Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

अपार्टमेन्टबाट उदाएको डिजिटल साम्राज्य

चार बेडरुमको अपार्टमेन्टबाट सुरु भएको प्रयोग कसरी अर्बौं मानिसको ध्यान मनोरञ्जन व्यापार र संस्कृतिको शक्तिशाली केन्द्र बन्न पुग्यो?

अपार्टमेन्टबाट उदाएको डिजिटल साम्राज्य
A A+ A-

आम मानिसले आफ्नो फोनमा के हेर्ने भन्ने निर्णय आफैं गर्छ भन्ने भ्रम अब पुरानो हुँदैछ।

उसले एउटा भिडियो हेर्छ। अर्को भिडियो आफैं आउँछ। फेरि अर्को। उसले केही सेकेन्ड बढी हेर्छ, प्रणालीले त्यो संकेत सम्झिन्छ। उसले एउटा भिडियो छोड्छ, अर्को देखाइन्छ।

केही समयपछि उसले खोजेको भन्दा पनि उसलाई मन पर्न सक्ने कुरा उसको स्क्रिनमा देखिन थाल्छ। यही सरल देखिने प्रक्रियाभित्र टिकटकको सबैभन्दा ठूलो शक्ति लुकेको छ।

टिकटकले छोटो भिडियो लोकप्रिय बनाएको मात्र होइन। यसले मानिसको ध्यानलाई मापन, अनुमान र व्यापार गर्न सकिने स्रोतमा बदल्यो। आज त्यही ध्यान विज्ञापनको बजार हो।

सिर्जनाकर्ताको आम्दानीको आधार हो। ब्रान्डको बिक्रीको माध्यम हो। र टिकटक पसलमार्फत प्रत्यक्ष कारोबारको आधारसमेत बनेको छ।

तर यो शक्ति कुनै विशाल प्रविधि साम्राज्यबाट सुरु भएको थिएन। यसको सुरुवात सन् २०१२ मा बेइजिङको एउटा चार बेडरुमको अपार्टमेन्टबाट भएको थियो।

त्यहाँ केही मानिस र कम्प्युटरबीच एउटा विचारमाथि प्रयोग भइरहेको थियो- इन्टरनेटले मानिसले खोजेको कुरा देखाउने मात्र होइन, उसले के मन पराउन सक्छ भनेर पनि अनुमान गर्न सक्छ।

त्यही प्रयोगबाट बाइटडान्स बन्यो। र त्यसैको सबैभन्दा सफल प्रयोग बन्यो – टिकटक।

टिकटकको कथा सन् २०१६ बाट सुरु हुँदैन। यसको वास्तविक कथा त्यसअघि नै सुरु भइसकेको थियो। टिकटक अचानक जन्मिएको कुनै एउटा एप होइन।

यो वर्षौंको प्रयोग, असफलता, प्रविधि, एल्गोरिदम, प्रयोगकर्ताको मनोविज्ञान, रणनीतिक अधिग्रहण र सही समयमा सही बजारमा प्रवेश गर्ने क्षमताको परिणाम हो।

आज टिकटक एउटा भिडियो एपभन्दा धेरै ठूलो भइसकेको छ। यो मनोरञ्जनको माध्यम हो, कलाकारका लागि मञ्च हो, प्रभावशाली व्यक्तिका लागि करियर हो, ब्रान्डका लागि बजार हो र व्यापारीका लागि डिजिटल पसल पनि हो।

बाइटडान्ससँग टिकटकबाहेक डुयिन, टुटियाओ, डौबाओलगायतका उत्पादन छन्। कम्पनीसँग विश्वका करिब १२० सहरमा १ लाख ५० हजारभन्दा बढी कर्मचारी रहेको स्रोतमा उल्लेख छ। तर प्रश्न अझै उही छ-त्यो सानो अपार्टमेन्टबाट सुरु भएको कम्पनीले यस्तो छलाङ कसरी मार्‍यो?

कथा टिकटकबाट होइन टुटियाओबाट सुरु भएको थियो

मार्च २०१२। बेइजिङ।

झाङ यिमिङ नेतृत्वको संस्थापक टोलीले चार बेडरुमको अपार्टमेन्टबाट कम्पनीको सुरुवात गर्‍यो। उनीहरूको पहिलो ठूलो उत्पादन टिकटक थिएन। त्यो थियो-टुटियाओ।

टुटियाओको आधारभूत विचार सरल देखिन्थ्यो, तर त्यसमा ठूलो सम्भावना लुकेको थियो।

इन्टरनेटमा उपलब्ध विशाल सामग्रीमध्ये प्रयोगकर्तालाई वास्तवमै रुचि लाग्ने सामग्री कसरी छनोट गर्ने? मानिसले खोज्नुपर्ने होइन, उसलाई आवश्यक सामग्री आफैंले भेट्टाइदिने प्रणाली बनाउन सकिन्छ कि सकिँदैन?

त्यसका लागि बाइटडान्सले एल्गोरिदम र व्यक्तिगत सिफारिस प्रविधिमा जोड दियो। अगाडि देखिने सामग्री प्रयोगकर्ताको व्यवहार, रुचि र अन्तरक्रियासँग जोडिन थाल्यो।

अगस्ट २०१२ मा टुटियाओ सार्वजनिक भयो। यही प्रयोगले बाइटडान्सलाई एउटा महत्त्वपूर्ण पाठ सिकायो-मानिसलाई सामग्री मात्र चाहिँदैन; उसलाई आफ्नो रुचिसँग मिलेको सामग्री चाहिन्छ।

त्यही सोच पछि टिकटकको सबैभन्दा शक्तिशाली हतियार बन्न पुग्यो। समाचारमा काम गरेको सिफारिस प्रणालीलाई भिडियोमा प्रयोग गर्न सकिन्छ। भिडियोमा काम गर्ने प्रणालीलाई संगीतमा प्रयोग गर्न सकिन्छ। र संगीत, भिडियो तथा सामाजिक अन्तरक्रियालाई एउटै ठाउँमा जोड्न सकिन्छ। यही सोचबाट अर्को अध्याय सुरु भयो।

सन् २०१६ सम्म मोबाइल इन्टरनेट तीव्र गतिमा विस्तार हुँदै थियो। स्मार्टफोन मानिसको हातमा पुगिसकेको थियो र सामाजिक सञ्जाल केवल साथीभाइसँग जोडिने माध्यम रहेन। मनोरञ्जन पनि मोबाइलमै सर्न थालेको थियो। यही परिवेशमा बाइटडान्सले सेप्टेम्बर २०१६ मा चीनमा डुयिन सार्वजनिक गर्‍यो।

डुयिन छोटो भिडियोमा केन्द्रित थियो। प्रयोगकर्ताले केही सेकेन्डको भिडियो बनाउने, त्यसमा संगीत राख्ने, त्यसलाई सम्पादन गर्ने र अरूसँग बाँड्ने। सुरुमा यो आजको विशाल टिकटकजस्तो थिएन।

तर यसको पछाडि एउटा असाधारण प्रविधि थियो—कुन प्रयोगकर्तालाई कुन भिडियो देखाउने भन्ने निर्णय गर्ने एल्गोरिदम। यहीँबाट टिकटकको वास्तविक भिन्नता देखिन थाल्यो।

