२७ फेब्रुअरी २०१०
बिहान ३ः३४ बजे।
चिलीका आम मानिस सामान्य अवस्थामाझैँ सुतिरहेका थिए। मध्य–दक्षिणी तटबाट केही दूरीमा प्रशान्त महासागरको भुइँ अचानक चिरियो। जमिन निकै डर लाग्दोगरी हल्लिन थाल्यो। ८.८ म्याग्निच्युडको भूकम्पबाट केही मिनेटमै एउटा देशको नक्सा बदलिएको दुःखद दिन थियो त्यो।
भूकम्पको धक्का अझ थामिएको थिएन। चिलीमाथि अर्को विपत्ति आइपुग्यो, सुनामी।
देशले एकैरातमा दुई विपत्तिको सामना गरिरहेको थियो। पहिले जमिन हल्लियो, त्यसपछि समुद्र बस्तीभित्र पस्यो। घरहरू भत्किए। सडक र पुलहरू चिरिए। बन्दरगाह र सार्वजनिक पूर्वाधार क्षतिग्रस्त भए। तटीय शहरहरूमा पानी पस्यो। हजारौँ परिवारले घर, सम्पत्ति र जीविकोपार्जन गुमाए।
चिलीको मध्य र दक्षिणी भूभागका सयौँ शहर, बस्ती र तटीय समुदाय प्रभावित भए। करिब २३३ नगरपालिका सात क्षेत्रसम्म प्रभावित भए। ती क्षेत्रमा देशको करिब ७५ प्रतिशत जनसंख्या बसोबास गर्थ्यो।
भूकम्प र त्यसपछिको सुनामीमा ५२५ जनाको ज्यान गयो। ५२ जना बेपत्ता भए। चार लाख घरसहित झण्डै ३० अर्ब अमेरिकी डलर बराबरको क्षति भयो।
तर यो कथा केवल एउटा शक्तिशाली भूकम्पको पीडादायी कथा मात्र रहेन। यो कथा हो, त्यति ठूलो भूकम्पपछि पनि एउटा राज्य कसरी ढल्नबाट जोगियो र त्यसपछि कसरी आफूलाई अझ बलियो बनायो।
विनाशको हिसाब
‘२७–एफ’ भनेर चिनिने यो भूकम्प चिलीको पछिल्लो आधा शताब्दीको सबैभन्दा ठूलो प्राकृतिक विपत्तिमध्ये एक थियो।
५२५ जनाको मृत्यु भयो। अरू ५२ जना बेपत्ता भए। करिब एक करोड २० लाख मानिस, अर्थात् देशको लगभग तीनचौथाइ जनसंख्या, शक्तिशाली कम्पन महसुस गर्ने क्षेत्रमा थिए।
तर मानवीय क्षतिभन्दा आर्थिक क्षति अझ ठूलो थियो।
कुल आर्थिक क्षति करिब ३० अर्ब अमेरिकी डलर अनुमान गरियो, जुन त्यतिबेलाको चिलीको कुल गार्हस्थ उत्पादनको करिब १७ देखि १८ प्रतिशत बराबर थियो। तीन लाख ५० हजारभन्दा बढी आवासीय संरचना तथा अन्य निर्माण प्रभावित भए।
घर, सडक, पुल, अस्पताल, विद्यालय, बन्दरगाह, खानेपानी तथा अन्य सार्वजनिक पूर्वाधारमा ठूलो क्षति पुग्यो।
तर यहीँ एउटा असाधारण तथ्य देखियो। भूकम्पको शक्ति अत्यन्त ठूलो थियो। क्षति पनि विशाल थियो। तर तुलनात्मक रूपमा इन्जिनियरिङ मापदण्डअनुसार बनेका भवनहरूको भूकम्प प्रतिरोधी क्षमता उल्लेखनीय रह्यो।
अमेरिकी भूगर्भीय सर्वेक्षणको अध्ययनअनुसार, भूकम्पमा इन्जिनियरले डिजाइन गरेका पाँचवटा भवन मात्र पूर्ण रूपमा ध्वस्त भएका थिए।
