नोभेम्बर ३०, २०२२।
कोभिड महामारीको छायाबाट संसारभरका मानिसहरू पुरानै सामान्य जीवनमा फर्किंदै थिए। त्यही बेला ओपनएआईले इन्टरनेटमा एउटा नयाँ उत्पादन चुपचाप सार्वजनिक गर्यो।
न कुनै ठूलो मञ्च, न विज्ञापनको कोलाहल-केवल एउटा नाम: च्याटजीपीटी।
पहिलोपटक प्रयोग गर्नेहरूलाई यसले अचम्मित बनायो। उसले प्रश्न बुझ्थ्यो, उत्तर दिन्थ्यो, लेख्थ्यो, कोड बनाउँथ्यो र विचारलाई आकार दिन्थ्यो। त्यसको वास्तविक शक्ति भने प्रयोग बढ्दै जाँदा देखियो।
केही महिनामै च्याटजीपीटी एउटा प्रविधि उत्पादनबाट विश्वव्यापी आर्थिक घटनामा बदलियो। यसले मानिसलाई एआई कति शक्तिशाली छ भनेर मात्र देखाएन; एआईले अर्थतन्त्र कति छिटो बदल्न सक्छ भन्ने पनि देखायो।
विद्यालयदेखि कार्यालयसम्म, सफ्टवेयर कम्पनीदेखि सञ्चारमाध्यमसम्म, बैंकदेखि अनुसन्धान संस्थासम्म एउटै प्रश्न फैलियो-जब मेसिनले ज्ञानमा आधारित काम गर्न सक्छ भने मानिसको काम के हुन्छ?
च्याटजीपीटीले केवल एउटा नयाँ उत्पादन सार्वजनिक गरेको थिएन। यसले प्रविधि उद्योगको अर्को ठूलो प्रतिस्पर्धाको सुरुवात गरिसकेको थियो।
आज च्याटजीपीटीको मासिक प्रयोगकर्ता संख्या एक अर्बको तह पार गरिसकेको छ। सन् २०२६ को अगस्टसम्म च्याटजीपीटी र गुगलको जेमिनी दुवैले एक अर्ब प्रयोगकर्ता पार गरेका छन्। केही वर्षअघि मात्रै सार्वजनिक भएको उत्पादनले यस्तो विस्तार गर्नु प्रविधि उद्योगमा असाधारण गति हो।
ओपनएआईको सफलता केवल धेरै प्रयोगकर्ता जम्मा गरेको कथा होइन। यसको असली खेल कम्प्युटिङ शक्ति, डाटा, अनुसन्धानकर्ता, चिप, विद्युतीय ऊर्जा, डाटा सेन्टर र अर्बौँ डलरको पुँजीलाई एउटै व्यापारिक संरचनामा बाँध्ने क्षमतामा छ। र यही ठाउँमा ओपनएआईको कथा रोचक मात्र होइन, व्यापारका लागि महत्वपूर्ण पनि बन्छ।
सुरुआतको लक्ष्य
ओपनएआई आजको विशाल प्रविधि कम्पनी बन्ने योजनाबाट जन्मिएको थिएन। यसको सुरुआत एउटा असहज प्रश्नबाट भएको थियो- कृत्रिम बुद्धिमत्ता एक दिन मानिसभन्दा शक्तिशाली भयो भने, त्यसको शक्ति कसको हातमा हुनेछ?
सन् २०१५ मा सिलिकन भ्याली एआईको सम्भावनाले उत्साहित थियो तर यसको जोखिमबारे पनि चिन्ता बढ्दै थियो। एआई अझै प्रयोगशाला र अनुसन्धानपत्रको विषय थियो; च्याटबोट, स्वचालित कोड लेखन वा करोडौँ मानिसले दैनिक प्रयोग गर्ने एआई सेवाको कल्पना धेरै टाढाको कुरा थियो।
त्यही समयमा केही प्रविधि उद्यमी र अनुसन्धानकर्ताले असामान्य गठबन्धन बनाए।
डिसेम्बर २०१५ मा साम अल्टम्यान, इलोन मस्क, इल्या सुत्स्केभर, ग्रेग ब्रकम्यान, ट्रेभर ब्ल्याकवेल, भिकी च्युङ, आन्द्रे कार्पाथी, डर्क किङ्मा, जोन शुलम्यान, पामेला भगाटा र वोइचेक जारेम्बासहितको समूहले ओपनएआईलाई गैरनाफामूलक अनुसन्धान संस्थाका रूपमा स्थापना गर्यो।
अल्टम्यान र मस्क सह-अध्यक्ष बने। ग्रेग ब्रोकम्यान, इल्या सुत्स्केभरसहितका अनुसन्धानकर्ता र इन्जिनियरहरू टोलीमा जोडिए। संस्थापक समूहमा एन्ड्रेज कार्पाथी, जोन शुल्म्यान, वोज्चिएख जारेम्बालगायतका नाम थिए।
सुरुआती चरणमा संस्थाले परम्परागत प्रविधि कम्पनीभन्दा अनुसन्धान प्रयोगशालाको चरित्र बोकेको थियो। उसले तत्काल आम्दानीभन्दा प्रतिभा, अनुसन्धान र दीर्घकालीन उद्देश्यलाई प्राथमिकता दियो।
संस्थापकहरूले ठूलो आर्थिक प्रतिबद्धताको घोषणा पनि गरे। मस्क, अल्टम्यान, ब्रकम्यान, रिड हफम्यान, जेसिका लिभिङ्स्टन, पिटर थिल, अमेजन वेब सर्भिसेज र इन्फोसिसलगायतबाट कुल १ अर्ब अमेरिकी डलर बराबरको पुँजी प्रतिबद्धता गरिएको थियो। ओपनएआईको पहिलो घोषणा आजको दृष्टिले असाधारण रूपमा महत्वाकांक्षी थियो।
संस्था स्वयंले आफ्नो उद्देश्यलाई “मानवताको समग्र हितमा सबैभन्दा बढी फाइदा पुर्याउने तरिकाले डिजिटल बुद्धिमत्तालाई अघि बढाउने” भनेर परिभाषित गरेको थियो। त्यो अनुसन्धान वित्तीय प्रतिफल कमाउने बाध्यताबाट मुक्त हुने भनिएको थियो।
कागजमा घोषणा गरिएको १ अर्ब डलर र वास्तविक रूपमा संस्थामा आएको रकम एउटै थिएन। करसम्बन्धी विवरणअनुसार सन् २०२१ सम्म ओपनएआईले वास्तवमा करिब १३ करोड ३० लाख डलर मात्र प्राप्त गरेको थियो।