परम्परागत सामाजिक सञ्जालको मूल संरचना प्रायः ‘तपाईंले कसलाई फलो गर्नुहुन्छ?’ भन्ने प्रश्नमा आधारित थियो। टिकटकले प्रश्न बदलिदियो-‘तपाईंलाई वास्तवमा के हेर्न मन लाग्छ?’ त्यो सानो अन्तरले सामाजिक सञ्जालको अर्थ नै बदलिदियो।

डुयिन चीनका लागि थियो। चीनबाहिर भने बाइटडान्सले अर्को नाम रोज्यो-टिकटक। सन् २०१७ मा टिकटक अन्तर्राष्ट्रिय बजारमा प्रवेश गर्न थाल्यो। तर एउटा ठूलो समस्या थियो। सामाजिक सञ्जालको बजार पहिले नै फेसबुक, इन्स्टाग्राम, युट्युब, स्न्यापच्याटजस्ता शक्तिशाली खेलाडीले भरिएको थियो।

नयाँ एप किन डाउनलोड गर्ने? नयाँ प्रयोगकर्ता किन आउने? र सबैभन्दा कठिन प्रश्न-प्रयोगकर्ता नभएको प्लेटफर्ममा सिर्जनाकर्ता किन आउने र सिर्जनाकर्ता नभएको प्लेटफर्ममा प्रयोगकर्ता किन आउने? यसलाई डिजिटल प्लेटफर्मको भाषामा ‘चिकेन एन्ड एग’ समस्या भनिन्छ।

प्रयोगकर्ता र सिर्जनाकर्ता दुवै एकअर्काको उपस्थितिमा निर्भर हुन्छन्। स्रोतमा उल्लेख भएअनुसार टिकटकले आफ्नो प्रारम्भिक रणनीतिबाट २०१९ सम्म आवश्यक ‘क्रिटिकल मास’ निर्माण गर्न सफल भयो। तर यसमा एउटा अर्को निर्णायक मोड आउन बाँकी थियो।

म्युजिकल्लीले खोल्यो सफलताको ढोका

नोभेम्बर २०१७ मा बाइटडान्सले म्युजिकल्ली अधिग्रहण गर्‍यो। आजको टिकटक बुझ्न यो निर्णयलाई छुटाउन सकिँदैन। म्युजिकल्ली आफैं छोटो भिडियो र संगीतमा आधारित प्लेटफर्म थियो।

त्यसले विशेषगरी युवा प्रयोगकर्तालाई आकर्षित गरेको थियो। तर यसको आफ्नै कमजोरी थिए। सुरुवाती अवधारणामा मनोरञ्जन र शिक्षालाई सँगसँगै लैजान खोज्दा सिर्जनाकर्ताका लागि सामग्री बनाउन कठिन भयो। भिडियोको लम्बाइ र सामग्रीको संरचनासम्बन्धी सीमाले पनि समस्या सिर्जना गर्‍यो। अन्ततः वित्तीय समस्या थपिँदै गयो।

तर बाइटडान्सले म्युजिकल्लीमा असफल कम्पनी मात्र देखेन। उसले त्यहाँ पहिले नै निर्माण भइसकेको युवा प्रयोगकर्ता समुदाय देख्यो। त्यो रणनीतिक सोच थियो।

बाइटडान्सले नोभेम्बर २०१७ मा म्युजिकल्ली किन्यो र पछि टिकटकसँग एकीकृत गर्‍यो। अगस्ट २०१८ मा यो एकीकरण पूरा भयो। यसपछि अन्तर्राष्ट्रिय बजारमा टिकटकले आफ्नो पहिचान तीव्र रूपमा बनाउन थाल्यो। यसको अर्थ टिकटकले शून्यबाट सबै कुरा निर्माण गर्नुपरेन।

उसले अर्को प्लेटफर्मले निर्माण गरिसकेको समुदाय, व्यवहार र सांस्कृतिक प्रवृत्तिलाई आफ्नो प्रविधिसँग जोड्यो। यहीँबाट खेल बदलियो।

टिकटकको पहिलो ठूलो शक्ति थियो-छोटो भिडियो। छोटो, छिटो र सजिलो। यसको प्रारम्भिक स्वरूपमा भिडियोको अवधि १५ सेकेन्डसम्म सीमित थियो।

यही सीमाले सामग्री निर्माणलाई सरल बनायो र प्रयोगकर्ताको थोरैभन्दा थोरै समयलाई पनि मनोरञ्जनको अवसरमा बदलिदियो। यात्रा गर्दा, लाइनमा बस्दा, खाना पर्खँदा वा केही मिनेट फुर्सद हुँदा – भिडियो हेर्न पर्याप्त समय भयो।

तर छोटो भिडियोको प्रभाव दर्शकमा मात्र सीमित रहेन। यसले सिर्जनाकर्ता बन्ने बाधा पनि घटायो। महँगो क्यामेरा, स्टुडियो, ठूलो टोली वा व्यावसायिक सम्पादन सीप आवश्यक परेन।

स्मार्टफोनबाट भिडियो खिच्ने, संगीत छान्ने, प्रभाव र फिल्टर थप्ने र तुरुन्तै प्रकाशित गर्ने सुविधा एउटै एपभित्र थियो। यसले सामान्य प्रयोगकर्तालाई दर्शकबाट सिर्जनाकर्तामा बदल्यो र छोटो भिडियो उत्पादनलाई ठूलो मात्रामा विस्तार गर्‍यो।

टिकटकले त्यसपछि भिडियोको अवधि क्रमशः बढाउँदै लग्यो। तर यसको मूल विचार उस्तै रह्यो – सामग्री छोटो, निर्माण सरल र पहुँच व्यापक। यही मोडलले लाखौँ प्रयोगकर्तालाई सक्रिय सामग्री निर्माता बनायो र छोटो भिडियोलाई सामाजिक सञ्जालको प्रमुख स्वरूपमध्ये एक बनायो।

‘फर यू’ ले बदल्यो डिजिटल खेल

टिकटकको सबैभन्दा ठूलो प्रतिस्पर्धात्मक शक्ति छोटो भिडियो मात्र थिएन। त्यो थियो – व्यक्तिगत सिफारिस प्रणाली। प्रयोगकर्ताले कुन भिडियो कति समय हेर्छ, पूरा हेर्छ कि बीचमै छोड्छ, लाइक गर्छ कि गर्दैन, कमेन्ट वा सेयर गर्छ कि गर्दैन, कुन विषयमा फेरि फर्किन्छ र कुन ध्वनि वा संगीतमा प्रतिक्रिया दिन्छ – यस्ता व्यवहारबाट प्रणालीले प्रयोगकर्ताको रुचिको अनुमान गर्छ।

त्यसपछि त्यही अनुमानका आधारमा अर्को भिडियो सिफारिस हुन्छ। त्यसपछि अर्को। यसरी ‘फर यू’ पृष्ठले प्रयोगकर्ताले फलो गरेका खातामा मात्र निर्भर नभई उसको व्यवहारअनुसार सामग्रीको निरन्तर व्यक्तिगत प्रवाह तयार गर्छ। प्रयोगकर्ताले कुनै विषय खोज्नैपर्ने वा आफूलाई के हेर्न मन लाग्छ भनेर पहिल्यै निर्णय गर्नुपर्ने आवश्यकता घट्छ।

