Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

दक्षिण कोरियाः भग्नावशेषबाट बनेको आर्थिक शक्ति

७० वर्षअघि रोग, भोक र गरिबीमा डुबेको दक्षिण कोरियाले सीमित स्रोतसाधनका बीच विकासको स्पष्ट योजना र दृढ संकल्पबाट चामत्कारिक रूपान्तरण गर्दै केही वर्षमै विश्वकै समृद्ध औद्योगिक राष्ट्रमध्ये एक बन्यो।

दक्षिण कोरियाः भग्नावशेषबाट बनेको आर्थिक शक्ति
A A+ A-

सन् १९५३ को गर्मीयाम।

कोरियाली युद्ध भर्खरै रोकिएको थियो। दक्षिण कोरियाको राजधानी सियोल एउटा आधुनिक राजधानीभन्दा बढी भग्नावशेषको थुप्रो जस्तो देखिन्थ्यो।

तीन वर्षको युद्धले सडक, घर, उद्योग र उत्पादन प्रणाली ध्वस्त पारेको थियो। लाखौँ मानिस मारिएका वा विस्थापित भएका थिए।

त्यही बेला द न्युयोर्क टाइम्सका पत्रकार ए.एम. रोसेन्थल दक्षिण कोरिया पुगे। उनले देखेको दृश्य निराशाजनक थियो। उनको रिपोर्टको शीर्षक थियो – दक्षिण कोरियाको अँध्यारो भविष्य।

पत्रिकाको निष्कर्ष तत्कालीन अवस्थाका लागि अस्वाभाविक थिएन। सन् १९५३ मा दक्षिण कोरियाको प्रतिव्यक्ति आय जम्मा ६७ डलर थियो। अर्थतन्त्र विदेशी सहयोगमा निर्भर थियो। देशको औद्योगिक आधारको ठूलो हिस्सा उत्तर कोरियातर्फ थियो।

दक्षिण कोरियामा केवल कृषि, गरिबी र बेरोजगारी थियो त्यो पनि तीन वर्षे कोरियाली युद्धले क्षतविक्षत बनाइदिएको थियो।

अमेरिकी सहयोग दक्षिण कोरियाको अर्थतन्त्रका लागि जीवनरेखाजस्तै थियो। १९४६ देखि १९७६ सम्म अमेरिकाले दक्षिण कोरियालाई १२.६ अर्ब डलर आर्थिक सहायता दिएको थियो।

सन् १९५६ देखि १९५८ सम्म अमेरिकी सहयोगबाट वित्तपोषित आयात कुल आयातको ८० प्रतिशतभन्दा बढी थियो। दक्षिण कोरियासँग न त पर्याप्त प्राकृतिक स्रोत थियो, न ठूलो औद्योगिक आधार, न पर्याप्त पूँजी।

तर ऊसँग एउटा चीज थियो-मानिस। र यही मानिसमा गरिएको लगानीले केही दशकपछि विश्वकै सबैभन्दा असाधारण आर्थिक रूपान्तरणमध्ये एक जन्मायो।

आजको दक्षिण कोरिया र १९५३ को दक्षिण कोरिया एउटै देश हो भनेर विश्वास गर्न कठिन हुन्छ। सियोल विश्वका ठूला महानगरमध्ये एक छ। सामसुङ, हुन्डाई, एलजी, एसके जस्ता कम्पनीहरू विश्वव्यापी ब्रान्ड बनेका छन्।

कोरियाली जहाज विश्वका समुद्रमा छन्। कोरियाली कार विश्वका सडकमा छन्। सामसुङ, र एसके जस्ता कम्पनीले विश्वको सेमिकन्डक्टर उद्योगको रणनीतिक केन्द्रमा देशलाई पुर्याएका छन्।

के–पप, कोरियाली सिनेमा, ड्रामा, खाना र सौन्दर्य उत्पादनले देशको प्रभाव अर्थतन्त्रभन्दा बाहिर संस्कृति र कूटनीतिसम्म विस्तार गरेको छ।

योनै हो – ‘मिराकल अन द हान रिभर’ अर्थात् हान नदीको चमत्कार। तर यो चमत्कार केवल चमत्कार थिएन। यसका पछाडि कठोर राज्य नीति थियो। विदेशी पूँजी र प्रविधिको रणनीतिक उपयोग थियो।

निर्यातमा केन्द्रित औद्योगिकीकरण थियो। शिक्षा थियो। निजी क्षेत्रलाई राज्यको लक्ष्यसँग बाँध्ने प्रणाली थियो। र थियो – दशकौँसम्म उच्च आर्थिक वृद्धि हासिल गर्ने असाधारण राष्ट्रिय महत्वाकांक्षा।

तर यस कथाको अर्को पक्ष पनि छ। त्यही विकास मोडलले आज दक्षिण कोरियालाई विश्वकै सबैभन्दा कम जन्मदर, तीव्र वृद्धावस्था, महँगो आवास, शिक्षा खर्च र युवा पुस्ताको निराशासँग जुधाइरहेको छ।

अर्थात् कोरियाको कथा केवल कसरी गरिबीबाट धनी बन्ने भन्ने कथा होइन। यो एउटा कठिन प्रश्न पनि हो- द्रुत आर्थिक विकासको मूल्य कति हुन्छ?

भग्नावशेषबाट सुरुवात

१९५३ मा युद्ध समाप्त हुँदा दक्षिण कोरिया लगभग शून्यबाट उठ्नुपर्ने अवस्थामा थियो। कोरियाली युद्धले अनुमानित ४ देखि ५ लाख होइन, करिब ४० देखि ५० लाख मानिसको ज्यान लिएको थियो।

सियोल चार पटकसम्म ध्वस्त भएको थियो। औद्योगिक पूर्वाधारको ठूलो हिस्सा उत्तरमा केन्द्रित भएकाले दक्षिणसँग आर्थिक पुनर्निर्माणका लागि आवश्यक आधारसमेत सीमित थियो।

देशको सरकारी बजेट विदेशी सहयोगमा निर्भर थियो। सन् १९५३ मा प्रतिव्यक्ति आय करिब ६७ डलरको आसपास थियो। त्यो समय दक्षिण कोरिया विश्वका अत्यन्त गरिब अर्थतन्त्रहरूमध्ये एक थियो। तर एउटा महत्वपूर्ण आधार पहिले नै निर्माण हुँदै थियो-शिक्षा।

सन् १९६० सम्म माध्यमिक विद्यालय उमेरका करिब २९ प्रतिशत कोरियाली विद्यार्थी विद्यालयमा पुगेका थिए। त्यसपछिका दुई दशकमा यो अनुपात ९० प्रतिशतभन्दा माथि पुग्यो। यही शिक्षित जनशक्ति पछि कोरियाली औद्योगिकीकरणको इन्जिन बन्यो।

पार्कको योजना

१६ मे १९६१।

जनरल पार्क चुंग-हीले सैन्य कूमार्फत सत्ता हातमा लिए। त्यतिबेला दक्षिण कोरियाको प्रतिव्यक्ति आय करिब ७२ डलर थियो। उत्तर कोरिया आर्थिक रूपमा अझ अगाडि थियो।

पार्कको प्राथमिकता स्पष्ट थियो- गरिबीबाट बाहिर निस्कनु। उनले तुरुन्तै आर्थिक योजना बनाउने संस्थागत संरचना तयार गरे। १९६२ मा पहिलो पाँचवर्षीय आर्थिक विकास योजना सुरु भयो।

लक्ष्य थियो – कृषि आधुनिकीकरण, पूर्वाधार निर्माण र हल्का उद्योगको विस्तार। योजनाले वार्षिक करिब ७ प्रतिशत आर्थिक वृद्धि लक्ष्य राखेको थियो। वास्तविक वृद्धि औसत ७.८ प्रतिशत पुग्यो। तर पार्कको मोडल केवल सरकारी योजना थिएन।

उनले निजी क्षेत्रलाई पनि राष्ट्रिय विकास योजनाको उपकरण बनाए। यहीँबाट सुरु भयो चेबोल मोडल। चेबोल अर्थात् परिवारको नियन्त्रणमा रहेका विशाल औद्योगिक समूह।