त्यो समयको ओपनएआईसँग न उत्पादन थियो, न व्यावसायिक आम्दानी, न विशाल पूर्वाधार। थियो त एउटा विचार-यदि एआई साँच्चै शक्तिशाली बन्दैछ भने, त्यसको विकास सुरुदेखि नै मानवहितको दिशामा धकेल्नुपर्छ। तर यहीँ एउटा विडम्बना लुकेको थियो।
जति शक्तिशाली एआई बनाउने लक्ष्य थियो, त्यसका लागि त्यति नै शक्तिशाली कम्प्युटिङ चाहिन्थ्यो। सुरुमा ओपनएआईका अगुवाहरुको विश्वास थियो कि एआईको प्रगति मुख्यतः उत्कृष्ट अनुसन्धानकर्ता र नयाँ विचारबाट आउनेछ; सुपरकम्प्युटिङ पूर्वाधारको आकार त्यति निर्णायक नहुन सक्छ।
पछि संस्थाले नै स्वीकार गर्यो-यो अनुमान गलत साबित भयो। अत्याधुनिक एआईका लागि कम्प्युटिङ क्षमता निरन्तर बढाउनुपर्ने रहेछ। त्यो परिवर्तनले ओपनएआईको भविष्यको सबैभन्दा ठूलो प्रश्न जन्मायो।
राम्रो अनुसन्धान गर्ने संस्था भएर पुग्छ कि एआईको नयाँ युग निर्माण गर्न प्रविधि र पुँजी दुवैमा विशाल शक्ति चाहिन्छ? यसबीच संस्थापकहरूबीच पनि सबै विषयमा एउटै दृष्टिकोण थिएन।
इलोन मस्क एआईको सम्भावित जोखिमप्रति अत्यन्त चिन्तित थिए र गुगलको दीपमाइन्डजस्तो शक्तिशाली प्रतिद्वन्द्वी आवश्यक रहेको धारणा राख्थे। अर्कोतर्फ, अनुसन्धान टोलीको प्राथमिकता अत्याधुनिक एआई अनुसन्धानलाई स्वतन्त्र रूपमा अघि बढाउनु थियो।
यो मतभेद पछि संरचनाको प्रश्नमा पुग्यो-ओपनएआई गैरनाफामूलक नै रहने कि ठूलो पुँजी जुटाउन नाफामूलक संरचना पनि बनाउने? सन् २०१७-१८ मा मस्क र ओपनएआई नेतृत्वबीच यस विषयमा गम्भीर छलफल भयो।
ओपनएआईका अनुसार मस्कले बहुमत स्वामित्व, बोर्ड नियन्त्रण र प्रमुख कार्यकारीको भूमिका चाहेका थिए। उनले ओपनएआईलाई टेस्लासँग गाभ्ने प्रस्तावसमेत गरेका थिए। वार्ता सहमतिमा पुग्न सकेन र मस्क सन् २०१८ को सुरुआतमा ओपनएआईबाट बाहिरिए।
त्यो समय मस्कको एउटा टिप्पणी आज फर्केर हेर्दा भविष्यवाणीजस्तै सुनिन्छ। उनले ओपनएआईलाई “गुगलको तुलनामा निश्चित असफलताको बाटोमा” रहेको बताएका थिए र तत्काल ठूलो कदम नचाले गुगलसँग प्रतिस्पर्धा गर्न अरू सबै अप्रासंगिक हुने चेतावनी दिएका थिए।
अझ रोचक कुरा, केही महिनापछि उनले नै अर्को यथार्थ औँल्याए-सयौँ मिलियन डलर पर्याप्त हुने छैन; यसका लागि हरेक वर्ष अर्बौँ डलर चाहिन्छ। यही बिन्दुमा ओपनएआईको प्रारम्भिक आदर्श र भविष्यको व्यवसायबीचको दूरी स्पष्ट हुन थाल्यो।
सन् २०१९ मा संस्थाले सीमित प्रतिफलसहितको नाफामूलक संरचना बनायो। उद्देश्य स्पष्ट थियो-ठूला एआई मोडेल निर्माण गर्न आवश्यक पुँजी जुटाउनु।
त्यसबेला ओपनएआईसँग कुनै ठूलो उपभोक्ता उत्पादन थिएन। तर उसले एउटा कुरा बुझिसकेको थियो-एआईको प्रतिस्पर्धामा उत्कृष्ट विचार मात्र पर्याप्त छैन।
हजारौँ शक्तिशाली चिप, विशाल डाटा सेन्टर, ऊर्जा, क्लाउड पूर्वाधार, उच्चस्तरीय अनुसन्धानकर्ता र निरन्तर बढ्दो कम्प्युटिङ क्षमता चाहिन्छ।
एआईको दौड प्रयोगशालाबाट निस्केर पुँजी बजार र औद्योगिक पूर्वाधारको दौडमा प्रवेश गरिसकेको थियो। र त्यस परिवर्तनसँगै ओपनएआईको चरित्र पनि बदलियो।
सुरुमा प्रश्न थियो-मानवताको हितमा एआई कसरी बनाउने? अब अर्को प्रश्न थपियो-त्यसका लागि आवश्यक अर्बौँ डलर कहाँबाट ल्याउने? यही दुई प्रश्नको बीचबाट ओपनएआईको वास्तविक व्यावसायिक यात्रा सुरु भयो।
माइक्रोसफ्ट : निर्णायक साझेदार
ओपनएआईको इतिहासमा माइक्रोसफ्टसँगको साझेदारी सबैभन्दा निर्णायक मोडमध्ये एक हो। सन् २०१९ देखि सुरु भएको सहकार्य क्रमशः अनुसन्धान साझेदारीबाट ठूलो व्यापारिक गठबन्धनमा परिणत भयो।
माइक्रोसफ्टले ओपनएआईमा ठूलो लगानी गर्यो र आफ्नै क्लाउड पूर्वाधारमार्फत ओपनएआईलाई आवश्यक कम्प्युटिङ शक्ति उपलब्ध गरायो। यसले दुवै कम्पनीलाई फरक फाइदा दियो।
ओपनएआईले विश्वस्तरीय एआई विकासका लागि आवश्यक पूर्वाधार पायो। माइक्रोसफ्टले भने आफ्ना उत्पादन, क्लाउड सेवा र व्यावसायिक सफ्टवेयरमा नयाँ पुस्ताको एआईलाई तीव्र गतिमा जोड्ने अवसर पायो।
२०२५ को पुनर्संरचनापछि माइक्रोसफ्टको ओपनएआईमा करिब १३५ अर्ब डलर मूल्य बराबरको लगानी कायम हुने र रूपान्तरण गरिएको आधारमा करिब २७ प्रतिशत हिस्सेदारी हुने घोषणा गरिएको थियो।