यही मोडलले टिकटकलाई अन्य सामाजिक सञ्जालभन्दा फरक बनायो। फलोअरको संख्या ठूलो नभए पनि एउटा भिडियो व्यापक दर्शकमाझ पुग्न सक्छ। यसले नयाँ सिर्जनाकर्तालाई स्थापित खातासँग प्रतिस्पर्धा गर्ने अवसर दियो र सामग्रीको वितरणलाई व्यक्तिको लोकप्रियताभन्दा प्रयोगकर्ताको रुचि र व्यवहारसँग जोड्यो।

टिकटकको एल्गोरिदमले प्रयोगकर्ताले पहिले हेरेका, लाइक गरेका, फलो गरेका वा कमेन्ट गरेका सामग्रीबाट रुचि पहिचान गर्दै उसले हेर्ने सम्भावना बढी भएका भिडियो सिफारिस गर्छ। अझ महत्वपूर्ण कुरा, यसले प्रयोगकर्ताले आफूलाई मन पर्छ भन्ने थाहा नपाएको विषयसमेत परीक्षणका रूपमा प्रस्तुत गर्न सक्छ। त्यसैले टिकटकको मूल सूत्र केवल ‘भिडियो बनाऊ र देखाऊ’ थिएन – ‘प्रयोगकर्तालाई के हेर्न मन पर्छ भनेर प्रणाली आफैँ सिक र त्यसपछि अर्को भिडियो देखाऊ’ थियो।

यसले टिकटकलाई भिडियोको संग्रहभन्दा बढी बनायो -व्यक्तिगत रुचिअनुसार निरन्तर बदलिइरहने डिजिटल मञ्च।

टिकटकको एल्गोरिदमिक प्रणालीको अर्को विशेषता भिडियोको प्रारम्भिक प्रदर्शनलाई क्रमशः विस्तार गर्ने संरचना हो। कुनै भिडियो अपलोड भएपछि त्यसलाई केही प्रारम्भिक प्रयोगकर्तासम्म पुर्‍याइन्छ। त्यसपछि त्यसले कस्तो प्रतिक्रिया पाउँछ भनेर हेरिन्छ-कति मानिसले पूरा हेरे, कति जनाले लाइक गरे, सेयर गरे, कमेन्ट गरे वा फेरि हेरे।

यदि भिडियोले राम्रो प्रतिक्रिया पायो भने त्यसलाई अर्को ठूलो समूहमा पुर्‍याउन सकिन्छ। फेरि प्रतिक्रिया राम्रो भयो भने अझ ठूलो समूह। यसरी एउटा सामान्य भिडियो अचानक ठूलो दर्शकसम्म पुग्न सक्छ। यसले टिकटकमा एउटा महत्त्वपूर्ण मनोविज्ञान निर्माण गर्‍यो- ठूलो फलोअर नभएको मानिस पनि भाइरल हुन सक्छ।

फेसबुक वा इन्स्टाग्राममा पहिले नै ठूलो नेटवर्क भएका मानिसको तुलनात्मक लाभ हुन्थ्यो। टिकटकमा भने सामग्री आफैंले अवसर पाउन सक्थ्यो। यसले नयाँ सिर्जनाकर्तालाई आकर्षित गर्‍यो। नयाँ सिर्जनाकर्ता आएपछि नयाँ भिडियो आए। नयाँ भिडियो आएपछि दर्शक आए। दर्शक बढेपछि अझ धेरै सिर्जनाकर्ता आए। र यही चक्रले टिकटकलाई तीव्र गतिमा विस्तार गर्‍यो।

टिकटकले केवल ‘भिडियो पोस्ट गर्ने ठाउँ’ बनाएन। उसले मानिसलाई भिडियो बनाउन आवश्यक धेरै उपकरण एउटै एपभित्र दियो। फिल्टर, स्टिकर, विशेष प्रभाव, संगीत, साउन्डट्र्याक, एआर इफेक्ट, भ्वाइसओभर, डुएट, स्टिच, ह्यासट्याग, टेम्प्लेट-यी सबैले सामान्य प्रयोगकर्ताको उत्पादन लागत घटाए। यसले एउटा असाधारण आर्थिक मोडल निर्माण गर्‍यो।

प्लेटफर्मले आफैं सबै सामग्री उत्पादन गर्नुपरेन। प्रयोगकर्ताले नै सामग्री उत्पादन गरे। प्लेटफर्मले उनीहरूलाई उपकरण दियो। एल्गोरिदमले सामग्री वितरण गर्‍यो। दर्शकले सामग्री उपभोग गरे। अनि लोकप्रिय सामग्रीले अर्को सिर्जनाकर्तालाई आकर्षित गर्‍यो। यो नै नेटवर्क इफेक्ट थियो।

स्रोतमा टिकटकमा दर्शक र सिर्जनाकर्ताबीचको ‘क्रस-साइड नेटवर्क इफेक्ट’ विशेष महत्त्वपूर्ण भएको उल्लेख छ-सिर्जनाकर्ता बढे दर्शक आकर्षित हुन्छन् र दर्शक बढे सिर्जनाकर्ताका लागि प्लेटफर्म अझ मूल्यवान हुन्छ।

टिकटकले भाइरल सामग्री निर्माणलाई संयोगमा मात्र छाडेन। उसले त्यसका लागि संरचना नै बनायो। ह्यासट्यागले एउटै विषयमा हजारौं भिडियो जोड्न सक्थ्यो। च्यालेन्जले एउटै गीत, नृत्य, संवाद वा अवधारणामा मानिसलाई आफ्नै संस्करण बनाउन प्रेरित गर्‍यो। एउटाले बनाएको भिडियो अर्कोले नक्कल गर्‍यो। अर्कोले त्यसलाई आफ्नै शैलीमा बदल्यो।

तेस्रोले अझ फरक बनायो। यसरी एउटा विचार व्यक्तिबाट व्यक्तिमा फैलियो। स्रोतका अनुसार टिकटकले ह्यासट्याग, च्यालेन्ज र मिम संस्कृतिलाई भाइरल प्रसारको महत्वपूर्ण साधनका रूपमा प्रयोग गर्‍यो। नक्कल वा रिमिक्सलाई कमजोरी होइन, सामाजिक सहभागिताको इन्जिन बनाइयो। यो रणनीतिक रूपमा निकै शक्तिशाली थियो। किनकि प्रत्येक नयाँ भिडियो मूल सामग्रीको विज्ञापन पनि बनिरहेको थियो।

टिकटकको विस्तारमा सन् २०२० अर्को निर्णायक वर्ष बन्यो। कोभिड–१९ महामारीका कारण विश्वका करोडौं मानिस घरभित्र सीमित भए। विद्यालय बन्द भए। कार्यालय बन्द भए। सामाजिक भेटघाट रोकियो। मनोरञ्जनका परम्परागत माध्यममा पहुँच घट्यो। मानिसको मोबाइल प्रयोग बढ्यो। र छोटो भिडियोका लागि यो असाधारण अवसर बन्यो।

स्रोतमा २०२० सम्म टिकटकका विश्वभर ८० करोडभन्दा बढी प्रयोगकर्ता पुगेको र त्यस वर्ष १ अर्ब डलरभन्दा बढी आम्दानी भएको उल्लेख गरिएको छ।