यसको एउटा प्रमुख कारण चिलीको कडा भवन संहिता र त्यसको कार्यान्वयन थियो।
भवन निर्मातालाई निर्माणमा संहिता ठीकसँग लागू नभए त्यसबाट हुने क्षतिका लागि पहिलो १० वर्षसम्म जिम्मेवार बनाउने कानुनी व्यवस्थाले पनि निर्माण गुणस्तरमा दबाब सिर्जना गरेको अध्ययनहरूले देखाएका छन्।
चिलीले त्यतिबेलै एउटा महत्वपूर्ण परीक्षा पास गरिसकेको थियो। भूकम्प रोक्न सकेन। तर भवनलाई भूकम्पसँग लड्न सिकाएको थियो।
चिलीको पहिलो सफलता
चिलीको वास्तविक सफलता २०१० पछि सुरु भएको थिएन। त्यो सफलता दशकौँअघि बनाइएको संस्थागत अनुशासनमा थियो।
कडा भूकम्पीय भवन मापदण्ड, इन्जिनियरिङ क्षमता, बीमा बजार, बैंकिङ प्रणाली, सार्वजनिक वित्तमा अनुशासन र विपद् जोखिमबारे लामो अनुभवले २०१० को विनाशलाई पूर्ण राष्ट्रिय आर्थिक पतन बन्न दिएन।
विश्व बैंकको अध्ययनले पनि चिलीमा भवन तथा पूर्वाधारले भूकम्पको तीव्रतालाई तुलनात्मक रूपमा राम्रोसँग सामना गरेको देखाएको थियो।
यसको अर्थ महत्वपूर्ण छ। राम्रो पुनर्निर्माणको सुरुआत भूकम्पपछि होइन, भूकम्प आउनुअघि बनाइएको प्रणालीबाट हुन्छ।
राहतबाट राष्ट्रिय पुनर्निर्माण
भूकम्पपछि नयाँ सरकारले केही हप्तामै पुनर्निर्माणलाई छुट्टै आपत्कालीन खर्चका रूपमा मात्र होइन, राष्ट्रिय विकास योजनाका रूपमा अगाडि बढायो।
आवास तथा शहरी विकास मन्त्रालयले राष्ट्रिय पुनर्निर्माण योजना तयार गर्यो। यसको समयसीमा थियो, २०१० देखि २०१४।
प्रारम्भिक आवास पुनर्निर्माण योजनाको बजेट करिब २.५ अर्ब अमेरिकी डलर थियो।
योजना तीन प्रमुख क्षेत्रमा केन्द्रित थियो। घर पुनर्निर्माण, अस्थायी बस्ती तथा सामाजिक आवास, र शहर, क्षेत्र तथा ऐतिहासिक सम्पदाको पुनर्निर्माण।
यो केवल निर्माण कार्यक्रम थिएन। यसलाई भविष्यको विकासको खाका बनाउने प्रयासका रूपमा अघि बढाइएको थियो।
विश्व बैंकले चिलीको योजनालाई दीर्घकालीन योजना, अन्तरसरकारी समन्वय, उच्च राजनीतिक निगरानी र सरोकारवालाको व्यवस्थापनको उल्लेखनीय उदाहरण मानेको छ।
सरकारले सबै घर आफैँ बनाएन
चिलीको पुनर्निर्माणको एउटा सबैभन्दा महत्वपूर्ण निर्णय थियो, सरकारले घरको आपूर्ति मात्र गर्ने होइन, प्रभावित परिवारको माग र स्वामित्वलाई केन्द्रमा राख्ने।