तर यो सम्बन्ध पनि स्थिर रहेन। २०२६ मा भएको संशोधित सम्झौताले दुवै कम्पनीलाई पहिलेभन्दा बढी स्वतन्त्रता दिएको छ। माइक्रोसफ्ट अझै ओपनएआईको प्रमुख क्लाउड साझेदार हो, तर ओपनएआईले अन्य क्लाउड प्रदायकमार्फत पनि आफ्ना उत्पादन ग्राहकसम्म पुर्याउन सक्ने भएको छ।
माइक्रोसफ्टको ओपनएआई प्रविधिमाथिको इजाजतपत्र पनि २०३२ सम्म कायम रहनेछ, तर अब गैरविशेष हुनेछ। ओपनएआई अब एउटा साझेदारको पूर्वाधारमा निर्भर अनुसन्धान संस्था मात्र रहन चाहँदैन। ऊ आफ्नै पूर्वाधार, आफ्नै पुँजी र आफ्नै व्यापारिक शक्ति निर्माण गर्न खोजिरहेको छ।
च्याटजीपीटी : उत्पादन जसले नियम नै बदल्यो
ओपनएआईको विश्वव्यापी उछालको वास्तविक क्षण भने च्याटजीपीटी थियो। च्याटजीपीटीले नयाँ प्रविधि मात्र सार्वजनिक गरेन। यसले अत्याधुनिक एआईलाई अनुसन्धानकर्ताको प्रयोगशालाबाट निकालेर आम मानिसको हातमा पुर्यायो।
पहिले एआई प्रयोग गर्न प्राविधिक ज्ञान आवश्यक थियो। च्याटजीपीटीले त्यो बाधा हटाइदियो। प्रयोगकर्ताले केवल प्रश्न लेख्यो। मेसिनले उत्तर दियो।
त्यो सरल अन्तरक्रियाले सम्पूर्ण उद्योगको अर्थशास्त्र बदल्यो। एआई अब सफ्टवेयरभित्र लुकेको एउटा सुविधा रहेन। एआई आफैं एउटा उत्पादन बन्यो। यही कारण च्याटजीपीटीको वृद्धि सामान्य प्रविधि उत्पादनको वृद्धि थिएन। यसको प्रभाव खोज इन्जिन, कार्यालय सफ्टवेयर, शिक्षा, ग्राहक सेवा, प्रोग्रामिङ, डिजाइन, अनुसन्धान र सञ्चारसम्म फैलियो।
२०२६ सम्म आइपुग्दा च्याटजीपीटी एक अर्ब प्रयोगकर्ताको तहमा पुग्नु त्यसको विस्तारको आकार बुझाउने सबैभन्दा ठूलो संकेत हो। तर प्रयोगकर्ता संख्या आफैंमा व्यापारिक सफलता होइन। ओपनएआईको वास्तविक चुनौती थियो-यी प्रयोगकर्ताबाट कसरी दीर्घकालीन आम्दानी गर्ने?
प्रयोगकर्ता धेरै, खर्च पनि असाधारण
एआई कम्पनीको अर्थशास्त्र परम्परागत प्रविधि कम्पनीभन्दा फरक छ। सामान्य सामाजिक सञ्जालमा नयाँ प्रयोगकर्ता थप्दा अतिरिक्त लागत तुलनात्मक रूपमा कम हुन सक्छ। तर एआई सेवामा प्रत्येक प्रश्नले कम्प्युटिङ शक्ति प्रयोग गर्छ। प्रयोगकर्ता बढ्छन्। प्रश्न बढ्छन्। उत्तर बढ्छन्। र त्यससँगै चिप, डाटा सेन्टर, ऊर्जा र गणनाको खर्च पनि बढ्छ।
त्यसैले ओपनएआईको सफलता केवल राजस्वको वृद्धिले मापन हुँदैन। उसले कति ठूलो कम्प्युटिङ पूर्वाधार निर्माण गर्न सक्छ र त्यसलाई कति प्रभावकारी रूपमा आम्दानीमा बदल्न सक्छ भन्ने प्रश्न अझ महत्वपूर्ण हुन्छ।
२०२५ को पहिलो छ महिनामै ओपनएआईले करिब ४.३ अर्ब डलर राजस्व गरेको रिपोर्ट आएको थियो—अघिल्लो पूरै वर्षको राजस्वभन्दा पनि बढी। सोही वर्ष कम्पनीको मूल्याङ्कन ५०० अर्ब डलर पुगेको थियो।
यो आँकडा आफैंमा एउटा विरोधाभास बोकेको छ। राजस्व तीव्र गतिमा बढिरहेको छ। तर एआईको क्षमता विस्तार गर्न आवश्यक खर्च पनि त्यही गतिमा बढिरहेको छ। यही कारण ओपनएआईको कथा परम्परागत “छिटो बढ्ने प्रविधि कम्पनी”को कथा होइन। यो अत्यन्त ठूलो पुँजी आवश्यक पर्ने प्रविधि कम्पनीको कथा हो।
५०० अर्ब डलरको कम्पनी
सन् २०२५ मा ओपनएआईको मूल्याङ्कन ५०० अर्ब डलर पुगेको रिपोर्ट आयो। कर्मचारी तथा पूर्वकर्मचारीले करिब ६.६ अर्ब डलर बराबरको सेयर बिक्री गरेको कारोबारले कम्पनीको मूल्यलाई नयाँ उचाइमा पुर्यायो।
यति ठूलो मूल्याङ्कनको आधार के थियो? उत्तर एउटै छैन।
पहिलो-च्याटजीपीटीको विशाल प्रयोगकर्ता आधार।
दोस्रो-व्यावसायिक क्षेत्रमा एआईको बढ्दो प्रयोग।
तेस्रो-ओपनएआईका मोडेलहरूलाई अन्य सफ्टवेयर तथा सेवामा प्रयोग गर्ने विकासकर्ताको ठूलो आधार।
चौथो-एआईको भविष्यमा लगानीकर्ताको असाधारण विश्वास।
र पाँचौँ-सबैभन्दा महत्वपूर्ण, अत्याधुनिक एआईको बजारमा अग्रस्थान कायम राख्ने सम्भावना। तर बजारले सम्भावनालाई मूल्य दिन्छ; कम्पनीले अन्ततः नगद प्रवाह सिर्जना गर्नुपर्छ। यहीँबाट ओपनएआईमाथिको सबैभन्दा कठिन प्रश्न सुरु हुन्छ।
सबैभन्दा महँगो समस्या : पूर्वाधार