अर्को अध्ययनमा २०२० मा प्रयोगकर्ता संख्या करिब ७० करोड पुगेको अनुमान गरिएको छ। तर महामारीले मात्र टिकटकलाई सफल बनाएको थिएन। महामारीले पहिले नै तयार भइसकेको मेसिनलाई अझ तीव्र बनाइदिएको थियो। २०१९ सम्म प्रयोगकर्ताको ठूलो आधार बनिसकेको थियो। एल्गोरिदम सुधारिएको थियो।

सिर्जनाकर्ताको संख्या बढिसकेको थियो। भाइरल सामग्रीको संस्कृति निर्माण भइसकेको थियो। त्यसैले २०२० को लकडाउनले आगोमा पेट्रोल थप्ने काम गर्‍यो।

ध्यानबाट विज्ञापन कारोबारसम्म

प्रयोगकर्ता आधार विशाल भएपछि बाइटडान्ससामु अर्को प्रश्न थियो- अरबौँ मानिसको ध्यानलाई आम्दानीमा कसरी बदल्ने? उत्तर थियो – विज्ञापन। तर टिकटकले पुरानो विज्ञापन मोडल जस्ताको तस्तै अपनाएन। उसले विज्ञापनलाई प्रयोगकर्ताले हेरिरहेको सामग्रीकै संरचनाभित्र मिसायो।

क्रिएटरले उत्पादन देखायो।

इन्फ्लुएन्सरले अनुभव सुनायो।

ब्रान्डले चुनौती सुरु गर्‍यो।

ह्यासट्यागले अभियान फैलायो।

र प्रयोगकर्ताले त्यसलाई हेर्ने मात्र होइन, आफैँ पुनःनिर्माण र साझा गर्न थाले।

यसले विज्ञापन र मनोरञ्जनबीचको परम्परागत दूरी घटायो। ब्रान्डको सन्देश विज्ञापनजस्तो कम र सामग्रीजस्तो बढी देखिन थाल्यो।

यही परिवर्तन टिकटकको व्यावसायिक विस्तारको महत्वपूर्ण आधार बन्यो। ह्यासट्याग चुनौती, सिर्जनाकर्ता–ब्रान्ड सहकार्य, प्रायोजित सामग्री र प्रभावशाली व्यक्तिमार्फत हुने प्रचारले विज्ञापनलाई प्रत्यक्ष उपभोग र सहभागितासँग जोड्यो।

टिकटकको अर्को महत्वपूर्ण विशेषता थियो – साना सिर्जनाकर्तालाई पनि व्यावसायिक अवसर दिनु। परम्परागत विज्ञापन बजारमा ब्रान्डले ठूलो दर्शक भएका सेलिब्रिटी वा सञ्चारमाध्यम खोज्थे।

टिकटकमा भने निश्चित विषय वा समुदायमा प्रभाव राख्ने साना सिर्जनाकर्तासमेत ब्रान्डका लागि उपयोगी बन्न थाले। यसले ‘इन्फ्लुएन्सर मार्केटिङ’लाई थप व्यवस्थित र ठूलो बजारमा विस्तार गर्‍यो।

त्यसपछि टिकटकले विज्ञापनभन्दा बाहिरको अर्को ठूलो बजार समात्यो – विद्युतीय व्यापार। सामग्री हेर्ने, उत्पादनबारे थाहा पाउने र त्यहीँबाट खरिद गर्ने प्रक्रियाबीचको दूरी घटाइयो। टिकटक सपमार्फत सिर्जनाकर्ता, विक्रेता र ब्रान्डलाई एउटै मञ्चमा जोडियो। भिडियो अब केवल मनोरञ्जनको माध्यम रहेन – उत्पादन प्रदर्शन, सिफारिस, प्रचार र बिक्रीको माध्यमसमेत बन्यो।

सन् २०२५ मा टिकटकको विज्ञापन आम्दानी करिब ३३.१ अर्ब अमेरिकी डलर पुगेको अनुमान छ। त्यही वर्ष टिकटक सपको कुल कारोबार करिब ६६ अर्ब डलर पुगेको अनुमान गरिएको छ। यी आँकडाले प्लेटफर्मको व्यापारिक रूपान्तरणको आकार देखाउँछन् – प्रयोगकर्ताको ध्यानबाट सुरु भएको व्यवसाय विज्ञापन हुँदै प्रत्यक्ष कारोबारसम्म पुगेको छ।

यस मोडलको आधार भने एउटै थियो – प्रयोगकर्ताको व्यवहारसम्बन्धी डेटा। कुन भिडियो हेरियो, कति समय हेरियो, कुन सामग्रीमा प्रतिक्रिया आयो, कुन उत्पादनमा रुचि देखाइयो र कुन सामग्री साझा गरियो भन्ने संकेतहरूले प्लेटफर्मलाई सामग्री मात्र होइन, विज्ञापन र उत्पादन सिफारिससमेत थप सान्दर्भिक बनाउन सहयोग गर्छन्।

यसरी टिकटकको व्यापारिक सूत्र तीन तहमा विस्तार भयो – ध्यान, विज्ञापन र कारोबार। पहिले प्रयोगकर्तालाई लामो समय प्लेटफर्ममा राख्ने, त्यसपछि त्यही ध्यान विज्ञापनदातालाई बेच्ने र अन्ततः त्यही प्रयोगकर्तालाई खरिदकर्तामा बदल्ने।

मनोरञ्जनबाट सुरु भएको मोडल यसरी विश्वव्यापी डिजिटल वाणिज्यको व्यवसायिक संरचनामा बदलियो।

टिकटकको सफलता त्यसैले केवल धेरै भिडियो हेर्ने प्रयोगकर्ताको कथा होइन। यो प्रयोगकर्ताको समयलाई विज्ञापन मूल्यमा, विज्ञापनलाई उत्पादन खोजीमा र उत्पादन खोजीलाई कारोबारमा बदल्ने प्रविधिको कथा पनि हो।

यही कारणले केही वर्षअघि किशोर पुस्ताको मनोरञ्जन एपका रूपमा हेरिएको टिकटक अहिले विश्वका ठूला ब्रान्ड, विज्ञापनदाता, व्यापारी र सिर्जनाकर्ताका लागि महत्वपूर्ण व्यवसायिक मञ्च बनेको छ।

टिकटकले ब्रान्डका लागि विज्ञापन गर्ने ठाउँ मात्र बनाएन – उत्पादन परीक्षण, प्रचार, उपभोक्ता प्रतिक्रिया र बिक्रीलाई एउटै ठाउँमा जोड्ने नयाँ मार्केटिङ प्रयोगशाला बनायो। फेन्टी ब्यूटी, ओसन स्प्रे, जिमसार्क, चिपोट्ले र ई.एल.एफ. कस्मेटिक्सका अभियानहरूले यसको प्रभाव देखाए।

फेन्टी ब्यूटीले लोकप्रिय टिकटक सिर्जनाकर्तासँग सहकार्य गरेर आफ्ना उत्पादन प्रस्तुत गर्‍यो। सिर्जनाकर्ताले बनाएका समीक्षा, प्रयोगका भिडियो र प्रयोगकर्ताको प्रतिक्रियाले उत्पादनलाई परम्परागत विज्ञापनभन्दा फरक तरिकाले दर्शकमाझ पुर्‍यायो। यहाँ ब्रान्डले केवल आफ्नो उत्पादनबारे बताइरहेको थिएन – प्रयोगकर्ताकै सामग्री उत्पादनको प्रचार माध्यम बनिरहेको थियो।