राज्यको नियन्त्रणमा रहेको बैंकिङ प्रणालीमार्फत यस्ता समूहलाई सहुलियतपूर्ण ऋण दिइन्थ्यो। निर्यात लक्ष्य पूरा गर्ने कम्पनीले थप ऋण, कर सुविधा, लाइसेन्स र सरकारी सहयोग पाउँथे।

अर्थात् सरकारको सन्देश सरल थियो- सरकारी सहयोग चाहिन्छ भने परिणाम देखाउनुपर्छ। यो पूँजीवादको सामान्य खुला बजार मोडल थिएन। यो राज्य निर्देशित निजी क्षेत्र थियो।

कपडाबाट सुरु भएको विश्वव्यापी यात्रा

दक्षिण कोरियाले सुरुमा अत्याधुनिक चिप बनाएको थिएन। उसले कपडा बनायो। विग बनायो। श्रमप्रधान उत्पादन गर्यो। सन् १९६१ मा कपडा तथा गार्मेन्टले कोरियाको कुल निर्यातको करिब २५ प्रतिशत हिस्सा ओगटेको थियो।

त्यसबेला कुल निर्यात केवल ५.७ करोड डलरको आसपास थियो। १९६५ सम्म कुल निर्यात बढेर १०६ करोड डलर पुग्यो र त्यसमा कपडाको हिस्सा ४१ प्रतिशत थियो। यसले दुई काम गर्यो।

पहिलो – रोजगारी सिर्जना गर्यो।

दोस्रो – दक्षिण कोरियालाई विश्व बजारसँग जोड्यो।

देशले घरेलु बजारका लागि मात्र उत्पादन गरेन। उसले सुरुदेखि नै बाहिरी संसारलाई बजार बनायो। यही निर्यातमुखी सोच पछि कोरियाली अर्थतन्त्रको सबैभन्दा महत्वपूर्ण विशेषता बन्यो।

असम्भव मानिएको स्टिल कारखाना

सन् १९६० को दशकको अन्त्यतिर दक्षिण कोरियाले अझ ठूलो जोखिम लिन खोज्यो। उसले स्टिल उद्योग बनाउने निर्णय गर्यो। सन् १९६८ मा पोहाङमा एकीकृत स्टिल उद्योग स्थापना गर्ने योजना अघि बढ्यो।

विश्व बैंकले ऋण दिन अस्वीकार गर्यो। कारण थियो- दक्षिण कोरियासँग पर्याप्त प्राविधिक क्षमता छैन, व्यवस्थापन अनुभव छैन र यस्तो उद्योग चलाउन पर्याप्त बजार छैन। तर कोरियाली योजनाकार पछि हटेनन्।

जापानसँगको १९६५ को सम्बन्ध सामान्यीकरणपछि प्राप्त रकम र अन्य स्रोत प्रयोग गरेर कोरिया आइरन एण्ड स्टील कम्पनी स्थापना गरियो, जुन पछि पोस्को (पहिले पोहाङ आइरन एण्ड स्टील कम्पनी) बन्यो।

१९७३ मा पोहाङ स्टिल प्लान्ट सञ्चालनमा आयो। पछि पोस्को विश्वकै लागत-प्रतिस्पर्धी स्टिल उत्पादकमध्ये एक बन्यो। यो एउटा उद्योगको सफलता मात्र थिएन। स्टिल आएपछि त्यससँग जोडिएका उद्योगहरू पनि बढे।

जहाज निर्माण। अटोमोबाइल। मेसिनरी। रसायन। इलेक्ट्रोनिक्स। एक उद्योगले अर्को उद्योगलाई जन्म दिन थाल्यो। यही औद्योगिक श्रृंखलाले कोरियालाई हल्का उद्योगबाट भारी उद्योगतर्फ धकेल्यो।

हुन्डाईको जहाज र सामसुङको यात्रा

सन् १९७० मा हुन्डाई कन्स्ट्रक्सनले उल्सानमा जहाज निर्माण उद्योग सुरु गर्न अनुमति पायो। त्यो आफैंमा असाधारण निर्णय थियो। कम्पनीसँग समुद्री जहाज निर्माणको गहिरो अनुभव थिएन।

तर केही वर्षमै उल्सानमा ठूलो क्षमताको ड्राइडक बन्यो। हुन्डाईले तेल ट्यांकर निर्माण गर्न थाल्यो। त्यसपछि कार। रसायन। सिमेन्ट। इलेक्ट्रोनिक्स। १९७५ मा आएको हुन्डाई पोनी कोरियाली इन्जिनियरहरूले आफ्नै डिजाइनमा बनाएको पहिलो कोरियाली कार बन्यो।

सामसुङको कथा पनि त्यस्तै थियो। कपडा उद्योगबाट सुरु भएको कम्पनी विस्तार हुँदै इलेक्ट्रोनिक्समा प्रवेश गर्यो। पछि सेमिकन्डक्टरमा पुग्यो।

यही क्रममा दक्षिण कोरियाले एउटा महत्वपूर्ण औद्योगिक सिद्धान्त स्थापित गर्यो- आजको सफल उद्योगमा मात्र होइन, भोलिको उद्योगमा लगानी गर्ने।

गाउँलाई पनि विकासमा जोड्ने प्रयोग

औद्योगिकीकरणले शहरलाई तीव्र गतिमा बदलिरहेको थियो। तर गाउँ पछाडि थियो। शहरमा आय र जीवनस्तर बढिरहेको थियो। गाउँमा गरिबी, कमजोर पूर्वाधार र बेरोजगारी थियो। यसलाई सम्बोधन गर्न १९७० मा सेमाउल उन्दोङ, अर्थात् नयाँ गाउँ आन्दोलन सुरु गरियो।

सरकारले गाउँहरूलाई सिमेन्ट, इँटा, स्टिल जस्ता निर्माण सामग्री उपलब्ध गरायो। गाउँले श्रम लगाउनुपर्थ्यो। आफ्नै गाउँमा बाटो बनाउने। घर सुधार्ने। पूर्वाधार निर्माण गर्ने। उत्पादन बढाउने। र राम्रो प्रदर्शन गर्ने गाउँलाई थप स्रोत उपलब्ध गराइन्थ्यो।

यसले ग्रामीण पूर्वाधार सुधारमा योगदान गर्यो र ग्रामीण तथा शहरी अर्थतन्त्रबीचको दूरी कम गर्न मद्दत गर्यो। तर यसको अर्को राजनीतिक पक्ष पनि थियो। आन्दोलन ग्रामीण समाजमा थिराज्यको प्रभाव विस्तार गर्ने माध्यमसमेत थियो।

त्यसैले सेमाउल उन्दोङ दक्षिण कोरियाली विकासको सफलताको कथा मात्र होइन- विकास र राजनीतिक नियन्त्रण एकैसाथ कसरी अघि बढ्न सक्छन् भन्ने उदाहरण पनि हो।

दक्षिण कोरियाको आर्थिक छलाङ

युद्धबाट भर्खरै उठेपछिको तीन दशकमा दक्षिण कोरियाले आर्थिक विकासको गति यति तीव्र बनायो कि सन् १९६० को दशकको गरिब, कृषिप्रधान अर्थतन्त्र १९९० सम्म आइपुग्दा औद्योगिक र निर्यातमुखी अर्थतन्त्रमा बदलियो।

विश्व बैंकका ऐतिहासिक तथ्यअनुसार १९६२ मा प्रतिव्यक्ति आय करिब ८७ अमेरिकी डलर रहेकोमा १९८९ मा ४,८३० डलर पुगेको थियो। त्यही अवधिमा कुल राष्ट्रिय उत्पादन करिब २.३ अर्ब डलरबाट बढेर २०४ अर्ब डलर पुगेको थियो।

वृद्धिको गति आफैँमा असाधारण थियो। अन्तर्राष्ट्रिय मुद्राकोषका अनुसार १९६० को दशकमा वास्तविक कुल गार्हस्थ्य उत्पादन औसत ७.६ प्रतिशत, १९७० को दशकमा ८.४ प्रतिशत र १९८० को दशकमा ८.१ प्रतिशत वार्षिक दरले बढ्यो।