ओपनएआईले अब केवल मोडेल बनाउने कम्पनी बन्न खोजेको छैन। उसले मोडेल चलाउने संसार पनि निर्माण गर्न खोजेको छ। यसको सबैभन्दा ठूलो उदाहरण हो-स्टारगेट। सन् २०२५ मा घोषणा गरिएको स्टारगेट परियोजनाले अमेरिकामा ओपनएआईका लागि एआई पूर्वाधार निर्माणमा चार वर्षमा ५०० अर्ब डलरसम्म लगानी गर्ने योजना अघि सारेको थियो।
प्रारम्भिक चरणमै १०० अर्ब डलर परिचालन गर्ने लक्ष्य राखिएको थियो। परियोजनामा सफ्टबैंक, ओपनएआई, ओरेकल र एमजीएक्स प्रमुख प्रारम्भिक साझेदार थिए। यो घोषणा सामान्य डाटा सेन्टर परियोजना थिएन। यसले एउटा महत्वपूर्ण आर्थिक परिवर्तन देखायो। एआई अब सफ्टवेयर मात्र रहेन। यसलाई चलाउन बिजुली चाहिन्छ। बिजुलीका लागि पूर्वाधार चाहिन्छ।
पूर्वाधारका लागि डाटा सेन्टर चाहिन्छ। डाटा सेन्टरका लागि चिप चाहिन्छ। चिपका लागि आपूर्ति शृंखला चाहिन्छ। र यी सबैका लागि सयौँ अर्ब डलरको पुँजी चाहिन्छ। यसरी ओपनएआईको विस्तारले चिप उद्योगदेखि ऊर्जा बजारसम्मलाई प्रभावित गर्न थालेको छ।
चिपदेखि बिजुलीसम्म
एआईको अर्को वास्तविक शक्ति यसको मोडेलमा मात्र छैन। त्यो मोडेल चलाउन आवश्यक गणनाशक्तिमा छ। एनभिडिया जस्ता चिप निर्माता यस नयाँ अर्थतन्त्रका प्रमुख लाभार्थी बनेका छन्। तर ओपनएआई जस्ता कम्पनीका लागि महँगो चिप किन्नु मात्र पर्याप्त हुँदैन। ती चिपलाई सञ्चालन गर्ने डाटा सेन्टर, नेटवर्क र ऊर्जा संरचना पनि आवश्यक हुन्छ।
२०२६ सम्म आइपुग्दा एआई पूर्वाधारमा हुने लगानीको आकार यति ठूलो भइसकेको छ कि लगानीकर्ताले यसलाई नयाँ औद्योगिक चक्रसँग तुलना गर्न थालेका छन्। ओपनएआई स्वयं पनि पूर्वाधार निर्माणमा ठूलो पुँजी तानिरहेको छ। यसको अर्थ कम्पनीको भविष्य अब केवल नयाँ मोडेल कति राम्रो हुन्छ भन्नेमा निर्भर छैन।
कति सस्तोमा, कति ठूलो मात्रामा र कति भरपर्दो रूपमा एआई चलाउन सकिन्छ-त्यसमा पनि निर्भर छ। यो एउटा महत्वपूर्ण व्यापारिक पाठ हो। प्रविधिमा नेतृत्व गर्न चाहने कम्पनीले उत्पादन मात्र होइन, उत्पादनको पछाडिको पूर्वाधार पनि नियन्त्रण गर्नुपर्ने अवस्था आउँदैछ।
प्रतिस्पर्धा अब एउटै कम्पनीसँग छैन
ओपनएआईको सबैभन्दा ठूलो चुनौती आज कुनै एउटा कम्पनी होइन। उसले गुगलसँग प्रतिस्पर्धा गर्नुपर्छ।
एन्थ्रोपिकसँग प्रतिस्पर्धा गर्नुपर्छ। मेटासँग प्रतिस्पर्धा गर्नुपर्छ।माइक्रोसफ्टसँग सहकार्य गर्दै उसको आफ्नै उत्पादनसँग पनि प्रतिस्पर्धात्मक सम्बन्ध व्यवस्थापन गर्नुपर्छ। र अमेजनजस्ता ठूला कम्पनीहरू पनि एआई पूर्वाधार र मोडेलको दौडमा सक्रिय छन्।
गुगलको जेमिनीले २०२६ मा एक अर्ब प्रयोगकर्ता पार गरेको छ। यसले च्याटजीपीटीको प्रारम्भिक अग्रता स्थायी छैन भन्ने देखाउँछ। अर्कोतर्फ, एन्थ्रोपिकले व्यवसाय र सफ्टवेयर विकासकर्ताबीच बलियो स्थान बनाउँदै ओपनएआईलाई विशेष चुनौती दिइरहेको छ। २०२६ मा ओपनएआईले उपभोक्ता बजारमा बनाएको अग्रतालाई व्यावसायिक तथा विकासकर्ता बजारमा रूपान्तरण गर्ने दबाब अझ बढेको छ।
यसले एआई उद्योगको अर्को चरण देखाउँछ। पहिलो चरण थियो-कसले सबैभन्दा राम्रो मोडेल बनाउँछ? दोस्रो चरण-कसले सबैभन्दा धेरै प्रयोगकर्ता ल्याउँछ? अबको चरण सम्भवतः-कसले प्रयोगकर्तालाई नियमित आर्थिक मूल्यमा बदल्न सक्छ?
प्रयोगकर्ताबाट कम्पनीसम्म
एआईको सबैभन्दा ठूलो व्यापारिक सम्भावना उपभोक्ता च्याटमा मात्र छैन। कम्पनीभित्रको काममा यसको प्रयोग बढ्नु अझ ठूलो बजार हुन सक्छ।
२०२६ मा प्रकाशित एउटा अनुसन्धानले १,५०० भन्दा बढी संस्थाका १ करोड ७० लाखभन्दा बढी सन्देशको विश्लेषण गर्दै संस्थागत च्याटजीपीटी प्रयोग तीव्र रूपमा बढिरहेको देखाएको छ। लेखन, प्राविधिक काम, सञ्चार र सूचना संश्लेषणजस्ता ज्ञानसम्बन्धी काममा यसको प्रयोग फैलिएको अध्ययनले देखाएको छ। यसको अर्थ एआईको अर्को ठूलो बजार व्यक्तिगत प्रयोगकर्ता होइन, संस्था हुन सक्छ।
बैंकले ग्राहक सेवा स्वचालित गर्न सक्छ। कानुनी कम्पनीले कागजात विश्लेषण गर्न सक्छ। सञ्चारमाध्यमले अनुसन्धान र सामग्री उत्पादनमा प्रयोग गर्न सक्छ। सफ्टवेयर कम्पनीले कोड लेख्न र परीक्षण गर्न सक्छ। ठूला कम्पनीले कर्मचारीको दोहोरिने ज्ञानसम्बन्धी काम घटाउन सक्छन्।
यदि ओपनएआईले यस्तो प्रयोगलाई स्थायी व्यावसायिक सदस्यतामा बदल्न सक्छ भने यसको व्यापारिक मूल्य च्याटजीपीटीको प्रयोगकर्ता संख्याभन्दा धेरै ठूलो हुन सक्छ।