ओसन स्प्रेको उदाहरण अझ स्पष्ट छ। सन् २०२० मा नाथन एपोडाका नामका प्रयोगकर्ताले स्केटबोर्डमा यात्रा गर्दै ओसन स्प्रेको क्र्यानबेरी जुस पिइरहेको भिडियो पोस्ट गरे।

भिडियो तीव्र रूपमा भाइरल भएपछि कम्पनीले त्यसलाई बेवास्ता गरेन। उसले भाइरल प्रवृत्तिलाई आफ्नो ब्रान्ड सञ्चारमा समेट्यो। एउटा सामान्य प्रयोगकर्ताले बनाएको भिडियो यसरी कम्पनीका लागि ठूलो प्रचार अवसरमा बदलियो।

जिमसार्कले फिटनेस सामग्री र सिर्जनाकर्तामार्फत आफ्ना उत्पादनलाई वास्तविक प्रयोगको सन्दर्भमा प्रस्तुत गर्‍यो। चिपोट्लेले डुएट, चुनौती र प्रयोगकर्ता सहभागितालाई अभियानको हिस्सा बनायो।

ई.एल.एफ. कस्मेटिक्सले #EyesLipsFace अभियानमार्फत प्रयोगकर्तालाई आफ्नै मेकअप भिडियो बनाउन प्रेरित गर्‍यो। अभियानले ब्रान्डको प्रचारलाई प्रयोगकर्ताको सहभागितासँग जोड्यो।

यी अभियानमा साझा विशेषता एउटै थियो – ब्रान्डले सामग्री मात्र बनाएन, सामग्री बनाउने प्रक्रिया नै उपभोक्तासँग बाँड्यो। प्रयोगकर्ताले उत्पादन देखे, त्यसबारे आफ्नै अनुभव बनाए, साझा गरे र अरू प्रयोगकर्तालाई समेत सहभागी गराए।

परम्परागत विज्ञापनमा ब्रान्डको सन्देश प्रायः एकतर्फी हुन्छ। टिकटकले त्यसलाई बहुपक्षीय बनायो – ब्रान्डले सुरु गर्छ, सिर्जनाकर्ताले विस्तार गर्छन् र प्रयोगकर्ताले त्यसलाई फैलाउँछन्। यही मोडलले मार्केटिङलाई विज्ञापनबाट सहभागितातर्फ धकेल्यो।

टिकटकको व्यावसायिक शक्ति यहीँ देखिन्छ। कुनै अभियान सफल हुन विशाल विज्ञापन बजेट मात्र आवश्यक हुँदैन; सही सामग्री, सही सिर्जनाकर्ता र सही समयमा सुरु भएको एउटा प्रवृत्तिले पनि ठूलो दर्शक बनाउन सक्छ। ब्रान्ड आफैं बोल्ने ठाउँबाट उपभोक्तालाई बोल्न लगाउने मञ्चमा टिकटकको रूपान्तरण यही हो।

टिकटकको सफलतालाई केवल एल्गोरिदमले व्याख्या गर्नु पनि अपूर्ण हुन्छ। मोबाइल इन्टरनेटको गति पनि उत्तिकै महत्त्वपूर्ण थियो।

फोरजी नेटवर्कको विस्तारले भिडियो हेर्न र सेयर गर्न पहिलेभन्दा सहज बनायो। स्रोतमा उद्योगका एक विज्ञले टिकटकको भिडियो–आधारित मोडलको तीव्र प्रसारमा ४जी नेटवर्कको महत्त्व रहेको उल्लेख गरेका छन्। उच्च गतिको इन्टरनेटले लामो भिडियोसमेत सहज रूपमा बाँड्न सकिने वातावरण बनायो र टिकटकले त्यसका लागि आवश्यक प्लेटफर्म प्रविधि उपलब्ध गरायो।

यसरी टिकटक एउटा कम्पनीको कथा मात्र रहेन। यो स्मार्टफोन + फोरजी + एल्गोरिदम + छोटो भिडियो + सामाजिक व्यवहार को संयुक्त परिणाम पनि बन्यो।

२०२० पछि भिडियोबाट पसलसम्म

प्रयोगकर्ता आधार विशाल भएपछि टिकटकको रणनीतिक प्राथमिकता फेरियो। पहिलो चरणमा लक्ष्य थियो – प्रयोगकर्ता ल्याउने। अर्को चरणमा प्रश्न बन्यो-त्यही प्रयोगकर्ता र उसको ध्यानबाट आर्थिक मूल्य कसरी सिर्जना गर्ने?

यसको प्रयोग चीनमा डोयिनबाट सुरु भयो। सन् २०२० तिर डोयिनले स्टोर फिचर विस्तार गर्न थालेपछि भिडियो सामग्री र विद्युतीय व्यापारबीचको दूरी घट्न थाल्यो।

प्लेटफर्मले आफैं सामान किनेर बेच्नेभन्दा व्यापारी र उपभोक्तालाई जोड्ने मध्यस्थ मोडल अघि बढायो। व्यापारीले उत्पादन प्रस्तुत गर्ने, सिर्जनाकर्ताले त्यसको प्रचार गर्ने र उपभोक्ताले त्यहीँबाट खरिद गर्ने संरचना विकास भयो।

यही अवधारणा विस्तार हुँदै टिकटक सपको आधार बन्यो। मनोरञ्जन, उत्पादन खोजी र खरिद एउटै डिजिटल अनुभवभित्र जोडिन थाले। प्रयोगकर्ता भिडियो हेर्दैछ – उत्पादन देख्छ – सिर्जनाकर्ताले प्रयोग गरेको देख्छ – त्यसबारे लाइभमा जानकारी पाउँछ – र त्यहीँबाट खरिद गर्न सक्छ।

यसले विद्युतीय व्यापारको परम्परागत यात्रालाई छोट्यायो। पहिले खोजी – वेबसाइट – समीक्षा – खरिदको बाटो थियो। टिकटकले त्यसलाई भिडियो – रुचि – विश्वास – खरिदमा रूपान्तरण गर्‍यो। यस मोडलको अर्को शक्ति थियो – सिर्जनाकर्ता।

उनीहरू विज्ञापनका माध्यम मात्र रहेनन्; उत्पादन प्रदर्शन, समीक्षा, प्रत्यक्ष प्रसारण र बिक्रीका सक्रिय पात्र बने। व्यापारीका लागि सिर्जनाकर्ता ग्राहकसम्म पुग्ने माध्यम बने भने सिर्जनाकर्ताका लागि उत्पादन बिक्री आम्दानीको नयाँ स्रोत बन्यो।

टिकटक सपले यसरी सामाजिक सञ्जाल र विद्युतीय व्यापारबीचको सीमा मेट्दै लग्यो। सामग्री अब बिक्रीको सुरुवात बन्न सक्थ्यो र बिक्री फेरि सामग्रीकै हिस्सा बन्न सक्थ्यो। मनोरञ्जनबाट खोजी, खोजीबाट विश्वास र विश्वासबाट खरिद – यही टिकटकको सामाजिक वाणिज्यको मूल सूत्र बन्यो।

टिकटकको पछिल्लो रणनीतिले यसलाई सामाजिक सञ्जालबाट बहुआयामिक डिजिटल मञ्चतर्फ लैजाँदैछ। मनोरञ्जन, सामाजिक अन्तरक्रिया, खोजी, विज्ञापन र अनलाइन व्यापारलाई एउटै प्रणालीमा जोड्ने प्रयासले टिकटकको व्यवसायिक संरचना विस्तार गरेको छ।