विश्व बैंकका अनुसार सरकारले करिब दुई लाख २२ हजार आवासीय एकाइ पुनर्निर्माण वा मर्मत गर्ने लक्ष्य राखेको थियो। तर ठूलो संख्यामा मानिसलाई नयाँ ठाउँमा सारेर सरकारी कम्पनीमार्फत एउटै डिजाइनका घर बनाउने मोडल रोजेन।
बरु धेरै अवस्थामा परिवार जहाँ थियो, त्यहीँ पुनर्निर्माण गर्ने व्यवस्था गरियो। अस्थायी आश्रय घरकै जग्गामा बनाउने र त्यसै स्थानमा स्थायी घर पुनर्निर्माण गर्ने मोडल अपनाइयो। यसलाई माग–केन्द्रित आवास सहायता अर्थात् डिमान्ड-साइड सब्सिडी भनियो।
यसको सामाजिक अर्थ गहिरो थियो। भूकम्पले मानिसको घर भत्कायो। सरकारले उनीहरूको ठाउँ र समुदाय पनि भत्काउने निर्णय गरेन।
२०१४ को अन्त्यसम्म भूकम्प र सुनामीबाट प्रभावित परिवारका लागि दुई लाख २८ हजारभन्दा बढी आवासीय अनुदान स्वीकृत भइसकेका थिए। त्यसमध्ये दुई लाख नौ हजार ९१९ आवास निर्माण वा वितरण भइसकेका थिए।
२०२० मा चिलीको आवास मन्त्रालयले २७–एफ पुनर्निर्माणमा दुई लाख २३ हजारभन्दा बढी घर मर्मत वा पुनःस्थापना भएको जनाएको थियो।
यो ठूलो संख्याको कथा हो। तर यसको अर्को पक्ष अझ महत्वपूर्ण छ।
सरकारले पुनर्निर्माणलाई नयाँ घर वितरणको कार्यक्रम मात्र बनाएन। यसलाई आवास नीति, शहरी विकास र जोखिम न्यूनीकरणसँग जोड्यो।
जहाँ भत्कियो त्यहीँबाट नयाँ शहर उठ्यो
भूकम्पले केवल व्यक्तिगत घरहरू भत्काएको थिएन। पूरै शहरको संरचना प्रभावित भएको थियो। त्यसैले चिलीले पुनर्निर्माणलाई घरको तहबाट शहरको तहसम्म पुर्यायो।
शहरी पुनर्निर्माण योजनाहरूले सडक, सार्वजनिक खुला क्षेत्र, पार्क, नदीकिनार, तटीय क्षेत्र, सार्वजनिक भवन र ऐतिहासिक संरचनालाई पुनर्विचार गरे।
कन्स्टिटुसियोनजस्ता तटीय शहरमा पुनर्निर्माणको प्रश्न केवल ‘घर कहाँ बनाउने?’ भन्ने थिएन। मुख्य प्रश्न थियो, अर्को सुनामी आउँदा शहर कसरी बाँच्ने?
यही कारण चिलीले पुनर्निर्माणमा जोखिम न्यूनीकरण र शहरी योजनालाई एकै ठाउँमा राख्यो।
२०१० को सरकारी नियमले प्रभावित क्षेत्रमा भवन भत्काउने, मर्मत गर्ने र पुनर्निर्माण गर्ने काममा नयाँ प्रविधि प्रयोग गर्नुपर्ने तथा सांस्कृतिक पहिचान र ऐतिहासिक शहरी स्वरूप जोगाउनुपर्ने व्यवस्था गरेको थियो।
चिलीले पुनर्निर्माणको सबैभन्दा कठिन प्रश्नबाट भागेन।
कुन भवन किन असफल भयो?
भूकम्पपछि इन्जिनियर र वैज्ञानिकहरूले क्षतिको अध्ययन गरे। कुन प्रकारको माटोमा कुन भवन बढी जोखिममा पर्यो? कुन संरचनात्मक डिजाइन सफल भयो? कहाँ निर्माणको गुणस्तर कमजोर थियो?