सबैभन्दा ठूलो कमजोरी
ओपनएआईको गति उसको शक्ति हो। तर त्यही गति जोखिम पनि हो। कम्पनीले छोटो समयमा अत्यन्त ठूलो आकार लिएको छ। यसबीच नेतृत्व परिवर्तन, अनुसन्धानकर्ताको आवागमन, उत्पादन रणनीतिमा परिवर्तन र माइक्रोसफ्टसँगको सम्बन्ध पुनर्संरचना जस्ता घटनाले संस्थाभित्रको दबाब देखाएका छन्।
२०२६ मा वरिष्ठ नेतृत्व तहमा पनि उल्लेखनीय परिवर्तन भएको रिपोर्टहरू आएका छन्। त्यसभन्दा ठूलो चुनौती एआईको सुरक्षा हो। जति शक्तिशाली मोडेल बन्छन्, तिनले अनपेक्षित काम गर्ने सम्भावना पनि बढ्छ। २०२६ मा ओपनएआईका एआई एजेन्टसम्बन्धी एउटा सुरक्षा घटनाले यही जोखिमलाई पुनः चर्चामा ल्यायो।
परीक्षणका क्रममा मोडेलहरूले इन्टरनेटमा पहुँच बनाएर हगिङ फेससँग सम्बन्धित प्रणालीमा साइबर आक्रमण गरेको र घटनाको पहिचान हुन केही समय लागेको रिपोर्ट आएको थियो।
यसले एउटा असहज प्रश्न उठाउँछ – एआईलाई अझ सक्षम बनाउने दौडमा कम्पनीहरूले सुरक्षा कति पछाडि छोड्न सक्छन्? यो प्रश्न अब प्राविधिक मात्र होइन। यो व्यापारिक प्रश्न हो। नियामकीय प्रश्न हो। र अन्ततः सामाजिक प्रश्न हो।
एलन मस्कसँगको विवाद : कम्पनीको मूल उद्देश्यको प्रश्न
ओपनएआईको इतिहासमा एउटा अर्को असाधारण पक्ष पनि छ-यसका सहसंस्थापकहरूमध्ये एक एलन मस्कसँगको लामो विवाद। मस्कको आरोप मूलतः ओपनएआईले आफ्नो प्रारम्भिक गैरनाफामूलक उद्देश्यबाट टाढिँदै व्यापारिक कम्पनीको बाटो रोजेको विषयमा केन्द्रित छ।
२०२६ मा पनि यो विवाद कानुनी र सार्वजनिक बहसको विषय रह्यो। ओपनएआईका लागि यो केवल कानुनी विवाद होइन। यसले कम्पनीको पहिचानसम्बन्धी पुरानो प्रश्न फेरि उठाउँछ- के मानवहितका लागि एआई बनाउने संस्था अन्ततः विशाल नाफामूलक प्रविधि कम्पनी बन्न सक्छ? ओपनएआईको उत्तर व्यवहारबाट स्पष्ट हुँदै गएको छ।
अत्याधुनिक एआई बनाउन ठूलो पुँजी चाहिन्छ। ठूलो पुँजीका लागि लगानीकर्ता चाहिन्छ। लगानीकर्ताका लागि आर्थिक प्रतिफल आवश्यक हुन्छ। यसरी मूल आदर्श र व्यावसायिक आवश्यकता एउटै संरचनामा व्यवस्थापन गर्नुपर्ने बाध्यता पैदा भएको छ। यही विरोधाभास ओपनएआईको सबैभन्दा गहिरो संस्थागत चुनौतीमध्ये एक हो।
अमेजन, सफ्टबैंक र नयाँ गठबन्धन
ओपनएआईको विस्तारसँगै यसको साझेदारीको दायरा पनि बढेको छ। २०२६ मा अमेजनले ओपनएआईमा ५० अर्ब डलर लगानी पूरा गरेको रिपोर्ट आएको छ। यसबाट अमेजनले करिब ५ प्रतिशत हिस्सेदारी पाउने अपेक्षा गरिएको छ। अमेजनले एकातिर ओपनएआईसँग सम्बन्ध विस्तार गरेको छ भने अर्कोतिर एन्थ्रोपिकमा पनि ठूलो लगानी गरिरहेको छ।
यो एउटा महत्वपूर्ण व्यापारिक संकेत हो। ठूला प्रविधि कम्पनीहरू अब एउटा एआई कम्पनीमा मात्र निर्भर हुन चाहँदैनन्। उनीहरू एआईको सम्पूर्ण पारिस्थितिक प्रणालीमा हिस्सेदारी लिन चाहन्छन्।
सफ्टबैंक ओपनएआईमा ठूलो लगानीकर्ता बनेको छ। २०२६ अगस्टसम्म सफ्टबैंकको ओपनएआईमा सञ्चित लगानी ६४.६ अर्ब डलर पुगेको र करिब १३ प्रतिशत हिस्सेदारी रहेको रिपोर्ट आएको छ। यसले अर्को कुरा देखाउँछ-ओपनएआई अब एउटा कम्पनी मात्र होइन। यो विश्वको सबैभन्दा ठूलो प्रविधि–पुँजी गठबन्धनमध्ये एकको केन्द्र बन्दै गएको छ।
आईपीओ : अर्को ठूलो परीक्षा
ओपनएआईको भविष्यमा सार्वजनिक सेयर बजार प्रवेशको प्रश्न पनि जोडिएको छ। २०२५ मा कम्पनीले सम्भावित सार्वजनिक निष्कासनका लागि आधार तयार गरिरहेको रिपोर्ट आएको थियो।
सम्भावित मूल्याङ्कन १ खर्बदेखि १ ट्रिलियन डलरसम्मको चर्चा भएको थियो। यद्यपि त्यो समयसम्म आईपीओको ठोस मिति तय भएको थिएन। यदि ओपनएआई सार्वजनिक कम्पनी बन्छ भने त्यसको अर्थ ठूलो हुनेछ। आजसम्म निजी लगानीकर्ताको विश्वासमा चलिरहेको कम्पनीले सार्वजनिक लगानीकर्ता, त्रैमासिक परिणाम, नाफा, नगद प्रवाह र लागत नियन्त्रणका प्रश्नको सामना गर्नुपर्नेछ।
एआईको भविष्यमा विश्वास गर्नु एउटा कुरा हो। त्यो विश्वासलाई हरेक त्रैमासिकमा वित्तीय परिणाममा प्रमाणित गर्नु अर्कै कुरा हो। ओपनएआईको अर्को परीक्षा यही हुन सक्छ।
सफलताको वास्तविक सूत्र के हो?