यसको सबैभन्दा स्पष्ट उदाहरण टिकटक पसल हो। यहाँ कम्पनीले उत्पादनको प्रचार मात्र गर्दैन, सामग्री निर्माता वा प्रभावशाली व्यक्तिले भिडियो तथा प्रत्यक्ष प्रसारणमार्फत उत्पादन देखाउन र सिफारिस गर्न सक्छन्। प्रयोगकर्ताले पनि त्यही मञ्चबाट उत्पादनबारे जानकारी लिएर खरिदसम्म पुग्न सक्छन्। प्रत्यक्ष प्रसारणमार्फत हुने बिक्रीले सामग्री, निर्माता, दर्शक र कारोबारलाई एउटै प्रक्रियामा जोडेको छ।

यसले परम्परागत सामाजिक सञ्जालको व्यापारिक ढाँचा पनि बदल्दैछ। पहिले प्रयोगकर्ता मञ्चमा आउँथ्यो, सामग्री हेर्थ्यो र उत्पादन खरिद गर्न अर्को वेबसाइट वा पसलमा जान्थ्यो। टिकटकले यी चरणबीचको दूरी घटाउँदै भिडियो – रुचि – विश्वास – खरिद लाई एउटै यात्रामा जोड्न खोजेको छ।

त्यसैले टिकटकको मूल प्रश्न अब केवल ‘तपाईंलाई कुन भिडियो मन पर्छ?’ मा सीमित छैन।

यो क्रमशः यस्ता प्रश्नसम्म विस्तार हुँदैछ –

तपाईंलाई के मन पर्छ?

के हेर्न चाहनुहुन्छ?

के खोज्दै हुनुहुन्छ?

कुन उत्पादनमा रुचि छ?

र अन्ततः – के किन्न चाहनुहुन्छ?

यही परिवर्तनले टिकटकलाई मनोरञ्जनको मञ्चबाट सामग्री, सामाजिक अन्तरक्रिया, खोजी र व्यापारलाई एउटै डिजिटल प्रणालीमा जोड्ने मञ्चतर्फ अघि बढाइरहेको छ।

मानिसलाई बुझ्ने एल्गोरिदम

टिकटकको शक्ति छोटो भिडियोमा मात्र छैन। यसको वास्तविक प्रतिस्पर्धात्मक क्षमता प्रयोगकर्ताको व्यवहार बुझ्ने र त्यसअनुसार सामग्री मिलाउने प्रणालीमा छ।

मानिसलाई के हेर्न मन लाग्छ?

कुन भिडियोमा ऊ केही सेकेन्ड बढी रोकिन्छ?

कुन भिडियो पूरा हेर्छ?

कुन सामग्री फेरि हेर्छ?

कुन विषयमा प्रतिक्रिया दिन्छ?

कुन सामग्री अरूलाई पठाउँछ?

कुन गीत, ध्वनि वा प्रवृत्तिमा सहभागी हुन्छ?

प्रयोगकर्ताले गर्ने यस्ता गतिविधि एल्गोरिदमका लागि संकेत बन्छन्। उपलब्ध विवरणअनुसार टिकटकको सिफारिस प्रणालीले हेर्ने इतिहास, रुचि र अन्तरक्रियाजस्ता संकेतको विश्लेषण गरेर प्रयोगकर्तालाई सम्भावित रूपमा रुचिकर सामग्री देखाउने प्रयास गर्छ।

यसको सबैभन्दा महत्वपूर्ण परिणाम ‘तपाईंका लागि’ सामग्रीको निरन्तर पुनःनिर्माण हो। प्रयोगकर्ताले जति धेरै सामग्री हेर्छ र त्यसमा प्रतिक्रिया दिन्छ, प्रणालीले उसको रुचिबारे त्यति धेरै संकेत पाउँछ। त्यसपछि अर्को सामग्रीको छनोट फेरि त्यही नयाँ संकेतका आधारमा हुन्छ।

यसरी टिकटकमा सामग्री वितरण स्थिर हुँदैन।

प्रयोगकर्ता हेर्छ।

प्रणाली सिक्छ।

सामग्री बदलिन्छ।

प्रयोगकर्ता फेरि प्रतिक्रिया दिन्छ।

प्रणाली फेरि सिक्छ।

यही चक्र निरन्तर चलिरहन्छ।

भाइरल सामग्रीको हकमा यसको प्रभाव अझ ठूलो हुन सक्छ। राम्रो प्रतिक्रिया पाएका सामग्रीलाई थप प्रयोगकर्तासम्म पुर्‍याउँदै जाने वितरण प्रक्रियाले कुनै नयाँ सिर्जनाकर्ताको सामग्रीलाई पनि ठूलो दर्शकसम्म पुर्‍याउने सम्भावना खोल्छ।

यही कारण टिकटकमा अनुयायीको संख्या मात्र पहुँचको निर्णायक आधार हुँदैन। सामग्रीले प्रयोगकर्ताको ध्यान कति तान्छ र त्यसले कस्तो प्रतिक्रिया उत्पन्न गर्छ भन्ने कुरा पनि महत्वपूर्ण हुन्छ।

यसलाई टिकटकको मूल प्रविधिगत फाइदामध्ये एक मान्न सकिन्छ। सामाजिक सञ्जालले प्रयोगकर्तालाई सामग्री खोज्न लगाउने पुरानो ढाँचाभन्दा टिकटकले अर्को बाटो रोज्यो – प्रयोगकर्ताको व्यवहारबाट उसको रुचि अनुमान गर्ने र त्यसअनुसार सामग्री आफैं प्रस्तुत गर्ने। अन्ततः टिकटकको सबैभन्दा ठूलो प्रयोग भिडियो बनाउनु होइन, मानिसले के हेर्न चाहन्छ भन्ने कुरा लगातार सिकिरहनु हो।

बेइजिङको एउटा अपार्टमेन्टबाट सुरु भएको सानो प्रविधि कम्पनीलेले आज विश्वको डिजिटल संस्कृतिमाथि असाधारण प्रभाव जमाएको छ। चार कोठे अपार्टमेन्टबाट सुरु भएको बाइटडान्सको यात्रा आज टिकटकमार्फत विश्वका शीर्ष सामाजिक सञ्जाल, मोबाइल एप र छोटो भिडियो मञ्चमाथि प्रभुत्व जमाउने अवस्थामा छ।

करिब १.९ अर्ब मासिक सक्रिय प्रयोगकर्ता, १५० भन्दा बढी देशमा पहुँच र दैनिक औसत ९५ मिनेटको प्रयोग। यी तथ्यले टिकटकलाई छोटो भिडियो हेर्ने एउटा सामान्य मोबाइल एपभन्दा माथि उठाएर विश्वकै प्रभावशाली डिजिटल मञ्चमध्ये एक बनाएका छन्। सन् २०२५ मा टिकटकको विज्ञापनबाट भएको आम्दानी करिब ३३.१ अर्ब अमेरिकी डलर पुगेको अनुमान छ भने, टिकटक सपमार्फत भएको कुल कारोबार करिब ६६ अर्ब डलर पुगेको अनुमान गरिएको छ।