अर्थात् तीन दशकसम्म दक्षिण कोरियाले करिब ८ प्रतिशत आसपासको उच्च आर्थिक वृद्धि कायम राख्यो। तर यो परिवर्तनको सबैभन्दा ठूलो संकेत अर्थतन्त्रको संरचना थियो।

१९६२ मा उत्पादन क्षेत्रले राष्ट्रिय उत्पादनको करिब १४.३ प्रतिशत हिस्सा ओगटेको थियो। १९८७ सम्म आइपुग्दा त्यो हिस्सा ३०.३ प्रतिशत पुगेको थियो – अर्थात् करिब दोब्बरभन्दा बढी। यसको उल्टो, कृषि क्षेत्रको हिस्सा तीव्र रूपमा घट्यो।

विश्व बैंकका अनुसार १९६२ देखि १९७३ बीच कृषि क्षेत्रको हिस्सा कुल राष्ट्रिय उत्पादनमा करिब ४० प्रतिशतबाट २३ प्रतिशतमा झर्यो। यसले दक्षिण कोरियाको अर्थतन्त्र गाउँको खेतबाट कारखानातर्फ सर्दै गएको देखाउँछ।

त्यसपछि आयो बचत र लगानी। १९६२ मा घरेलु बचत कुल राष्ट्रिय उत्पादनको केवल ३.३ प्रतिशत थियो। १९८९ मा यो ३५.८ प्रतिशत पुग्यो। अर्थात् करिब २७ वर्षमा बचत दर झन्डै ११ गुणा बढ्यो। अन्तर्राष्ट्रिय मुद्राकोषको दीर्घकालीन तथ्यांकले पनि यही प्रवृत्ति पुष्टि गर्छ – कुल राष्ट्रिय बचत १९६० को दशकमा औसत १४.५ प्रतिशत रहेकोमा १९७० को दशकमा २२.४ प्रतिशत र १९८० को दशकमा ३०.१ प्रतिशत पुगेको थियो।

लगानी पनि त्यही गतिमा बढ्यो। १९६२ मा कुल लगानी जीएनपीको १३ प्रतिशत थियो। १९६७ सम्ममा यो २०.३ प्रतिशत पुग्यो। यही पाँच वर्षमा घरेलु बचत २.२ प्रतिशतबाट ११.७ प्रतिशत पुग्यो। विदेशी बचतमाथिको निर्भरता पनि घट्दै गयो।

दक्षिण कोरियाको सबैभन्दा ठूलो हतियार थियो – निर्यात। १९६० को सुरुआतमा देशको निर्यात निकै सानो थियो। सन् १९६० मा कुल निर्यात केवल करिब ३२ मिलियन अमेरिकी डलर थियो, मुख्यतः टङ्स्टन र कृषि उत्पादनमा आधारित।

तर सरकारले निर्यातलाई राष्ट्रिय विकास रणनीतिको केन्द्रमा राखेपछि तस्वीर बदलियो। १९६४-६७ बीच निर्यात वार्षिक औसत ३९ प्रतिशत दरले बढ्यो।

सन् १९९० सम्म आइपुग्दा वस्तु तथा सेवाको निर्यात कुल जीडीपीको करिब २५ प्रतिशत बराबर पुगेको थियो र कुल व्यापार जीडीपीको ५०.७५ प्रतिशत पुगिसकेको थियो। त्यही वर्ष दक्षिण कोरियाको कुल जीडीपी करिब २८३.४ अर्ब अमेरिकी डलर पुगेको विश्व बैंकको तथ्यांकले देखाउँछ।

दक्षिण कोरियाले केवल धेरै उत्पादन गर्न थालेको थिएन-उसले विश्व बजारका लागि उत्पादन गर्न थालेको थियो। सुरुमा कपडा, जुत्ता, खेलौना र हल्का उत्पादनबाट सुरु भएको निर्यात क्रमशः इस्पात, जहाज, पेट्रोकेमिकल, विद्युतीय उपकरण, मोटरगाडी र उच्च मूल्यका औद्योगिक वस्तुतर्फ सर्यो।

१९७० को दशकमा सरकारले भारी तथा रासायनिक उद्योगलाई प्राथमिकता दियो। यही प्रक्रियाले पछि हुन्डाई, सामसुङ लगायतका ठूला औद्योगिक समूहलाई विश्व बजारमा विस्तार गर्ने आधार बनायो।

विश्व बैंकले पनि दक्षिण कोरियाको तीव्र रूपान्तरणको मूलमा १९६० को दशकमा सुरु गरिएको निर्यातमुखी विकास रणनीति र त्यससँगै तीव्र रूपमा बढेको घरेलु लगानीलाई प्रमुख कारण मानेको छ।

दक्षिण कोरियाको आर्थिक चमत्कारलाई एउटा मात्र अंकले व्याख्या गर्न सकिँदैन। प्रतिव्यक्ति आय बढ्यो, कुल उत्पादन बढ्यो, बचत बढ्यो, लगानी बढ्यो, उद्योगको हिस्सा बढ्यो, कृषि निर्भरता घट्यो, निर्यात दर्जनौँ गुणाले विस्तार भयो र अर्थतन्त्र विश्व बजारसँग जोडियो।

यी सबै परिवर्तन एउटै दिशामा गइरहेका थिए। राज्यले योजना बनायो, बैंकिङ प्रणालीमार्फत पूँजी परिचालन गर्यो, निजी उद्योगलाई निर्याततर्फ धकेल्यो, शिक्षा र सीपमा लगानी भयो र विदेशी प्रविधिलाई घरेलु उत्पादन क्षमतामा रूपान्तरण गरियो।

त्यसैले १९६२ देखि १९९० सम्मको दक्षिण कोरिया केवल आर्थिक वृद्धि भएको देश होइन – आर्थिक संरचना नै पुनर्निर्माण गरेको देश थियो।

विश्व बैंकको तथ्यांकअनुसार १९६० मा दक्षिण कोरियाको कुल गार्हस्थ्य उत्पादन करिब ४ अर्ब अमेरिकी डलर थियो।

१९७० मा यो ९.१ अर्ब, १९८० मा ६६.५ अर्ब, १९९० मा २९२.१ अर्ब, २००० मा करिब ५९७.५ अर्ब, २०१० मा १.१४ ट्रिलियन, २०१६ मा १.५८ ट्रिलियन र २०२५ मा करिब १.८७ ट्रिलियन अमेरिकी डलर पुग्यो। अर्थात् १९६० देखि २०२५ सम्म दक्षिण कोरियाको अर्थतन्त्रको आकार करिब ४७१ गुणा बढ्यो।

२०२६ को पूर्ण वार्षिक तथ्यांक भने अझै उपलब्ध भइसकेको छैन।

दक्षिण कोरियाको आर्थिक छलाङ केवल कुल गार्हस्थ्य उत्पादन बढेको कथा थिएन – यो अर्थतन्त्रको सम्पूर्ण संरचना बदलिएको कथा थियो।

१९६० को दशकमा कृषिमा निर्भर, गरिब र वैदेशिक सहायतामाथि टिकेको अर्थतन्त्रलाई सरकारले निर्यातमुखी औद्योगिकीकरणतर्फ मोड्यो।

कपडा, जुत्ता र अन्य श्रमप्रधान उत्पादनबाट सुरु भएको यात्रा क्रमशः इस्पात, जहाज निर्माण, पेट्रोकेमिकल, विद्युतीय उपकरण, मोटरगाडी र अन्ततः उच्च प्रविधिसम्म पुग्यो।

घरेलु बचत र लगानी तीव्र रूपमा बढे, कृषि क्षेत्रको हिस्सा लगातार घट्यो र उत्पादन तथा औद्योगिक क्षेत्र अर्थतन्त्रको मेरुदण्ड बन्दै गयो। निर्यातलाई विकासको मुख्य इन्जिन बनाउँदै सरकारले उद्योगलाई ऋण, कर छुट, पूर्वाधार र प्रविधिको पहुँच उपलब्ध गरायो।

१९९७ को एसियाली वित्तीय संकटले ठूलो धक्का दिए पनि दक्षिण कोरियाले संरचनागत सुधार र तीव्र पुनरुत्थानमार्फत केही वर्षमै आफ्नो आर्थिक गति फर्कायो।