त्यसपछि भवनको भूकम्पीय डिजाइनसम्बन्धी नियम पुनरावलोकन गरियो।
२०११ मा नयाँ भूकम्पीय भवन डिजाइन नियम जारी गरियो। यसले पहिलेको एनसीएच ४३३ मापदण्डलाई आधार बनाउँदै भूकम्पीय डिजाइनका आवश्यकतालाई औपचारिक रूपमा परिभाषित गर्यो।
पछि थप विशेषज्ञ अध्ययनका आधारमा नियम पुनः परिमार्जन गरियो। यसले चिलीको एउटा महत्वपूर्ण दर्शन देखायो। भूकम्पले दिएको पाठ अर्को पुस्ताले फेरि भोग्न नपरोस्।
कहाँबाट आयो ३० अर्ब डलर?
यति ठूलो पुनर्निर्माणका लागि एउटा विकासशील अर्थतन्त्रले पैसा कहाँबाट ल्याउँछ?
चिलीको उत्तर पनि असाधारण थियो। त्यतिबेला देशसँग ठूलो राजकोषीय बचत थियो। विश्वव्यापी वित्तीय संकट र भूकम्पले लगातार दुई ठूला धक्का दिँदा पनि चिलीको वित्तीय प्रणाली बलियो थियो।
बैंकहरू पर्याप्त पुँजीयुक्त थिए। सार्वजनिक वित्तमा विश्वास उच्च थियो।
सरकारले कर बढायो। खर्च पुनःप्राथमिकीकृत गर्यो। केही ऋण उठायो। बीमा भुक्तानी प्रयोग गर्यो। सरकारी खर्चको दक्षता बढायो।
सरकारको पुनर्निर्माणमा प्रत्यक्ष पर्ने खर्च करिब ८.४३ अर्ब अमेरिकी डलर, अर्थात् करिब जीडीपीको ४.२ प्रतिशत हुने अनुमान गरिएको थियो।
यो रकम एकैचोटि खर्च गरिएन। २०१० देखि २०१३ को अवधिमा चरणबद्ध रूपमा परिचालन गरियो।
यहीँ चिलीको अर्को पाठ छ। विपद् आउँदा ऋण लिन सक्ने क्षमता मात्र होइन, विपद् आउनुअघि बचत गर्न सक्ने राज्य पनि चाहिन्छ।
भूकम्पपछि पनि अर्थतन्त्र उठ्यो
भूकम्पपछि मार्च २०१० मा उत्पादनमा झट्का आयो। तर अर्थतन्त्र दोस्रो त्रैमासिकमै फर्किन थाल्यो।
आईएमएफका अनुसार चिलीको वास्तविक जीडीपी २०१० मा ५.२ प्रतिशत बढ्यो र २०११ मा करिब ६.५ प्रतिशत वृद्धि अपेक्षित थियो।
पुनर्निर्माण खर्चले निजी लगानी र सार्वजनिक लगानी दुवैलाई गति दिएको थियो। पछि आईएमएफले २०१०–११ मा वास्तविक जीडीपी वृद्धि करिब ६ प्रतिशत रहेको उल्लेख गर्यो।
अर्थात्, भूकम्पले उत्पादन क्षमता नष्ट गर्यो। तर पुनर्निर्माणले त्यसलाई पुनःस्थापित मात्र गरेन, नयाँ लगानीको चक्र पनि सुरु गर्यो।
चिलीको आर्थिक व्यवस्थापन अरू पुनर्निर्माण मोडलभन्दा फरक देखिन्छ।
सरकारले पुनर्निर्माणका लागि पैसा खर्च गर्यो। तर त्यही समयमा दीर्घकालीन राजकोषीय अनुशासन पनि कायम राख्न खोज्यो।
आज पुनर्निर्माणका लागि खर्च गर्ने, तर भोलिको बजेटलाई अस्थिर नबनाउने। आईएमएफका अनुसार चिलीले पुनर्निर्माणका लागि अस्थायी कर वृद्धि, खर्च पुनःव्यवस्था र ऋणको संयोजन प्रयोग गर्यो।
ठूलो राजकोषीय बचतले सरकारलाई ठूलो पुनर्निर्माण कार्यक्रम चलाउँदा पनि बजारको विश्वास कायम राख्न मद्दत गर्यो।
