राज्य सातवटा स्पष्ट व्यावसायिक सिद्धान्तमा उभिएको देखिन्छ।
पहिलो—विश्वास।
उनले दर्शक जम्मा गरिनन्, सम्बन्ध निर्माण गरिन्।
दोस्रो—सामग्री।
कथा, अन्तर्वार्ता, पुस्तक र व्यक्तिगत अनुभवलाई उनले ध्यान तान्ने मात्र होइन, मूल्य सिर्जना गर्ने बौद्धिक सम्पत्ति बनाए।
तेस्रो—स्वामित्व।
उनको निर्णायक मोड प्रस्तोता हुनुबाट उत्पादक बन्नु थियो।
चौथो—विविधीकरण।
टेलिभिजनपछि पत्रिका, डिजिटल माध्यम, पुस्तक, रेडियो, चलचित्र र आफ्नै टेलिभिजन नेटवर्कसम्म उनको विस्तार भयो।
पाँचौँ—प्रामाणिकता।
उनको सबैभन्दा कठिन प्रतिस्पर्धात्मक लाभ कुनै प्रविधि वा पूँजी थिएन—उनको आवाज, सहानुभूति र मानिससँग भावनात्मक सम्बन्ध बनाउने शैली थियो।
छैटौँ—साझेदारी।
उनले आफ्नो पहुँचलाई ठूला कम्पनी, निर्माता र ब्रान्डसँग जोडिन्।
सातौँ—दीर्घकालीन सोच।
सन् २०११ मा द ओप्रा विन्फ्रे शो बन्द हुँदा एउटा टेलिभिजन कार्यक्रमको अन्त्य भयो, तर ओप्राको व्यवसाय समाप्त भएन।
गरिबीले सिकाएको पाठ
ओप्राको जीवनलाई केवल ‘गरिबीबाट अर्बपति’ भन्ने शीर्षकमा सीमित गर्नु सजिलो हुन्छ। तर त्यसले उनको व्यवसायिक यात्राको वास्तविक जटिलता छोप्छ।
गरिबीले उनलाई अर्बपति बनाएको होइन। दुःखले पनि होइन।
उनको सफलता धेरै दुर्लभ परिस्थितिको मिश्रण थियो-प्रतिभा, अवसर, शिक्षा, सार्वजनिक बोल्ने क्षमता, सही समयमा सही माध्यम भेटिनु, जोखिम लिन सक्नु र सबैभन्दा महत्त्वपूर्ण, आफ्नै प्रभावमाथि स्वामित्व कायम गर्न सक्नु।
नयाँ उद्यमीका लागि पाठ
आजको डिजिटल अर्थतन्त्रमा व्यक्तिगत ब्रान्ड बनाउन पहिलेभन्दा सजिलो छ।
युट्युब, टिकटक, पडकास्ट, इन्स्टाग्राम वा न्युजलेटर-मोबाइलको एउटा स्क्रिनबाटै जोकोहीले लाखौँ मानिससम्म पुग्न सक्छ।
तर ओप्रा विन्फ्रेको कथा पहुँच बनाउनेभन्दा धेरै ठूलो पाठ हो।
दर्शक जम्मा गर्नु मात्र पर्याप्त हुँदैन; दर्शकको विश्वास जित्नुपर्छ।
सामग्री उत्पादन गर्नु मात्र पर्याप्त हुँदैन; त्यस सामग्री वरिपरि स्वामित्व, वितरण र आम्दानीको दिगो मोडल निर्माण गर्नुपर्छ।
लोकप्रिय हुनु उपलब्धि हुन सक्छ, तर लोकप्रियतालाई संस्थामा बदल्नु उद्यमशीलता हो।
एउटा नाम कसरी उद्योग बन्यो ?
ओप्रा विन्फ्रे आज केवल टेलिभिजन प्रस्तोता होइनन्।
उनी मिडिया कम्पनीकी कार्यकारी हुन्। निर्माता हुन्। अभिनेत्री हुन्। लेखक हुन्। प्रकाशक हुन्। लगानीकर्ता हुन्। परोपकारी हुन्। र सबैभन्दा महत्त्वपूर्ण-आफ्नो नामलाई व्यवसायिक सम्पत्तिमा बदल्ने दुर्लभ उद्यमी हुन्।
उनको सम्पत्ति ३ अर्ब डलरभन्दा माथि पुगेको छ। तर त्यो सम्पत्तिको सुरुआत करोडौँ डलरको लगानीबाट भएको थिएन।
त्यो एउटा गरिब मिसिसिपी बालिकाबाट सुरु भएको थियो।
ओप्राको सबैभन्दा ठूलो सम्पत्ति
ओप्राको सम्पत्ति केवल ३ अर्ब डलर होइन।
टेलिभिजन, हार्पो नेटवर्क, पत्रिका वा दशकौँको प्रसिद्धि? सायद तीमध्ये कुनैपनि होइन।
क्यालिफोर्नियादेखि हवाईसम्म फैलिएका उनका विशाल घरजग्गा, निजी सम्पत्ति र लगानीले उनको अरबौँ डलरको सम्पत्तिको ठूलो हिस्सा त ओगट्छन् तर उनको सबैभन्दा मूल्यवान सम्पत्ति भौतिक घरजग्गाभन्दा पनि आफ्नो नाम, दर्शकको विश्वास र त्यसबाट निर्माण गरेको मिडिया साम्राज्य हो।
उनको सबैभन्दा ठूलो सम्पत्ति थियो-मानिसलाई आफूले सुनेको महसुस गराउने क्षमता पनि हो।
ओप्राले भनेकी छन् “तपाईंले लिन सक्ने सबैभन्दा ठूलो साहसिक यात्रा आफ्ना सपनाको जीवन बाँच्नु हो।”
उनको आफ्नै जीवन त्यो वाक्यको सबैभन्दा बलियो प्रमाण हो।
मिसिसिपीको गरिब खेतबाट सुरु भएको यात्रा सिकागोको टेलिभिजन स्टुडियो हुँदै अमेरिकी मिडियाको केन्द्रमा पुग्यो।
त्यहाँबाट एउटा कार्यक्रमले करोडौँ मानिसको जीवन छोयो। त्यो प्रभावले कम्पनी जन्मायो। कम्पनीले सम्पत्ति बनायो।सम्पत्तिले परोपकारको बाटो खोल्यो।
र ओप्राको सफलता एउटा प्रश्नमा आएर रोकिन्छ-व्यवसायले तपाईंलाई कति धनी बनायो भन्नेभन्दा, तपाईंले आफ्नो प्रभावलाई कति ठूलो सम्पत्तिमा बदल्न सक्नुभयो?
ओप्रा विन्फ्रेको उत्तर स्पष्ट छ। उनले आफ्नो आवाजलाई दर्शकमा, दर्शकलाई विश्वासमा, विश्वासलाई व्यवसायमा र व्यवसायलाई विरासतमा बदलिन्।