२०२५ सम्म आइपुग्दा दक्षिण कोरिया युद्धपछिको सहायता-निर्भर, कृषिप्रधान अर्थतन्त्रबाट उच्च प्रविधि, निर्यात, अनुसन्धान र विश्वव्यापी कम्पनीमा आधारित करिब १.९ ट्रिलियन डलरको औद्योगिक शक्ति बनिसकेको छ।

सामसुङ, हुन्डाई, एलजी र एसके जस्ता विश्वव्यापी कम्पनीहरू यो रूपान्तरणका प्रतीक बने। यही असाधारण यात्रालाई इतिहासले ‘हान नदीको चमत्कार’ भनेर चिन्यो।

उत्तर र दक्षिण कोरिया: एउटै इतिहास, दुई अर्थतन्त्र

दक्षिण कोरियाको आर्थिक चमत्कारलाई केवल दक्षिणको कथा भनेर बुझ्न सकिँदैन। त्यसको वास्तविक अर्थ बुझ्न एउटै भूगोल, एउटै भाषा र दशकौँसम्म एउटै राजनीतिक इतिहास बोकेका उत्तर र दक्षिणतर्फ एकैपटक हेर्नुपर्छ।

किनकि १९६० को दशकको सुरुवातमा आजको दक्षिण कोरिया आर्थिक रूपमा कोरियाली प्रायद्वीपको अगाडि रहेको भाग थिएन। उल्टै, उत्तर कोरिया तुलनात्मक रूपमा धनी र औद्योगिक रूपमा अगाडि थियो।

ऐतिहासिक अध्ययनहरूका अनुसार १९६० अघिसम्म उत्तर कोरियाको प्रतिव्यक्ति उत्पादन दक्षिणको भन्दा करिब ३० देखि ५० प्रतिशतसम्म बढी थियो।

यसको एउटा कारण इतिहासमै थियो। जापानी औपनिवेशिक शासनका क्रममा प्रायद्वीपको औद्योगिक संरचना समान रूपमा बनेको थिएन। उत्तरतर्फको इला, खनिज, जलविद्युत् र भारी उद्योगको आधार विकसित गरिएको थियो।

दक्षिण भने तुलनात्मक रूपमा श्रमप्रधान कृषि र हल्का उत्पादनमा बढी निर्भर थियो। १९४५ पछि विभाजन हुँदा उत्तरले औद्योगिक पूर्वाधारको ठूलो हिस्सा पायो, जबकि दक्षिणले कृषि र श्रमको ठूलो आधार पायो।

कोरियाली युद्धले बाँकी संरचना पनि ध्वस्त पारिदियो। विश्व बैंकका अध्ययनअनुसार १९५० को दशकको मध्यसम्म दक्षिणमा उत्पादन उद्योगको योगदान कुल राष्ट्रिय उत्पादनको केवल करिब ८ प्रतिशत थियो र निर्यात कुल राष्ट्रिय उत्पादनको १.४ प्रतिशतमा सीमित थियो।

त्यसपछि दुई देशले एउटै संकटबाट बिल्कुल फरक बाटो रोजे। दक्षिण कोरियाले विश्व बजारलाई आफ्नो बजार बनाउने निर्णय गर्यो।

१९६० को दशकमा सरकारले आर्थिक वृद्धिलाई राष्ट्रिय प्राथमिकता बनाउँदै आयात प्रतिस्थापनबाट निर्यातमुखी औद्योगिकीकरणतर्फ निर्णायक मोड लियो। कपडा, जुत्ता, विग र अन्य श्रमप्रधान उत्पादनबाट सुरु भएको निर्यात विस्तार क्रमशः इस्पात, जहाज निर्माण, पेट्रोकेमिकल, विद्युतीय उपकरण, मोटरगाडी हुँदै उच्च प्रविधिसम्म पुग्यो।

सरकारले उद्योगलाई ऋण, कर सुविधा, पूर्वाधार र विदेशी प्रविधिसम्म पहुँच दिलायो, तर बदलामा विश्व बजारमा प्रतिस्पर्धा गर्नुपर्ने दबाब राख्यो।

विश्व बैंकका अनुसार १९६२ देखि १९९४ सम्म दक्षिण कोरियाको वास्तविक आर्थिक वृद्धि औसत करिब १० प्रतिशत वार्षिक रह्यो, जबकि वास्तविक निर्यात करिब २० प्रतिशत वार्षिक दरले बढ्यो।

उत्तर कोरियाले भने फरक दर्शन रोज्यो-आत्मनिर्भरता, राज्य नियन्त्रण र जुचे। प्रारम्भिक वर्षहरूमा यस मोडलले केही सफलता पनि दियो। युद्धपछिको पुनर्निर्माण, उद्योगको राष्ट्रियकरण र केन्द्रीय योजनाले उत्तरलाई केही समय तीव्र औद्योगिक विस्तार गर्न मद्दत गर्यो।

तर समस्या त्यहीँबाट सुरु भयो। विश्व बजारसँग गहिरो रूपमा जोडिनुको सट्टा अर्थतन्त्रलाई आत्मनिर्भर बनाउने प्रयास बढ्दै गयो। उत्पादन, व्यापार, लगानी र प्रविधिमा राज्यको नियन्त्रण गहिरिँदै जाँदा विश्व अर्थतन्त्रसँग प्रतिस्पर्धा गर्ने क्षमता कमजोर हुँदै गयो।

१९८० को दशकको मध्यसम्म आइपुग्दा उत्तर कोरियाको समाजवादी आर्थिक मोडलले आफ्नो प्रारम्भिक विस्तारको सीमा भेटिसकेको र अर्थतन्त्र स्थिरता वा गिरावटकै दिशामा गएको विश्व बैंकका अध्ययनहरूले देखाएका छन्।

यहीँबाट दुई कोरियाबीचको वास्तविक दूरी सुरु भयो। १९६० को दशकमा उत्तरको प्रारम्भिक आर्थिक अग्रता विस्तारै हराउँदै गयो। दक्षिणले निर्यात बढायो, विदेशी प्रविधि भित्र्यायो, घरेलु बचत र लगानी विस्तार गर्यो र उत्पादनको स्तर क्रमशः माथि उठायो।

उत्तर भने आफ्नो आर्थिक प्रणालीलाई बाहिरी संसारबाट अझ अलग गर्दै गयो। एक ऐतिहासिक अध्ययनले १९७० को दशकमा दुई देशको प्रतिव्यक्ति आयको अग्रता उल्टिएको र त्यसपछि आर्थिक अन्तर निरन्तर फराकिलो हुँदै गएको निष्कर्ष निकालेको छ।

त्यसपछि एउटा असाधारण दृश्य देखियो – सुरुवातमा गरिब रहेको दक्षिणले धनी रहेको उत्तरलाई पछाडि पार्यो, र केही दशकभित्रै अन्तर उल्टाउन नसकिने स्तरमा पुग्यो।

आजको तथ्यांकले त्यो दूरी कति ठूलो भइसकेको छ भन्ने देखाउँछ। विश्व बैंकका अनुसार २०२५ मा दक्षिण कोरियाको प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन ३६,२२७ अमेरिकी डलर पुगेको छ।

उत्तर कोरियाको अर्थतन्त्रको विश्वसनीय राष्ट्रिय तथ्यांक सीमित भएकाले त्यससँग प्रत्यक्ष तुलना गर्दा अनुमानमा भर पर्नुपर्छ। तर उपलब्ध अन्तर्राष्ट्रिय अनुमानहरूले दुई अर्थतन्त्रबीचको खाडल दर्जनौँ गुणासम्म पुगेको देखाउँछन्।

यसको अर्थ केवल दुई देशको आय फरक भयो भन्ने होइन। यो दुई फरक आर्थिक दर्शनको परिणाम हो। दक्षिणले विश्व बजारलाई अवसरका रूपमा हेर्यो, उत्तरले बाहिरी निर्भरतालाई जोखिमका रूपमा।

