काठमाडौं। रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका भनिएका मानिसको उद्धारका लागि सुरुङको प्रवेशद्वार खोल्ने काम तीव्र पारिएको छ।
दुई दिनदेखि सुरुङको मुख खोल्ने प्रयास भइरहेकामा शनिबार बिहानैदेखि लेदो र भग्नावशेष हटाउने कामलाई थप गति दिइएको हो।
टनेलभित्र मानिस फसेको सूचना आएपछि सुरक्षाकर्मीको उद्धार टोली परिचालन गरिएको छ। सुरुङको मुख खोतल्दै खोजी तथा उद्धारलाई तीव्र बनाउन नेपाली सेनाका ६२ तथा सशस्त्र प्रहरी र नेपाल प्रहरीका २० गरी ८२ जनाको संयुक्त टोली खटिएको छ।
प्रतिकूल मौसम र सुरुङमा जमेको लेदो तथा भग्नावशेषका कारण उद्धार कार्य चुनौतीपूर्ण बनेको छ।
यसैबीच, उद्धार सहयोगका लागि आएको भारतीय टोली त्रिशूली पुगेको छ। टोलीले हेलिकप्टरमार्फत चिलिमे र लाङटाङ क्षेत्रको प्रारम्भिक हवाई अनुगमन गरी आवश्यकताअनुसार थप उद्धार अभियान अघि बढाउने तयारी गरेको छ।