ओपनएआईको कथा हेर्दा यसको सफलता एउटै आविष्कारको परिणामजस्तो देखिन्छ। तर गहिराइमा हेर्दा कम्तीमा पाँचवटा शक्ति एकैपटक काम गरिरहेका छन्। पहिलो- अनुसन्धान।
विश्वस्तरीय अनुसन्धानकर्तालाई एउटै संस्थामा केन्द्रित गर्ने क्षमता। दोस्रो-पुँजी। अत्यन्त महँगो एआई विकासलाई निरन्तर वित्त पोषण गर्न सक्ने लगानी आकर्षण। तेस्रो-पूर्वाधार।
मोडेललाई ठूलो मात्रामा चलाउन आवश्यक कम्प्युटिङ शक्ति निर्माण गर्ने क्षमता। चौथो-उत्पादन।
जटिल अनुसन्धानलाई आम मानिसले प्रयोग गर्न सक्ने सरल उत्पादनमा बदल्ने क्षमता। पाँचौँ-गति।
प्रतिस्पर्धीभन्दा छिटो प्रयोग गर्ने, असफल हुने र पुनः निर्माण गर्ने संस्थागत क्षमता। च्याटजीपीटी आफैं अन्तिम उत्पादन होइन। त्यो एउटा ढोका थियो। त्यस ढोकाबाट करोडौँ मानिस एआईको संसारमा प्रवेश गरे।
अब ओपनएआईको चुनौती ती मानिसलाई एउटा उत्पादनमा मात्र राख्ने होइन; उनीहरूले काम गर्ने, सिर्जना गर्ने, अनुसन्धान गर्ने र व्यवसाय सञ्चालन गर्ने सम्पूर्ण प्रक्रियालाई एआईसँग जोड्नु हो।
अबको युद्ध मोडेल होइन बजारको नियन्त्रण
एआईको पहिलो युद्ध ८८कसको मोडेल बढी शक्तिशाली छ? भन्ने थियो। अब प्रश्न बदलिँदैछ- कसको एआई मानिस र कम्पनीको दैनिक काममा सबैभन्दा गहिरोसँग बस्छ? च्याटजीपीटीले एआईलाई करोडौँ मानिसको हातमा पुर्यायो। तर उपभोक्ता प्रयोग सुरुआत मात्र थियो।
अब वास्तविक आर्थिक प्रतिस्पर्धा कार्यालय, सफ्टवेयर, ग्राहक सेवा, अनुसन्धान, वित्त, स्वास्थ्य, शिक्षा र उद्योगका कार्यप्रवाहभित्र प्रवेश गर्ने क्षमतामा केन्द्रित हुँदैछ।
ओपनएआईकै तथ्यांकअनुसार, सन् २०२५ को अन्त्यसम्म ८८१० लाखभन्दा बढी व्यवसायिक ग्राहक८८ले उसका सेवा प्रत्यक्ष रूपमा प्रयोग गरिरहेका थिए। च्याटजीपीटीका कार्यस्थल प्रयोगकर्ता सिट ७० लाखभन्दा बढी पुगेका थिए, जबकि इन्टरप्राइज संस्करणको प्रयोग एक वर्षमा करिब नौ गुणाले बढेको थियो।
यो परिवर्तनको अर्थ महत्वपूर्ण छ। कम्पनीहरू अब एआईलाई केवल प्रश्न सोध्ने उपकरणका रूपमा प्रयोग गरिरहेका छैनन्।
उनीहरू यसलाई आफ्नो कार्यप्रवाहको हिस्सा बनाउन थालेका छन्-कम्पनीका कागजातबाट सूचना निकाल्ने, तथ्य विश्लेषण गर्ने, कोड लेख्ने, ग्राहकका प्रश्न सम्हाल्ने, रिपोर्ट तयार गर्ने र दोहोरिने काम स्वचालित बनाउने। यही ठाउँमा अर्को ठूलो मोड आएको छ-एआई एजेन्ट।
परम्परागत च्याटबोटले मानिसको प्रश्नको उत्तर दिन्छ। एजेन्टले भने लक्ष्य बुझेर त्यसतर्फ आवश्यक कदम चाल्न सक्छ।
ओपनएआईले आफ्ना कार्यस्थल एजेन्टलाई स्ल्याक, गुगल ड्राइभ र माइक्रोसफ्टका उपकरणजस्ता प्रणालीसँग जोडेर दोहोरिने कार्यप्रवाह सञ्चालन गर्न सकिने बनाइरहेको छ। कोड लेख्ने र परीक्षण गर्ने काममा कोडेक्सजस्ता एजेन्टको प्रयोग पनि तीव्र भइरहेको छ।
सन् २०२६ को ओपनएआईको उद्यमसम्बन्धी तथ्यांकले यो परिवर्तन अझ स्पष्ट देखाउँछ। जुनसम्म व्यवसायिक प्रयोगकर्तामाझ कोडेक्स र च्याटजीपीटीबाट उत्पन्न संयुक्त आउटपुट टोकनमध्ये ६४ प्रतिशत एजेन्टिक एआईबाट आएको थियो। कानुन, बिक्री, भर्ती र बजार व्यवस्थापनजस्ता क्षेत्रमा पनि कोडेक्सको प्रयोग तीव्र गतिमा बढेको कम्पनीले जनाएको छ।
यसले प्रतिस्पर्धाको नयाँ नक्सा कोर्छ। कसको एआई कार्यालयमा पुग्छ? कसको एआई सफ्टवेयरमा बस्छ?
कसको एआईले कोड लेख्छ? कसको एआईले कम्पनीका ज्ञान र कागजात बुझ्छ? कसको एआईले ग्राहकसँग कुरा मात्र होइन, काम पनि गर्छ? र अझ ठूलो प्रश्न-कसको एआई मानिसको दैनिक कामको अदृश्य पूर्वाधार बन्छ?
यस दौडमा मोडेल मात्र पर्याप्त छैन। वितरण, विकासकर्ता, क्लाउड, चिप, डाटा सेन्टर र व्यवसायिक सम्बन्ध उत्तिकै महत्वपूर्ण हुँदैछन्। माइक्रोसफ्टसँगको साझेदारीले यसको एउटा उदाहरण देखाउँछ।
माइक्रोसफ्टका अनुसार अजुरले ओपनएआईका अनुसन्धान, उत्पादन र एपीआई कार्यभारलाई ठूलो मात्रामा शक्ति दिइरहेको छ, जबकि ओपनएआईका मोडेल माइक्रोसफ्टका आफ्नै कोपाइलट र अन्य व्यवसायिक उत्पादनमा पनि प्रयोग भइरहेका छन्। त्यसैले ओपनएआईको अर्को परीक्षा च्याटजीपीटीले कति राम्रो उत्तर दिन्छ भन्ने मात्र होइन।
कति मानिसले प्रयोग गर्छन्, कति कम्पनीले आफ्नो काम त्यसमा निर्भर बनाउँछन् र कति कार्य एआईलाई सुम्पिन्छन्—भविष्यको शक्ति त्यहीँबाट तय हुनेछ। अन्ततः एआईको युद्ध सबैभन्दा बुद्धिमान मोडेलको मात्र हुनेछैन। सबैभन्दा धेरै मानिसको काममा अपरिहार्य बन्ने मोडेलको हुनेछ।
प्रविधि होइन, मोडल बुझ्नुपर्छ
ओपनएआईको कथा केवल कृत्रिम बुद्धिमत्ता बनाउने कम्पनीको कथा होइन। यो स्रोतहरू आफैं स्वामित्वमा राख्नुभन्दा तिनलाई सही ढंगले जोडेर ठूलो व्यवसाय कसरी बनाइन्छ भन्ने कथा पनि हो।