दक्षिणले निर्यातमार्फत विदेशी मुद्रा कमायो, प्रविधि सिक्यो र उद्योग विस्तार गर्यो। उत्तरले आत्मनिर्भरतालाई प्राथमिकता दिँदा विश्व व्यापार र प्रविधिको तीव्र परिवर्तनबाट क्रमशः टाढिँदै गयो।

दक्षिणको प्रारम्भिक औद्योगिकीकरणले पनि केवल पूँजी होइन, सीप, प्रविधि र मानव पुँजी निर्माणलाई अगाडि बढायो।

त्यसैले कोरियाली प्रायद्वीपको कथा विकास अर्थशास्त्रको एउटा असाधारण प्रयोगजस्तै देखिन्छ। एउटै भूगोल, एउटै भाषा, साझा इतिहास र युद्धको एउटै विनाशबाट निस्किएका दुई समाज – तर फरक नीति, फरक संस्था र फरक आर्थिक दर्शन।

एकतर्फ दक्षिण कोरिया विश्वका उच्च आय भएका, प्रविधि र निर्यातमा आधारित अर्थतन्त्रहरूमध्ये पुग्यो। अर्कोतर्फ उत्तर कोरिया दशकौँको आर्थिक अलगाव, संरचनागत कमजोरी र बाह्य व्यापारमा सीमित निर्भरतासँग जुधिरह्यो।

कोरियाली प्रायद्वीपको सबैभन्दा ठूलो पाठ सायद यही हो – प्राकृतिक स्रोत वा प्रारम्भिक सम्पत्तिले मात्र देशको भविष्य तय गर्दैन। त्यसलाई कसरी उपयोग गर्ने राज्यको नीति, विश्वसँगको सम्बन्ध, मानव पुँजी, प्रविधि र बजारप्रतिको दृष्टिकोणले इतिहासको दिशानै बदल्न सक्छ।

शिक्षालाई राष्ट्रिय उद्योग बनाउने देश

दक्षिण कोरियासँग ठूलो तेल भण्डार थिएन, प्रशस्त खनिज थिएन, न त युद्धपछिको विकास गर्न सकिने ठूलो औद्योगिक आधार नै बाँकी थियो। तर उससँग एउटा यस्तो स्रोत थियो, जसलाई कुनै विदेशी कम्पनीले किन्न सक्दैनथ्यो – मानव पूँजी।

त्यसैले दक्षिण कोरियाले शिक्षालाई सामाजिक कल्याणको विषय मात्र बनाएन, आर्थिक विकासको आधार बनायो। युद्धपछिध्वस्त भएको देशमा विद्यालय विस्तारलाई राष्ट्रिय प्राथमिकता दिइयो।

१९५३ मा प्राथमिक विद्यालयको भर्नादर करिब ६० प्रतिशत रहेकामा १९६० सम्म आइपुग्दा यो ८६ प्रतिशत पुगेको विश्व बैंकको तथ्यांकले देखाउँछ। साक्षरता पनि १९४५ को करिब २२ प्रतिशतबाट १९६० सम्म ७२ प्रतिशत पुगेको थियो।

त्यसपछि दक्षिण कोरियाले शिक्षा विस्तारलाई क्रमिक तर रणनीतिक बनायो। पहिले प्राथमिक शिक्षा व्यापक बनाइयो, त्यसपछि माध्यमिक शिक्षा र त्यसपछि उच्च शिक्षातर्फ ध्यान सारियो।

विश्व बैंकका अनुसार १९६० को दशक र १९७० को दशकमा माध्यमिक शिक्षाको विस्तारलाई विशेष प्राथमिकता दिइयो। १९६० मा १४ वर्ष उमेर समूहको माध्यमिक विद्यालय सहभागिता करिब २९ प्रतिशत थियो भने १९८० सम्म यो ४७ प्रतिशत पुगेको थियो।

१९७० सम्म प्राथमिक तहको लगभग सार्वभौम पहुँच हासिल भइसकेको थियो र १९७५ सम्म माध्यमिक विद्यालय उमेर समूहको करिब ६० प्रतिशत विद्यार्थी विद्यालयमा पुगिसकेका थिए।

तर कोरियाको विशेषता केवल धेरै विद्यार्थी विद्यालय पठाउनु थिएन। उसले उद्योगलाई चाहिने सीपअनुसार शिक्षा प्रणाली बदल्यो। १९६० को दशकमा श्रमप्रधान हल्का उद्योग विस्तार भइरहेका बेला आधारभूत शिक्षा र कम सीप भएका कामदारका लागि तालिममा जोड दिइयो।

१९७० को दशकमा अर्थतन्त्र इस्पात, जहाज निर्माण, पेट्रोकेमिकल र अन्य भारी उद्योगतर्फ मोडिँदा प्राविधिक र व्यावसायिक शिक्षाको विस्तार तीव्र भयो।

विश्व बैंकका अनुसार १९७० देखि १९७८ बीच व्यावसायिक विषयमा माध्यमिक तहका विद्यार्थीको संख्या दोब्बरभन्दा बढी भएर करिब ६ लाख १५ हजार पुगेको थियो र ती विद्यार्थीले माध्यमिक तहका कुल विद्यार्थीको करिब ४२ प्रतिशत हिस्सा ओगटेका थिए।

यसले शिक्षालाई उद्योगबाट अलग कार्यक्रम बन्न दिएन। उद्योग जता गयो, शिक्षा पनि त्यतै गयो। १९७० को दशकमा भारी तथा रासायनिक उद्योगको विस्तारसँगै सरकारले प्राविधिक विद्यालय, व्यावसायिक तालिम केन्द्र र इन्जिनियरिङ शिक्षालाई विस्तार गर्यो।

विश्व बैंकको अर्को अध्ययनअनुसार १९७० को दशकमा भारी उद्योगका लागि आवश्यक दक्ष प्राविधिक र विशेषज्ञको माग बढेपछि सरकारले प्राविधिक तथा व्यावसायिक शिक्षालाई तीव्र रूपमा विस्तार गरेको थियो।

१९७५ मा व्यावसायिक उच्च माध्यमिक विद्यालयका विद्यार्थी कुल उच्च माध्यमिक विद्यार्थीको करिब ४२.३ प्रतिशत रहेकामा १९८० मा यो करिब ४५ प्रतिशत पुगेको थियो।

यसको प्रत्यक्ष असर कारखानामा देखियो। दक्षिण कोरियाको औद्योगिकीकरण प्रारम्भमा अत्याधुनिक अनुसन्धानमा आधारित थिएन। उसले विदेशबाट उपलब्ध प्रविधि भित्र्यायो, त्यसलाई स्थानीय श्रमशक्तिले प्रयोग गर्न सिक्यो र क्रमशः आफ्नै क्षमता निर्माण गर्यो।

विश्व बैंकको अध्ययनअनुसार १९७० सम्म दक्षिण कोरियाको रोजगारीमा रहेका श्रमिकमध्ये लगभग सबै साक्षर थिए र उत्पादन क्षेत्रमा काम गर्ने करिब ९० प्रतिशत श्रमिकले कम्तीमा प्राथमिक वा माध्यमिक शिक्षा पूरा गरेका थिए।

यही व्यापक शिक्षित श्रमशक्तिले कपडा र जुत्ताजस्ता श्रमप्रधान उद्योगबाट इलेक्ट्रोनिक्स, मोटरगाडी, इस्पात र जहाज निर्माणजस्ता जटिल उत्पादनतर्फ जान आधार तयार गर्यो।

त्यसपछि शिक्षा र उद्योगबीचको सम्बन्ध अझ गहिरियो। चेबोलहरूले विस्तार गर्दै जाँदा उनीहरूलाई केवल धेरै कामदार चाहिएको थिएन, इन्जिनियर, प्राविधिक, डिजाइनर, व्यवस्थापक र अनुसन्धानकर्ता चाहिन थाले।

१९८० को दशकमा मोटरगाडी र विद्युतीय उद्योग विस्तार हुँदै जाँदा उच्च शिक्षाको विस्तार भयो। १९९० को दशकपछि सूचना प्रविधि, जैवप्रविधि र उच्च प्रविधि अर्थतन्त्रतर्फ अघि बढ्दा शिक्षाको केन्द्र पनि त्यही दिशामा सर्यो।