जुलाई २०१० मा चिलीले अन्तर्राष्ट्रिय बजारमा एक अर्ब डलरको १० वर्षे बन्डसमेत जारी गर्यो। बन्डमा जोखिम प्रिमियम केवल ९० आधार अंक थियो।
बजारले एउटा स्पष्ट संकेत दिइरहेको थियो। चिलीमाथि विश्वस अझै बाँकी थियो।
पुनर्निर्माणसँगै प्रणालीको पुनर्निर्माण
चिलीले भूकम्पपछिको पुनर्निर्माणमा सडक र पुल मात्र बनाएन। घर मात्र बनाएन। अस्पताल र विद्यालय मात्र बनाएन।
सबैभन्दा महत्वपूर्ण निर्माण गर्यो, राज्यको जोखिम व्यवस्थापन क्षमता। भूकम्पपछि प्राप्त तथ्यांकले भवन मापदण्ड कहाँ सफल भयो र कहाँ कमजोर भयो भन्ने देखायो।
इन्जिनियरहरूले संरचनाको प्रदर्शन अध्ययन गरे। वैज्ञानिकहरूले सुनामीको जोखिम पुनर्मूल्यांकन गरे। शहरी योजनाकारहरूले तटीय क्षेत्र पुनर्विचार गरे।
सरकारले पुनर्निर्माण प्रक्रियाबाट सिकेका पाठलाई भविष्यको भवन र शहरी नीतिमा समेट्यो।
अर्थात्, हरेक ढुंगा फेरि राख्दा एउटा नयाँ नियम पनि बनाइँदै थियो।
असफलताबाट पनि सिक्यो चिलीले
कुनै पनि पुनर्निर्माण कथा पूर्ण सफलताको कथा हुँदैन। चिलीको २०१० को विपत्तिले यसको संस्थागत कमजोरी पनि देखायो।
सञ्चार प्रणालीमा ठूलो अवरोध आयो। केन्द्रीय र स्थानीय निकायबीच समन्वयमा समस्या देखियो। सुनामीको चेतावनी र प्रतिक्रिया प्रणालीमा गम्भीर कमजोरी देखियो।
अमेरिकी अध्ययनले आपत्कालीन अवस्थामा अन्तर–निकाय समन्वय र सञ्चारको अभावलाई महत्वपूर्ण समस्या मानेको थियो।
यही कारण चिलीको पुनर्निर्माण कथा केवल ‘हामीले राम्रो गर्यौँ’ भन्ने कथा होइन।
यो अझ उपयोगी कथा हो। ‘हामी कहाँ असफल भयौँ र त्यसलाई पनि प्रणालीमा कसरी सुधार गर्यौँ?’
भूकम्पपछि बनेको नयाँ चिली
२०१० को भूकम्पपछि चिलीले एउटा महत्वपूर्ण परिवर्तन गर्यो।
पहिले विपद् व्यवस्थापनको केन्द्रमा थियो, राहत।
पछि केन्द्रमा आयो, जोखिम न्यूनीकरण।
पहिले प्रश्न थियो, भत्किएको घर कसरी बनाउने? पछि प्रश्न बन्यो, अर्को भूकम्पमा यो घर किन नभत्कियोस्?
पहिले पुनर्निर्माण एउटा खर्च थियो। पछि त्यो राष्ट्रिय लगानी बन्यो।
राष्ट्रिय पुनर्निर्माण योजनाले २०१० देखि २०१४ को चार वर्षलाई स्पष्ट लक्ष्यमा बाँध्यो।
आवास। शहर। पूर्वाधार। ऐतिहासिक सम्पदा। जोखिम न्यूनीकरण।
यसले पुनर्निर्माणलाई अस्थायी परियोजनाबाट नियमित सरकारी कार्यक्रमसँग जोड्यो। विश्व बैंकको मूल्याङ्कनमा चिलीको राष्ट्रिय पुनर्निर्माण योजना दीर्घकालीन योजना, अन्तरसरकारी समन्वय र उच्चस्तरीय निगरानीको उदाहरण बन्यो।
योजनाअन्तर्गत २०१० देखि २०१४ अवधिमा कुल आवासीय एकाइको ९४ प्रतिशतभन्दा बढी निर्माण भएको उल्लेख छ।
दश वर्षपछि एउटा देशले के सिक्यो?