टिकटकको पछाडि रहेको बाइटडान्सको मूल्यांकन सन् २०२६ मा करिब ५५० अर्ब डलर पुगेको अनुमान छ। सन् २०१२ मा एउटा चार कोठे अपार्टमेन्टबाट सुरु भएको यो कम्पनी अहिले १ लाख ५० हजारभन्दा बढी कर्मचारी र विश्वभर फैलिएको व्यवसायिक सञ्जालसहितको प्रविधि साम्राज्य बनेको छ।

टिकटक, डोयिन, क्यापकट र टिकटक सपजस्ता उत्पादनमार्फत बाइटडान्सले मनोरञ्जन, विज्ञापन, सिर्जनाकर्ता अर्थतन्त्र र विद्युतीय व्यापारलाई एउटै डिजिटल पारिस्थितिक प्रणालीमा जोडेको छ।

विश्वव्यापी सामाजिक सञ्जालको प्रतिस्पर्धामा टिकटक सबैभन्दा धेरै प्रयोग हुने मञ्चमध्ये शीर्ष पाँचमा पर्छ। मोबाइल एप डाउनलोडका हिसाबले पनि यो विश्वका शीर्ष पाँच एपमध्ये एक हो। छोटो भिडियोको क्षेत्रमा भने टिकटकलाई विश्वकै अग्रणी मञ्च मानिन्छ। यसको विश्वव्यापी पहुँच पनि ठूलो छ। टिकटक अहिले १५० भन्दा बढी देश तथा क्षेत्रमा उपलब्ध छ।

प्रयोगकर्ताले यसमा दैनिक औसत करिब ९५ मिनेट बिताउने गर्छन्। यी आँकडाले टिकटकको लोकप्रियता केवल प्रयोगकर्ता संख्यामा सीमित नरहेको देखाउँछन् – विश्वव्यापी सामाजिक सञ्जालको प्रयोग समय, मोबाइल एपको डाउनलोड र छोटो भिडियो सामग्रीको प्रभावमा समेत यसको स्थान शीर्ष तहमा पुगेको छ।

टिकटकको वास्तविक आकार प्रयोगकर्ता संख्याले मात्र देखाउँदैन। त्यसको प्रभाव प्रयोगकर्ताले प्लेटफर्ममा बिताउने समय र त्यसबाट सिर्जना हुने आर्थिक गतिविधिले पनि निर्धारण गर्छ। २०२५ का उपलब्ध अनुमानअनुसार टिकटकको विश्वव्यापी सम्भावित विज्ञापन पहुँच करिब १.६ अर्ब प्रयोगकर्ता थियो। त्यही अवधिमा प्रयोगकर्ताले दैनिक औसत करिब ९५ मिनेट टिकटकमा बिताउने अनुमान गरिएको छ।

यो केवल ठूलो प्रयोगकर्ता आधार होइन। यो डिजिटल समयको ठूलो हिस्सा हो। प्रयोगकर्ता धेरै हुनु एउटा कुरा हो। उनीहरूलाई लामो समयसम्म प्लेटफर्ममा राखिराख्नु अर्को कुरा। टिकटकको व्यवसायिक शक्तिको एउटा आधार यही हो।

धेरै समयको अर्थ –

धेरै सामग्री। धेरै विज्ञापन। धेरै सिर्जनाकर्ता। धेरै उत्पादन। धेरै कारोबार।

२०२५ मा टिकटकको विश्वव्यापी विज्ञापन आम्दानी करिब ३३.१ अर्ब अमेरिकी डलर पुगेको अनुमान छ। त्यस्तै, टिकटक पसलमार्फत भएको विश्वव्यापी कारोबारको कुल मूल्य करिब ६४.३ अर्ब अमेरिकी डलर पुगेको अनुमान गरिएको छ।

यी तथ्यांकले टिकटकको व्यापारिक संरचनामा आएको एउटा महत्वपूर्ण परिवर्तन देखाउँछन्। यसको आम्दानी अब विज्ञापनमा मात्र सीमित छैन।

प्रयोगकर्ताको ध्यान विज्ञापनमा परिणत हुन्छ। सामग्री कारोबारतर्फ जान्छ। सिर्जनाकर्ता बिक्रीको माध्यम बन्छन्। र एउटै प्लेटफर्ममा मनोरञ्जनदेखि खरिदसम्मको प्रक्रिया जोडिन थाल्छ। यही संरचनाले टिकटकलाई सामाजिक सञ्जालभन्दा ठूलो डिजिटल व्यापारिक मञ्च बनाउँदैछ।

बाइटडान्स र टिकटक एउटै कम्पनी होइनन्। टिकटक बाइटडान्सको एउटा प्रमुख उत्पादन हो। तर बाइटडान्सको व्यवसाय टिकटकमा मात्र सीमित छैन। यसको स्वामित्वमा चीनमा सञ्चालन हुने डुयिन, समाचार तथा सूचना मञ्च टुटियाओ, खोज तथा सूचना सेवा डौबाओलगायत विभिन्न डिजिटल उत्पादन छन्।

त्यसैले बाइटडान्सको कुल मूल्यांकन वा आम्दानीलाई टिकटककै मूल्य वा आम्दानीका रूपमा बुझ्नु गलत हुन्छ। उपलब्ध रिपोर्टअनुसार बाइटडान्सको मूल्यांकन २०२५ मार्चमा करिब ३१५ अर्ब अमेरिकी डलर र अगस्टमा करिब ३३० अर्ब डलर पुगेको थियो।

२०२६ फेब्रुअरीमा भने केही रिपोर्टले यसको मूल्यांकन करिब ५५० अर्ब डलर पुगेको उल्लेख गरेका छन्। यी मूल्यांकनहरूलाई टिकटकको मूल्यांकनका रूपमा होइन, सम्पूर्ण बाइटडान्स समूहको मूल्यांकनका रूपमा बुझ्नुपर्छ।

किनभने बाइटडान्सको वास्तविक व्यवसाय एउटा भिडियो मञ्चभन्दा धेरै ठूलो छ। यसको मूल्यांकनमा प्रयोगकर्ताको विशाल आधारसँगै सिफारिस गर्ने प्रविधि, विज्ञापन, विद्युतीय व्यापार, सामग्री वितरण, मनोरञ्जन र कृत्रिम बुद्धिमत्तासम्म फैलिएको व्यवसायिक क्षमता जोडिन्छ।

यस अर्थमा टिकटक बाइटडान्सको सबैभन्दा चिनिने उत्पादन हो। तर बाइटडान्सको मूल्यांकनको कथा टिकटकभन्दा धेरै ठूलो डिजिटल व्यवसायको कथा हो। अन्ततः लगानीकर्ताले मूल्यांकन गर्ने कुरा एउटा अनुप्रयोगको लोकप्रियता मात्र होइन – त्यसको पछाडि रहेको प्रविधि, प्रयोगकर्ता आधार, आम्दानीका स्रोत र भविष्यमा थप बजार सिर्जना गर्ने क्षमता पनि हो।

टिकटक आउँदा सामाजिक सञ्जालका ठूला खेलाडीहरू पहिले नै स्थापित थिए। तर टिकटकले एउटा नयाँ प्रश्न उठायो, सामाजिक सञ्जालको मुख्य आधार ‘तपाईंका साथी’ हुनैपर्छ? टिकटकको उत्तर थियो- हुँदैन। सामग्री आफैं केन्द्र बन्न सक्छ। तपाईंले कसैलाई फलो नगरे पनि तपाईंलाई उत्कृष्ट भिडियो देखाउन सकिन्छ।