विश्व बैंकले दक्षिण कोरियाको मानव पुँजी रणनीतिलाई औद्योगिकीकरणसँग नजिकबाट जोडिएको क्रमिक प्रक्रियाका रूपमा वर्णन गरेको छ – प्रारम्भमा आधारभूत शिक्षा, त्यसपछि माध्यमिक र व्यावसायिक शिक्षा, र अन्ततः विज्ञान, प्रविधि तथा उच्च शिक्षामा लगानी।

यसैले दक्षिण कोरियाको शिक्षा नीति केवल ‘सबैलाई विद्यालय पठाउने’ अभियान थिएन। त्यो आर्थिक रणनीतिको पहिलो तह थियो।

विद्यालयले आधारभूत सीप दियो, प्राविधिक संस्थाले उद्योगका लागि दक्ष जनशक्ति तयार गर्यो, विश्वविद्यालयले इन्जिनियर र वैज्ञानिक उत्पादन गर्यो र निजी कम्पनीहरूले त्यस जनशक्तिलाई विश्व बजारमा प्रतिस्पर्धा गर्ने उत्पादनमा रूपान्तरण गरे।

शिक्षामा गरिएको लगानी र औद्योगिक नीतिबीच यही तालमेलले दक्षिण कोरियालाई श्रमप्रधान उत्पादनबाट प्रविधिप्रधान अर्थतन्त्रतर्फ लैजान मद्दत गर्यो।

आज सामसुङका सेमिकन्डक्टर इन्जिनियर, हुन्डाईका मोटर डिजाइनर, एलजीका प्रविधिविज्ञ वा दक्षिण कोरियाका जैवप्रविधि अनुसन्धानकर्ता कुनै अचानक बनेका उत्पादन होइनन्।

तिनको पछाडि सात दशक लामो विद्यालय, प्राविधिक तालिम, विश्वविद्यालय, अनुसन्धान र उद्योगबीचको लगानी छ। दक्षिण कोरियाले प्राकृतिक स्रोतको अभावलाई शिक्षित जनशक्तिले प्रतिस्थापन गर्यो।

त्यसैले कोरियाली आर्थिक चमत्कारको गहिराइ बुझ्ने हो भने कारखानाभन्दा पहिले कक्षाकोठा हेर्नुपर्छ।

दक्षिण कोरियाको सबैभन्दा ठूलो औद्योगिक नीति सम्भवतः कुनै कारखाना खोल्नु थिएन। मानिसलाई त्यस्तो बनाउनुथियो, जसले अर्को कारखाना खोल्न सकोस्, नयाँ प्रविधि सिक्न सकोस् र त्यसलाई अझ राम्रो बनाउन सकोस्।

यही कारणले दक्षिण कोरियामा शिक्षा सामाजिक उन्नतिको माध्यमबाट आर्थिक उत्पादनको आधार र अन्ततः राष्ट्रिय प्रतिस्पर्धात्मकताको हतियार बन्यो। शिक्षा र औद्योगिक नीति दुई अलग कार्यक्रम थिएनन् – दक्षिण कोरियाका लागि शिक्षा नै औद्योगिक नीति थियो।

चमत्कारको मूल्य

दक्षिण कोरियाको आर्थिक चमत्कारलाई केवल कारखाना, निर्यात, सडक र गगनचुम्बी भवनको कथा बनाएर पढियो भने यसको अर्को महत्वपूर्ण पाटो छुट्छ। जुन राज्यले तीव्र औद्योगिकीकरणलाई सम्भव बनायो, त्यही राज्य राजनीतिक रूपमा कठोर र दमनकारी पनि थियो।

पार्क चुंग-हीले १९६१ को सैनिक विद्रोहपछि सत्ता लिएर १९६३ मा राष्ट्रपति बने। उनको शासनको मुख्य प्राथमिकता आर्थिक वृद्धि थियो, तर त्यसका लागि राजनीतिक स्वतन्त्रता र नागरिक अधिकारमा ठूलो मूल्य चुकाइएको थियो।

विश्व बैंकका ऐतिहासिक अध्ययनहरूले पनि पार्क शासनको आर्थिक सफलतासँगै त्यसको अधिनायकवादी चरित्रलाई स्पष्ट रूपमा उल्लेख गरेका छन्।

पार्कको शासनमा राजनीतिक विपक्षीमाथि नियन्त्रण, प्रेसमाथि सेन्सर र नागरिक स्वतन्त्रतामाथि प्रतिबन्ध बढ्दै गयो। श्रमिक आन्दोलन पनि स्वतन्त्र थिएन। लामो समयसम्म मजदुरहरूलाई संगठित हुने र सामूहिक रूपमा आफ्ना माग राख्ने अधिकार सीमित अवस्थामा राखियो।

विश्व बैंकको अध्ययनले त्यस समयको सामाजिक सम्झौतालाई नै कमजोर श्रम अधिकारको बदलामा रोजगारीको सुरक्षा दिने व्यवस्थाका रूपमा व्याख्या गरेको छ।

मानव अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय दस्तावेजहरूले पनि १९८० को सुरुवातसम्म दक्षिण कोरियामा व्यापक मानव अधिकार उल्लंघन र राजनीतिक दमन भएको अभिलेख राखेका छन्।

१९७२ मा यो राजनीतिक नियन्त्रण अझ गहिरियो। पार्कले युसिन संविधान लागू गराए, जसले राष्ट्रपतिको शक्ति असाधारण रूपमा विस्तार गर्यो र राजनीतिक प्रणालीलाई अझ बढी केन्द्रीकृत बनायो।

आर्थिक विकासको नाममा राज्यको निर्णय क्षमता असाधारण रूपमा बलियो बनेको थियो। यही केन्द्रीकृत शक्तिले उद्योग, बैंकिङ, ऋण, लगानी र निर्यात नीतिलाई तीव्र गतिमा अघि बढाउन मद्दत गर्यो। तर यसको अर्को पाटो राजनीतिक नियन्त्रण थियो।

विश्व बैंकका अध्ययनहरूले पनि पार्ककालीन आर्थिक नीति निर्माणमा सरकारको प्रभुत्व र अधिनायकवादी राजनीतिक संरचनाबीचको सम्बन्धलाई स्पष्ट रूपमा औँल्याएका छन्।

तर यो पनि उत्तिकै महत्वपूर्ण प्रश्न हो – के दक्षिण कोरियाको आर्थिक चमत्कार अधिनायकवादकै कारण सम्भव भएको थियो? उत्तर त्यति सरल छैन। पार्क शासनले तीव्र निर्णय, औद्योगिक प्राथमिकता र राज्यको स्रोत परिचालन गर्न सक्ने क्षमता दिएको थियो।

तर आर्थिक सफलताको आधारमा केवल राजनीतिक दमन थिएन। निर्यातमुखी नीति, उच्च बचत र लगानी, शिक्षा, पूर्वाधार, मानव पुँजी, प्रविधि हस्तान्तरण, विश्व बजारसँगको एकीकरण र निजी क्षेत्रको विस्तारले पनि निर्णायक भूमिका खेले।

विश्व बैंकका अनुसार १९६२ देखि १९९४ सम्म दक्षिण कोरियाको वास्तविक आर्थिक वृद्धि औसत करिब १० प्रतिशत वार्षिक थियो र वास्तविक निर्यात करिब २० प्रतिशत वार्षिक दरले बढेको थियो।

१९७९ मा पार्कको हत्या भएपछि राजनीतिक संकट रोकिएन। १९८० मा चुन डु-ह्वानको नेतृत्वमा सैन्य शासन बलियो भयो र ग्वाङ्जु लोकतन्त्र आन्दोलनको हिंसात्मक दमनले राज्यको कठोर चरित्रलाई फेरि उजागर गर्यो।

त्यस घटनापछि दक्षिण कोरियामा लोकतन्त्रको माग अझ शक्तिशाली बन्दै गयो। अन्ततः १९८७ को विशाल लोकतान्त्रिक आन्दोलनपछि प्रत्यक्ष राष्ट्रपति निर्वाचन पुनःस्थापित भयो र देश सैन्य-केन्द्रित शासनबाट लोकतान्त्रिक राजनीतिक व्यवस्थातर्फ निर्णायक रूपमा अघि बढ्यो।