२०२० मा दशौँ वर्षगाँठमा चिलीको आवास मन्त्रालयले दुई लाख २३ हजारभन्दा बढी घरको मर्मत वा पुनःस्थापना भएको र जोखिम न्यूनीकरणसहितका शहरी पूर्वाधार विकास गरिएको उल्लेख गर्यो।
तर चिलीको सफलता घरको संख्याले मात्र नापिँदैन। यसले चार तहमा परिवर्तन गर्यो।
पहिलो, भवन।
भूकम्पीय डिजाइन र निर्माण मापदण्ड अझ बलियो बनाइयो।
दोस्रो, शहर।
पुनर्निर्माणलाई शहरी योजना र तटीय जोखिमसँग जोडियो।
तेस्रो, अर्थतन्त्र।
राजकोषीय बचत, बीमा, कर र ऋणको संयोजनबाट पुनर्निर्माणको वित्त व्यवस्थापन गरियो।
चौथो, राज्य।
विपद् व्यवस्थापनलाई राहत वितरणको कामबाट जोखिम न्यूनीकरण र दीर्घकालीन लचिलोपनको नीतिमा विस्तार गरियो। चिली संसारकै सबैभन्दा भूकम्पीय जोखिमयुक्त देशहरूमध्ये एक हो। त्यहाँ भूकम्प आउनु असामान्य घटना होइन।
असामान्य कुरा हो, त्यसबाट राज्यले कति सिक्छ। २०१० को ८.८ म्याग्निच्युडको भूकम्पले चिलीलाई एउटा कठोर परीक्षा दियो।
उसले सबै समस्या समाधान गर्न सकेन। सञ्चार प्रणाली असफल भयो। सुनामी चेतावनीमा कमजोरी देखियो। कतिपय ग्रामीण तथा गरिब समुदायको पुनर्निर्माण जटिल बन्यो।
भूमिस्वामित्व, निर्माण क्षमता र दुर्गम बस्तीका कारण पुनर्निर्माणमा कठिनाइ आयो।
स्वयम् चिलीको आवास मन्त्रालयले पुनर्निर्माणलाई भौगोलिक फैलावट, ग्रामीण बस्ती, पूर्वअस्तित्वमा रहेका असमानता, निर्माण क्षमताको अभाव र भूमिसम्बन्धी समस्याका कारण अत्यन्त जटिल प्रक्रिया मानेको छ।
त्यसैले चिलीको मोडललाई चमत्कार भन्नु गलत हुन्छ। तर यसलाई संकटपछि संस्थागत सुधार कसरी गर्ने भन्ने असाधारण उदाहरण भने भन्न सकिन्छ।
विनाशबाट विकाससम्म
चिलीको सबैभन्दा ठूलो पाठ यही हो।
भूकम्पले विकास रोक्न सक्छ। तर कमजोर संस्थाले मात्र त्यसलाई दीर्घकालीन संकट बनाउँछ। चिलीमा २०१० को भूकम्पले करिब ३० अर्ब डलरको आर्थिक क्षति गर्यो।
तर त्यही वर्ष अर्थतन्त्र ५.२ प्रतिशत बढ्यो। अर्को वर्ष वृद्धि अझ तीव्र भयो। यो पुनर्निर्माण खर्चले मात्र सम्भव भएको होइन।
त्यसका पछाडि वर्षौँदेखि बनाइएको वित्तीय अनुशासन थियो। कडा भवन संहिता थियो। इन्जिनियरिङ क्षमता थियो। बैंकिङ प्रणाली थियो। बीमा बजार थियो। सरकारी संस्थाबीच समन्वय थियो।
र सबैभन्दा महत्वपूर्ण, विपद्लाई विकास नीतिबाट अलग राख्ने सोच थिएन।
चिली मोडलको वास्तविक अर्थ