यही मोडलले मेटाजस्ता ठूला कम्पनीलाई पनि आफ्नो भिडियो रणनीति परिवर्तन गर्न बाध्य बनायो। स्रोतमा टिकटकको एआई-आधारित डिस्कभरी मोडललाई मेटाले पनि प्राथमिकताका साथ अनुकरण गर्न थालेको उल्लेख छ। यस अर्थमा टिकटक केवल अर्को सामाजिक सञ्जाल थिएन। यसले सामाजिक सञ्जाल कसरी चल्नुपर्छ भन्ने धारणामै परिवर्तन ल्यायो।

तर सफलता जोखिमरहित छैन जति ठूलो सफलता, उति ठूलो चुनौती।

टिकटकको तीव्र विस्तारसँगै डेटा गोपनीयता, सुरक्षा, प्रयोगकर्ताको लत, सामग्री नियमन र सरकारहरूको चिन्ता पनि बढेको स्रोतमा उल्लेख छ। अमेरिका, भारत, क्यानडा, अस्ट्रेलिया, रुस तथा युरोपका केही देशमा टिकटकप्रति विभिन्न तहको सरकारी निगरानी, प्रतिबन्ध वा सम्भावित प्रतिबन्धको चर्चा गरिएको छ।

टिकटकका लागि अर्को चुनौती प्रतिस्पर्धा हो। मेटा, युट्युब र अन्य प्लेटफर्मले छोटो भिडियोको मोडल अपनाइसकेका छन्। तर टिकटकले जुन समयमा यो मोडललाई आफ्नो मुख्य उत्पादन बनायो, त्यतिबेला उसका प्रतिस्पर्धीहरू अझै पुरानो सामाजिक सञ्जाल संरचनामा बलियो थिए। अब अवस्था फरक छ। प्रतिस्पर्धीहरूले टिकटकको सफलताको सूत्र सिकिसकेका छन्।

यसकारण भविष्यको प्रश्न अब ‘टिकटक कति छिटो बढ्छ?’ भन्ने मात्र होइन। प्रश्न हो-‘टिकटकले आफ्नो अग्रता कति समय जोगाउन सक्छ?’

टिकटकको सबैभन्दा ठूलो पाठ सायद यसको प्रविधिमा छैन। यो रणनीतिमा छ। बाइटडान्सले पहिले प्रयोगकर्ता खोजेन। उसले एउटा समस्या खोज्यो-मानिसलाई सही सामग्री कसरी भेट्टाउने? उसले एउटा सानो अपार्टमेन्टबाट सुरु गर्‍यो। पहिले समाचार सिफारिस प्रणाली बनायो।

त्यसबाट सिक्यो।

त्यही प्रविधिलाई भिडियोमा प्रयोग गर्‍यो।

डुयिनबाट चीनमा प्रयोग गर्‍यो।

टिकटकमार्फत विश्व बजारमा लग्यो।

म्युजिकल्ली किनेर तयार प्रयोगकर्ता समुदायसँग जोड्यो।

सिर्जनाकर्ताका लागि उपकरण बनायो।

एल्गोरिदमलाई वितरणको केन्द्र बनायो।

ह्यासट्याग र च्यालेन्जबाट भाइरलिटी बढायो।

प्रयोगकर्ता आधार विशाल भएपछि विज्ञापन थप्यो।

त्यसपछि ई–कमर्समा प्रवेश गर्‍यो।

अर्थात् टिकटकले एउटै रणनीति सधैं दोहोर्‍याएन।

प्रत्येक चरणमा आफ्नो व्यवसायको अर्को समस्या समाधान गर्‍यो।

स्रोतमा पनि टिकटकको विकास रणनीति विभिन्न चरणमा फरक रहेको र यसको केन्द्रमा नेटवर्क इफेक्ट रहेको निष्कर्ष दिइएको छ।

२०१२ को त्यो अपार्टमेन्टमा बसेर झाङ यिमिङ र उनको टोलीले सम्भवतः कल्पना गरेको थिएन होला, उनीहरूले विकास गर्न थालेको व्यक्तिगत सामग्री सिफारिस प्रविधि एक दिन अर्बौं मानिसको दैनिक मनोरञ्जनको हिस्सा बन्नेछ। उनीहरूले टिकटकबाट सुरुवात गरेका थिएनन्। उनीहरूले संसारको सबैभन्दा ठूलो सामाजिक सञ्जाल बनाउने घोषणासहित कम्पनी खोलेका पनि थिएनन्।

उनीहरूले एउटा समस्या समाधान गर्न खोजेका थिए- मानिसलाई उसले वास्तवमै चाहेको सामग्री कसरी दिने? तर त्यस प्रश्नको उत्तर खोज्दै जाँदा एउटा नयाँ डिजिटल व्यवसाय मोडल जन्मियो।

पहिले सामग्री। त्यसपछि एल्गोरिदम। त्यसपछि सिर्जनाकर्ता। त्यसपछि दर्शक। त्यसपछि नेटवर्क इफेक्ट। त्यसपछि विज्ञापन। त्यसपछि व्यापार।

अन्ततः एउटा यस्तो डिजिटल इकोसिस्टम, जहाँ मानिस मनोरञ्जन लिन, सिर्जना गर्न, सामाजिक रूपमा जोडिन र खरिद गर्न एउटै प्लेटफर्ममा बस्न सक्छ।

२०२५ मा टिकटकको विज्ञापन पहुँच करिब १.६ अर्ब प्रयोगकर्तासम्म पुग्ने अनुमान, ३३.१ अर्ब डलरको विज्ञापन आम्दानी र ६४.३ अर्ब डलरको टिकटक शप जीएमभी जस्ता तथ्यांकले यसको वर्तमान आकार देखाउँछन्।

तर टिकटकको सबैभन्दा रोचक तथ्य कुनै एउटा अर्ब डलरको संख्या होइन। यो कथा शून्यबाट सुरु गरेर नेटवर्क निर्माण गर्ने क्षमताको कथा हो।

यो कथा असफलतालाई उत्पादन सुधारको सामग्री बनाउने कथा हो। यो कथा प्रयोगकर्तालाई ग्राहक मात्र नभई सिर्जनाकर्ता बनाउने कथा हो। र सबैभन्दा महत्त्वपूर्ण-यो कथा प्रविधिलाई मानव व्यवहारसँग जोडेर नयाँ बजार सिर्जना गर्न सकिने प्रमाण हो।

बेइजिङको चार बेडरुमको अपार्टमेन्टबाट सुरु भएको त्यो सानो प्रयोग आज विश्वको डिजिटल संस्कृतिको एउटा शक्तिशाली केन्द्र बनेको छ। त्यसैले टिकटकको कथा अन्ततः भिडियोको कथा होइन।

यो ध्यानको अर्थतन्त्रको कथा हो। र त्यस अर्थतन्त्रमा सबैभन्दा ठूलो प्रश्न अझै उही छ-मानिसले के खोज्छ भन्ने थाहा पाउनु ठूलो कुरा हो। तर उसले खोज्नुअघि नै उसलाई के चाहिन्छ भनेर बुझ्न सक्नु-सायद त्योभन्दा पनि ठूलो व्यवसाय हो।

2