तर यहाँ दक्षिण कोरियाको कथाको सबैभन्दा महत्वपूर्ण मोड देखिन्छ। लोकतन्त्र आएपछि अर्थतन्त्र ध्वस्त भएन। उल्टै आर्थिक रूपान्तरण जारी रह्यो।

विश्व बैंकका अनुसार १९८० को दशकदेखि सरकारको प्रत्यक्ष नियन्त्रण क्रमशः कमजोर हुँदै गयो र १९८७ को लोकतान्त्रीकरणले स्वतन्त्र तथा प्रतिस्पर्धी निर्वाचनको नयाँ युग सुरु गर्यो।

त्यसपछि दक्षिण कोरियाले राजनीतिक स्वतन्त्रता विस्तारसँगै आर्थिक उदारीकरण, श्रम अधिकार, संस्थागत सुधार र बजारमा आधारित अनुशासनतर्फ पनि यात्रा गर्यो।

यसैले दक्षिण कोरियाको अनुभवलाई ‘अधिनायकवादले आर्थिक चमत्कार जन्मायो’ भनेर व्याख्या गर्नु अधुरो हुन्छ।

बरु यसको गहिरो पाठ अर्को छ – बलियो राज्यले विकासको दिशा तय गर्न सक्छ, स्रोत परिचालन गर्न सक्छ र दीर्घकालीन औद्योगिक लक्ष्य अघि बढाउन सक्छ; तर राजनीतिक दमन त्यसका लागि अनिवार्य शर्त होइन।

दक्षिण कोरियाले यही कुरा आफ्नै इतिहासबाट प्रमाणित गर्यो। अधिनायकवादी कालमा बनेको औद्योगिक आधारलाई लोकतान्त्रिक कालले समाप्त गरेन – त्यसलाई अझ खुला, प्रतिस्पर्धी र विश्वव्यापी अर्थतन्त्रमा विस्तार गर्यो।

त्यसैले ‘हान नदीको चमत्कार’को पूर्ण कथा दुईवटा तस्वीर जोडेर मात्र देखिन्छ – एउटा तस्वीरमा कारखानाको धुवाँ, निर्यातको उछाल र तीव्र आर्थिक वृद्धि छ; अर्को तस्वीरमा राजनीतिक बन्देज, श्रमसंघर्ष, मानव अधिकारको प्रश्न र लोकतन्त्रका लागि सडकमा उत्रिएको समाज।

दक्षिण कोरियाको असाधारण उपलब्धि केवल उसले कति छिटो धनी भयो भन्नेमा छैन। उसले आर्थिक विकाससँगै आफ्नो राजनीतिक व्यवस्थापन पनि परिवर्तन गर्न सक्यो भन्नेमा पनि छ।

संकटमा पर्दा जनताको साथ

सन् १९९६ सम्म दक्षिण कोरिया बाहिरबाट हेर्दा सफलताको शिखरमा पुगेको देश थियो। तीन दशकको तीव्र औद्योगिकीकरणले उसलाई ग्रामीण र विकासशील अर्थतन्त्रबाट आधुनिक औद्योगिक शक्तिमा रूपान्तरण गरिसकेको थियो।

आर्थिक वृद्धिदर लामो समय औसत ८.५ प्रतिशतभन्दा माथि रह्यो, प्रतिव्यक्ति आय १० हजार डलर नाघिसकेको थियो र सन् १९९६ मा दक्षिण कोरिया आर्थिक सहयोग तथा विकास संगठनको २९औँ सदस्य बन्ने चरणमा पुग्यो।

विश्वका ठूला बजारमा कोरियाली उत्पादन फैलिइरहेका थिए र सामसुङ, हुन्डाई, एलजी, देवू र एसकेजस्ता औद्योगिक समूह विश्वव्यापी प्रतिस्पर्धामा प्रवेश गरिसकेका थिए।

तर सफलताको चम्किलो सतहमुनि अर्को कथा पाकिरहेको थियो। कोरियाली औद्योगिक मोडलले ठूलो मात्रामा ऋण लिएर ठूलो हुने संस्कार विकास गरेको थियो।

चेबोलहरूलाई बैंक ऋण सहज थियो, र उद्योग विस्तार, नयाँ कम्पनी खरिद तथा नयाँ क्षेत्रमा प्रवेश गर्न ऋणमा निर्भरता बढ्दै गएको थियो। १९९६ को अन्त्यमा ठूला चेबोलहरूको ऋण-स्वपुँजी अनुपात औसत ३८७ प्रतिशत थियो।

१९९७ को अन्त्यसम्म त्यो ५१८ प्रतिशत पुग्यो। उत्पादन क्षेत्रमा समग्र ऋण-स्वपुँजी अनुपात पनि ३०० प्रतिशतबाट बढेर करिब ४०० प्रतिशत पुग्यो।

समस्या कम्पनीमा मात्र थिएन। बैंकिङ प्रणाली पनि कमजोर संरचनामा बाँधिएको थियो। बैंकर ठूला औद्योगिक समूहबीचको सम्बन्ध अत्यन्त घनिष्ठ थियो र कम्पनीहरूले ठूलो हिस्सा छोटो अवधिको बैंक ऋणबाट लगानी गरिरहेका थिए।

विदेशी मुद्रा जोखिम र ऋणको समयावधिबीचको असन्तुलनले संकट आउँदा समस्या झन् गम्भीर बनायो। १९९७ को अन्त्यसम्म शीर्ष ३० चेबोलको कुल ऋण ३५७ ट्रिलियन वन पुगेको थियो, जुन त्यतिबेलाको कुल गार्हस्थ्य उत्पादनको करिब ८५ प्रतिशत बराबर थियो।

सन् १९९७ को सुरुवातमै संकटको पहिलो संकेत देखियो। जनवरीमा हान्बो स्टिल एन्ड आइरनको पतन भयो। त्यसपछि अन्य ठूला कम्पनीहरू पनि एकपछि अर्को समस्यामा पर्न थाले। लगानीकर्ताको विश्वास घट्दै गयो।

विदेशी बैंकहरूले छोटो अवधिका ऋण नवीकरण गर्न हिच्किचाउन थाले। बाह्य ऋण तिर्न तत्काल आवश्यक पर्ने डलरको माग बढ्दै गयो, तर कोरियाको प्रयोग गर्न सकिने विदेशी मुद्रा सञ्चिति तीव्र रूपमा घट्न थाल्यो।

डिसेम्बरको सुरुवातसम्म प्रयोग गर्न सकिने विदेशी मुद्रा सञ्चिति करिब ६ अर्ब डलरमा झरिसकेको थियो, जबकि अक्टोबरको अन्त्यमा यो करिब २२.५ अर्ब डलर थियो। त्यही समयमा कोरियाली वन अमेरिकी डलरको तुलनामा २० प्रतिशतभन्दा बढी कमजोर भइसकेको थियो।

नोभेम्बर १९९७ मा स्थिति यति गम्भीर बन्यो कि दक्षिण कोरिया अन्तर्राष्ट्रिय मुद्राकोषसँग सहयोग माग्न बाध्य भयो। डिसेम्बर ४ मा अन्तर्राष्ट्रिय मुद्राकोषले करिब २१ अर्ब डलरको ऋण कार्यक्रम स्वीकृत गर्यो।

विश्व बैंक र एसियाली विकास बैंकबाट थप १४ अर्ब डलर तथा विभिन्न देशबाट २३ अर्ब डलरको अतिरिक्त सुरक्षा कोषसहित कुल सहयोग प्याकेज ५८.४ अर्ब डलर पुग्यो। त्यो त्यतिबेलासम्म अन्तर्राष्ट्रिय मुद्राकोषको इतिहासकै सबैभन्दा ठूलो उद्धार प्याकेज थियो।

तर यो केवल बैंक र कम्पनीको संकट थिएन। यसको भार घरघरमा पुग्यो। कारखाना बन्द हुन थाले, ऋणमा डुबेका कम्पनीहरूले कर्मचारी कटौती गरे र मध्यमवर्गीय परिवारको आम्दानी र बचतमाथि दबाब बढ्यो।