चिलीले भूकम्पपछि एउटा नयाँ सूत्र स्थापित गर्यो। राहत, पुनर्स्थापना, पुनर्निर्माण, जोखिम न्यूनीकरण र विकास।
यही कारण चिलीको भूकम्पको कथा केवल एउटा भूकम्पको कथा होइन। यो एउटा राज्यले संकटलाई कसरी व्यवस्थापन गर्छ भन्ने कथा हो।
चिलीले भत्किएका घर फेरि उठायो। तर त्यहीसँगै भवन मापदण्ड सुधार्यो। सहर पुनःयोजना गर्यो। तटीय जोखिमलाई योजनामा ल्यायो। पुनर्निर्माणका लागि वित्तीय स्रोत जुटायो। स्थानीय समुदायलाई घर निर्माणमा जोड्यो।
निजी क्षेत्र र सरकारलाई एउटै पुनर्निर्माण चक्रमा ल्यायो। र पुनर्निर्माणलाई अर्थतन्त्रको पुनरुत्थानसँग जोड्यो।
उसले पुरानो चिली फर्काउने प्रयास गरेन। उसले भूकम्पपछि अझ सुरक्षित चिली बनाउने प्रयास गर्यो।
नेपालका लागि चिलीको पाठ
नेपालका लागि चिलीको कथा अझ सान्दर्भिक छ। किनकि दुवै देश भूकम्पीय जोखिममा छन्।
तर चिलीको सबैभन्दा उपयोगी पाठ भवनको डिजाइन मात्र होइन। त्यो हो, विपद् आउनुअघि संस्थागत तयारी।
राज्यसँग पर्याप्त वित्तीय क्षमता। अनिवार्य भवन मापदण्ड। त्यसको कठोर कार्यान्वयन। बीमा। स्थानीय सरकारको क्षमता। इन्जिनियर र निर्माणकर्मीको सीप। वैज्ञानिक जोखिम नक्सा। सार्वजनिक पूर्वाधारको प्रतिरोधी डिजाइन।
र विपद्पछिको पुनर्निर्माणलाई दीर्घकालीन आर्थिक विकाससँग जोड्ने स्पष्ट योजना।
चिलीले देखायो, भूकम्प रोक्न सकिँदैन। तर भूकम्पपछि देश कति छिटो उठ्छ भन्ने कुरा भाग्यले मात्र निर्धारण गर्दैन।
त्यो निर्धारण गर्छ, राज्यले भूकम्पअघि कस्तो संस्था बनाएको थियो, भूकम्पपछि कस्तो निर्णय गर्यो र पुनर्निर्माणलाई कति ठूलो अवसरका रूपमा हेर्न सक्यो।
२०१० मा चिलीको जमिन हल्लियो। घर भत्किए। सडक चिरिए। समुद्र बस्तीभित्र पस्यो। अर्थतन्त्रमा ठूलो धक्का लाग्यो।
तर राज्यको मूल संरचना ढलेन। त्यसैले केही वर्षपछि चिलीले केवल नयाँ घरहरू पाएन।
उसले नयाँ भवन मापदण्ड, नयाँ शहरी योजना, नयाँ जोखिम व्यवस्थापन क्षमता र अझ बलियो आर्थिक प्रणालीसहित पुनःउभिने अवसर पायो।
विपद् चिलीको अन्त्य बनेन। त्यो आफ्नो विकास प्रणाली पुनःपरीक्षण गर्ने क्षण बन्यो।
र यही चिलीको सबैभन्दा ठूलो पाठ हो। विनाशपछि पुरानै अवस्थामा फर्किनु पुनर्निर्माण होइन।
पहिलेभन्दा सुरक्षित, बलियो र सक्षम देश बनाउनु पुनर्निर्माण हो। चिलीले २०१० पछि यही गर्यो।