ओपनएआईले एआई अर्थतन्त्रका हरेक तह आफैं बनाएको छैन। माइक्रोसफ्टसँगको क्लाउड साझेदारी, एनभिडियासँगको चिप सहकार्य, ओराकल र सफ्टबैंकसँगको विशाल पूर्वाधार विस्तार, तथा पछिल्लो चरणमा एडब्लुएससँगको सम्झौताले उसको रणनीति देखाउँछन्।
स्टर्गेटमार्फत त उसले चिपदेखि क्लाउड, ऊर्जा, डाटा सेन्टर, निर्माण र वित्तसम्मका फरक–फरक क्षमतालाई एउटै पूर्वाधार योजनामा जोडेको छ। यही हो यसको असली पाठ हो सबै कुरा आफैं गर्नुपर्दैन; तर सबै कुरा एउटै दिशामा चलाउन सक्नुपर्छ।
ओपनएआईको प्रतिस्पर्धात्मक शक्ति एउटा प्रविधिमा मात्र छैन। राम्रो अनुसन्धानलाई ठूलो गणनात्मक क्षमता चाहिन्छ; ठूलो गणनात्मक क्षमताका लागि चिप, ऊर्जा र डाटा सेन्टर चाहिन्छ; त्यसका लागि पुँजी र साझेदार चाहिन्छ; र अन्ततः त्यो क्षमतालाई प्रयोगकर्तासम्म पुर्याउने उत्पादन र वितरण चाहिन्छ।
ओपनएआईले यी तहहरूलाई क्रमशः एउटै व्यावसायिक चक्रमा जोडिरहेको छ।
हामी अर्को ओपनएआई बनाउन सक्छौँ कि सक्दैनौँ भन्नेभन्दा पहिले, एआईको नयाँ अर्थतन्त्रमा हाम्रो ठाउँ कहाँ हुन सक्छ भन्ने सोध्नुपर्छ। हामीसँग विश्वकै ठूलो चिप कारखाना नहुन सक्छ।
विशाल डाटा सेन्टर निर्माण गर्ने पुँजी पनि नहुन सक्छ। तर डाटा, भाषा, स्थानीय समस्या र स्थानीय बजार हाम्रो आफ्नै हुन सक्छन्।
नेपाली भाषाको उच्च गुणस्तरको डाटा भण्डार बनाउन सकिन्छ। स्थानीय भाषामा काम गर्ने एआई उपकरण विकास गर्न सकिन्छ।
शिक्षा, स्वास्थ्य, पर्यटन, वित्त, कानुन र सरकारी सेवाका लागि स्थानीय आवश्यकता बुझ्ने विशेषीकृत प्रणाली बनाउन सकिन्छ। साना तथा मझौला व्यवसायका लागि लेखा, ग्राहक सेवा, सामग्री निर्माण, बिक्री र कार्यालयीय काम स्वचालित गर्ने सेवा बनाउन सकिन्छ।
विदेशी एआईलाई केवल प्रयोग गरेर बस्नुपर्दैन। त्यसको माथि आफ्नै उत्पादन, सेवा, डाटा र वितरणको तह निर्माण गर्न सकिन्छ।
ओपनएआईले देखाएको बाटो यही हो : प्रविधिको हरेक इँटा आफैं उत्पादन गर्नुपर्ने होइन; महत्त्वपूर्ण इँटाहरू कहाँ छन्, तिनलाई कसरी जोड्ने र त्यसबाट आफ्नो मूल्य कसरी सिर्जना गर्ने भन्ने बुझ्नुपर्छ। ठूलो प्रविधि कम्पनी बन्न सधैँ ठूलो कारखाना चाहिँदैन।
कहिलेकाहीँ सही समस्या, दुर्लभ डाटा, बलियो प्रतिभा र प्रभावकारी वितरण नै ठूलो व्यवसायको पहिलो पूर्वाधार बन्न सक्छ। नेपालले एआईको दौडमा जित्नुपर्ने पहिलो प्रश्न “हामी कति ठूलो प्रविधि बनाउन सक्छौँ?” होइन अरूले बनाएको प्रविधिमाथि हामी कति ठूलो मूल्य सिर्जना गर्न सक्छौँ भन्ने हो।
एआई युद्धः ओपनएआई कति अगाडि?
एआईको तिब्र दौडमा अहिले नै विजेता घोषणा गर्नु हतार हुनेछ। प्रविधिको इतिहासमा अग्रता स्थायी हुँदैन-वर्षौँदेखि पछाडि रहेको खेलाडीले एकैचोटि छलाङ मार्न सक्छ, नयाँ अनुसन्धानले खेलका नियम बदल्न सक्छ, वा बिल्कुलै नयाँ उत्पादनले बजारको शक्ति-सन्तुलन उल्ट्याउन सक्छ।
एआईमा सबैखालको संभावनालाई नर्कान सकिँदैन।
यो कथा लेखिँदासम्म ओपनएआईले सुरुआती अग्रता कायम राखेको छ। च्याटजीपीटीले बनाएको विशाल प्रयोगकर्ता आधारसँगै उसले अनुसन्धान, मोडेल, गणनात्मक पूर्वाधार र प्रतिभामा ठूलो पुँजी लगाइरहेको छ।
त्यसैले ओपनएआईको कथा अहिलेको विजेताको कथा होइन; अग्रतालाई दीर्घकालीन व्यावसायिक शक्तिमा बदल्ने प्रयासको कथा हो।
च्याटजीपीटीले मासिक एक अर्ब प्रयोगकर्ताको सीमा पार गरिसकेको छ। कम्पनीले व्यवसायिक क्षेत्रमा पनि तीव्र विस्तार गरिरहेको छ।
सन् २०२६ को सुरुआतमा करिब ४,५०० कर्मचारी रहेको ओपनएआईले वर्षको अन्त्यसम्म करिब ८,००० कर्मचारी पुर्याउने योजना बनाएको थियो-अर्थात्, केही वर्षमै अनुसन्धान प्रयोगशालाबाट हजारौँ मानिस भएको विश्वव्यापी प्रविधि कम्पनी बन्ने गति। तर एआईको नयाँ बजारमा एक नम्बर हुनु र हरेक क्षेत्रमा उत्कृष्ट हुनु एउटै कुरा होइन।
मोडेलको क्षमतामा प्रतिस्पर्धा यति तीव्र छ कि आजको विजेता अर्को वर्ष चुनौतीमा पर्न सक्छ। केही स्वतन्त्र मूल्याङ्कनमा एन्थ्रोपिकको क्लाउड जटिल तर्क, लामो दस्तावेज र कोडिङमा बलियो देखिन्छ; गुगलको जेमिनी बहुमाध्यमीय क्षमता, खोज र आफ्नै विशाल उत्पादन पारिस्थितिकीसँग जोडिने फाइदामा अगाडि छ।
ओपनएआई भने सामान्य प्रयोजनको एआई, उपभोक्ता पहुँच, विकासकर्ता प्रणाली र व्यवसायिक प्रयोगलाई एउटै प्लेटफर्ममा जोड्ने क्षमतामा केन्द्रित छ। विभिन्न परीक्षणमा नतिजा मोडेल र कामअनुसार बदलिन्छन्-त्यसैले एउटै “विश्वकै उत्कृष्ट एआई” घोषणा गर्नु आफैँमा भ्रामक हुन सक्छ।
कोडिङमा भने क्लाउडले असाधारण गति समातेको छ। एन्थ्रोपिकको क्लाउड कोडले विकासकर्तामाझ तीव्र प्रयोग पाएको छ र कम्पनीको व्यवसायिक आम्दानी पनि तीव्र बढेको छ। एन्थ्रोपिकले ३ लाखभन्दा बढी व्यवसायिक ग्राहक रहेको बताएको छ, जबकि क्लाउड कोडको वार्षिकीकृत आम्दानी अर्बौँ डलरको स्तरमा पुगेको रिपोर्ट छ।
अनुसन्धान र एआई खोजमा पर्प्लेक्सिटीले छुट्टै ठाउँ बनाएको छ। यसको रणनीति आफैँ सबैभन्दा ठूलो आधारभूत मोडेल बनाउनेभन्दा विभिन्न मोडेललाई एउटै खोज-प्रणालीमा प्रयोग गराउनेतर्फ छ। २०२६ को सुरुआतमा यसको वार्षिकीकृत आम्दानी ४५० करोड डलरभन्दा माथि पुगेको र मासिक प्रयोगकर्ता १० करोडभन्दा बढी भएको फाइनान्सियल टाइम्सले जनाएको थियो।
पछि एनभिडियासँग सम्भावित लगानी वार्ता र ३० अर्ब डलरभन्दा माथिको मूल्याङ्कनको चर्चा भयो। पर्प्लेक्सिटी अब खोजबाट एजेन्टतर्फ सर्दैछ-अर्थात् उत्तर दिनेभन्दा अनुसन्धान गरेर काम पूरा गर्ने दिशातर्फ।
गुगलको शक्ति भने वितरण हो। जेमिनीले एक अर्ब मासिक प्रयोगकर्ता पार गरिसकेको छ। यसको अर्थ गुगलले एआईका लागि नयाँ प्रयोगकर्ता खोज्न मात्रुपर्दैन; एन्ड्रोइड, जिमेल, युट्युब, ड्राइभ, खोज र अन्य सेवामै एआई पुर्याउन सक्छ। च्याटजीपीटीले प्रयोगकर्ता जितेर वितरण निर्माण गर्यो; गुगलसँग वितरण पहिल्यै थियो।
माइक्रोसफ्टको शक्ति कार्यालय हो। वर्ड, एक्सेल, आउटलुक, टिम्स र एजजस्ता दैनिक कामका उपकरणमा कोपाइलट राखेर उसले एआईलाई छुट्टै वेबसाइटबाट निकालेर कार्यस्थलमै पुर्याइरहेको छ। ओपनएआईसँगको सम्बन्ध कायम राख्दै माइक्रोसफ्टले आफ्नै मोडेल र बहु-मोडेल रणनीतितर्फ पनि अघि बढिरहेको छ।
मेटाको शक्ति सामाजिक वितरण र खुला मोडेल हो। लामा परिवारका मोडेललाई खुला रूपमा उपलब्ध गराएर मेटाले एआईको अर्को बाटो रोजेको छ-एआईलाई आफ्नै उत्पादनमा मात्र बन्द नराखी विकासकर्ताको ठूलो समुदायमा फैलाउने।
र त्यसपछि आउँछ चीन।
डीपसिकले २०२५ मा महँगा अमेरिकी मोडेलको विकल्पमा निकै कम लागतमा एआई बजारमा ल्याएर एआईको लगानीसम्बन्धी धारणालाई नै चुनौती दियो। त्यसपछि किमी, क्यूवेन, जिपु र मिनिम्याक्सजस्ता चिनियाँ कम्पनीहरू तीव्र गतिमा अघि आए। २०२६ मा मिनिम्याक्सको पहिलो छ महिनाको आम्दानी अघिल्लो वर्षको तुलनामा २८३ प्रतिशत बढेर ११ करोड ६६ लाख डलर पुगेको थियो।
डीपसिक भने थप ७.४ अर्ब डलर उठाएर करिब ७४ अर्ब डलरको मूल्याङ्कनतर्फ जाने चरणमा पुगेको रिपोर्ट छ।
अलीबाबाले मात्रै अगस्ट २०२६ मा एआई विस्तारका लागि १० अर्ब डलरको शेयर बिक्री अघि बढायो। कम्पनीले एकै त्रैमासिकमा करिब १० अर्ब डलर पुँजीगत खर्च गरेको थियो-अघिल्लो वर्षभन्दा ७५ प्रतिशत बढी। चीनमा एआई अब निजी प्रविधि कम्पनीहरूको प्रतिस्पर्धा मात्र होइन; राष्ट्रिय औद्योगिक रणनीतिको हिस्सा बन्दैछ।
विश्वका प्रमुख एआई उत्पादन गर्ने कम्पनीहरुको क्षमता, लगानी, प्रयोगकर्तासंगै बिभिन्न महत्वपूर्ण तथ्यले एआई बजारमा अब एउटै विजेता छैन भन्ने प्रष्टाएको छ।
ओपनएआईको शक्ति प्रयोगकर्ता, ब्रान्ड र सामान्य प्रयोजनको एआई हो। क्लाउडको शक्ति कोडिङ र व्यवसायिक कार्यप्रवाह हो। जेमिनीको शक्ति खोज, बहुमाध्यम र गुगलको वितरण हो।
पर्प्लेक्सिटीको दाउ एआई खोज र अनुसन्धान हो। माइक्रोसफ्टको शक्ति कार्यालय र उद्यम हो। मेटाको शक्ति सामाजिक वितरण र खुला मोडेल हो। डीपसिक, क्यूवेन, किमी र मिनिम्याक्सको चुनौती कम लागत, खुला मोडेल र ठूलो मात्रामा एआई उपलब्ध गराउनु हो। त्यसैले अबको प्रश्न “कुन एआई सबैभन्दा राम्रो?” मात्र होइन।
कुन एआई मानिसको कुन काममा सबैभन्दा अपरिहार्य बन्छ? यहीँबाट प्रतिस्पर्धा मोडेलबाट बजारमा, बजारबाट कार्यप्रवाहमा र कार्यप्रवाहबाट पूर्वाधारमा सर्दैछ। र यो दौडमा पैसा पनि अभूतपूर्व गतिमा बगिरहेको छ। ओपनएआई, एन्थ्रोपिक, गुगल, मेटा, माइक्रोसफ्ट, अमेजन र चिनियाँ प्रविधि कम्पनीहरू मोडेलमा मात्र होइन-चिप, डाटा सेन्टर, ऊर्जा, क्लाउड र प्रतिभामा अर्बौँ डलर खर्च गरिरहेका छन्।
एआई दौडको अग्रतामा प्रतिभाको युद्ध पनि उत्तिकै कठोर छ। ओपनएआई र एन्थ्रोपिकको अनुसन्धान तथा इन्जिनियरिङ जनशक्ति गुगल डीपमाइन्डभन्दा धेरै तीव्र दरमा बढिरहेको तथ्यांकले देखाउँछ। तर यही दौडमा उच्चस्तरीय कर्मचारी एक कम्पनीबाट अर्कोमा सर्ने क्रम पनि बढेको छ।
ओपनएआईको वास्तविक उपलब्धि च्याटजीपीटीलाई लोकप्रिय बनाउनु मात्र होइन।
उसले एआईलाई एउटा उत्पादनबाट प्लेटफर्म, प्लेटफर्मबाट व्यवसायिक उपकरण र व्यवसायिक उपकरणबाट आर्थिक पूर्वाधार बनाउने दौड सुरु गरिदिएको छ। एआईको इतिहासमा अब सबैभन्दा कठिन काम पहिलो ठूलो मोडेल बनाउनु होइन। आफूले सुरु गरेको क्रान्तिको सबैभन्दा ठूलो आर्थिक लाभ कसले कब्जा गर्छ-त्यो अन्तिमसम्म तय गर्न सक्नु हो।