बेरोजगारी दर जुन १९९७ को जुनमा केवल २.३ प्रतिशत थियो, १९९९ को फेब्रुअरीमा ८.७ प्रतिशतसम्म पुग्यो। सन् १९९८ मा वास्तविक कुल गार्हस्थ्य उत्पादन ६.७ प्रतिशतले खुम्चियो, जुन दशकौँपछिको सबैभन्दा गम्भीर आर्थिक संकुचनमध्ये एक थियो।

तर त्यही अँध्यारो समयमा दक्षिण कोरियाली समाजको एउटा असाधारण दृश्य देखियो। सुन संकलन अभियान। १९९८ को सुरुवातमा लाखौँ सर्वसाधारणले आफ्ना विवाहका औँठी, हार, बाला, पदक र अन्य सुनका सामान संकलन केन्द्रमा बुझाउन थाले।

यो सरकारलाई निःशुल्क दान गर्ने अभियान मात्र थिएन। संकलित सुन मूल्यांकन गरेर अन्तर्राष्ट्रिय बजारमा बिक्री तथा निर्यात गरिन्थ्यो र त्यसबाट प्राप्त विदेशी मुद्रा संकटबाट बाहिर निस्कन प्रयोग हुन्थ्यो।

अभियानमा करिब ३५ लाख १० हजार मानिस सहभागी भए। उनीहरूले करिब २२७ टन सुन जम्मा गरेर त्यसको निर्यातबाट करिब २२ अर्ब डलर होइन, २.२ अर्ब डलर बराबरको विदेशी मुद्रा प्राप्त भयो।

त्यो दृश्य आर्थिक तथ्यांकभन्दा ठूलो थियो। देशसँग डलर कम थियो, तर नागरिकसँग बचतको अन्तिम प्रतीकका रूपमा सुन थियो। कसैले विवाहको औँठी दिए, कसैले वर्षौँदेखि सुरक्षित राखेको हार।

यो अभियानले तत्काल विदेशी मुद्रा संकट समाधान गर्ने सम्पूर्ण भार बोकेको थिएन, तर यसले संकटका बेला राज्य, समाज र नागरिकबीच बनेको असाधारण सामूहिक भावनाको प्रतीक बन्यो। दक्षिण कोरियाको आर्थिक इतिहासमा सुन संकलन अभियान त्यसैले केवल आर्थिक घटना होइन, राष्ट्रिय मनोबलको कथा पनि बन्यो।

तर सुन बेचेर मात्र चमत्कार फर्किएको थिएन। संकटले दक्षिण कोरियालाई आफ्नो पुरानो आर्थिक मोडल पुनर्विचार गर्न बाध्य बनायो।

सरकारले कमजोर बैंकहरू पुनर्संरचना गर्यो, वित्तीय संस्थाको निगरानी बलियो बनायो, अत्यधिक ऋणमा चलेका कम्पनीमाथि दबाब बढायो र चेबोलहरूको ऋण घटाउने तथा पारदर्शिता सुधार्ने प्रक्रिया अघि बढायो।

शीर्ष ३० चेबोलको अत्यधिक ऋण संरचना क्रमशः घट्दै गयो। उत्पादन क्षेत्रको औसत ऋण-स्वपुँजी अनुपात १९९७ को करिब ४०० प्रतिशतबाट २००० सम्म करिब १७५ प्रतिशतमा झर्यो।

र त्यसपछि पुनरुत्थान आयो – अपेक्षा गरिएकोभन्दा धेरै छिटो। १९९८ मा ६.७ प्रतिशतले खुम्चिएको अर्थतन्त्र १९९९ मा १०.७ प्रतिशतले बढ्यो र २००० मा थप ८.८ प्रतिशतको वृद्धि भयो।

अन्तर्राष्ट्रिय मुद्राकोषले कोरियाली पुनरुत्थानलाई तीव्र ‘भी’ आकारको पुनरुत्थानका रूपमा वर्णन गरेको छ। १९९८ को अन्तिम त्रैमासिकबाट आर्थिक गतिविधि फर्किन थालेको थियो र १९९९ मा निजी माग, निर्यात र नयाँ प्रविधिमा लगानीले पुनरुत्थानलाई गति दिए।

यही संकटले दक्षिण कोरियाको अर्को ठूलो रूपान्तरणको ढोका खोल्यो। पुरानो कोरिया इस्पात, जहाज, मोटरगाडी र पेट्रोकेमिकलमा बनेको थियो। संकटपछि उसले आफ्नो भविष्यलाई अझ बढी सूचना प्रविधि, मोबाइल, विद्युतीय उपकरण र सेमिकन्डक्टरसँग जोड्न थाल्यो।

संकटअघि नै सामसुङले सेमिकन्डक्टरमा ठूलो दाउ लगाइसकेको थियो। १९७४ मा उसले कोरियाली सेमिकन्डक्टर कम्पनीको ५० प्रतिशत हिस्सा करिब ५० लाख होइन, ५० लाख अमेरिकी डलरमा किनेको थियो र त्यही जोखिमपूर्ण सुरुवातपछि विश्वस्तरीय स्मृतिचिप व्यवसायको आधार बन्यो।

१९८३ मा सामसुङले ६४ किलोबिटको गतिशील अनियमित पहुँच स्मृति चिप विकास गर्यो। १९९२ मा उसले विश्वकै पहिलो ६४ मेगाबिट स्मृति चिप विकास गर्यो। यसरी संकट आउनुभन्दा धेरैअघि सुरु भएको प्रविधिको बीउ १९९७ पछिको पुनर्संरचनासँगै तीव्र गतिमा हुर्कियो।

आज त्यसको परिणाम देखिन्छ। २०२४ मा दक्षिण कोरियाको सेमिकन्डक्टर निर्यात १४१.९ अर्ब डलर पुगेको थियो, जुन कुल निर्यातको करिब २१ प्रतिशत थियो।

सामसुङ इलेक्ट्रोनिक्स र एसके हाइनिक्स विश्वको स्मृतिचिप उद्योगका प्रमुख खेलाडी बनेका छन्। कृत्रिम बुद्धिमत्ताको विस्तारसँगै उच्च ब्यान्डविथ स्मृतिचिपको माग बढ्दा कोरियाली कम्पनीहरूको रणनीतिक महत्व अझ बढेको छ।

यसरी १९९७ को संकट दक्षिण कोरियाको चमत्कारको अन्त्य बनेन। बरु पहिलो चमत्कारको परीक्षा र दोस्रो चमत्कारको सुरुवात बन्यो। पहिलो चरणमा दक्षिण कोरियाले कारखाना, सडक, जहाज र मोटरगाडी बनाएर विश्व बजार जितेको थियो।

दोस्रो चरणमा उसले चिप, मोबाइल, सूचना प्रविधि र उच्च प्रविधिमार्फत विश्व अर्थतन्त्रको अझ गहिरो तहमा प्रवेश गर्यो।

१९९७ ले एउटा कठोर पाठ पनि छोड्यो – तीव्र वृद्धि आफैँमा पर्याप्त हुँदैन। ऋणले गति दिन सक्छ, तर विवेकबिनाको ऋणले त्यही गतिलाई संकटमा बदल्न सक्छ।

दक्षिण कोरियाको वास्तविक शक्ति संकट नआउनुमा थिएन। संकट आएपछि आफ्नो आर्थिक संरचना बदल्न सक्नुमा थियो। र यहीँबाट कोरियाली कथाले नयाँ नाम पाउँछ – चमत्कारको दोस्रो अध्याय।

जब संस्कृति नै निर्यात बन्यो

दक्षिण कोरियाले एक समय जहाज, मोटरगाडी, इस्पात र इलेक्ट्रोनिक्स बेचेर विश्व बजार जित्यो। तर उसको सबैभन्दा रोचक निर्यात अन्ततः कारखानाबाट होइन, कथाबाट आयो।

एउटा गीत, एउटा चलचित्र, एउटा टेलिभिजन शृंखला, एउटा वेबटुन वा एउटा सौन्दर्य सामग्रीले पनि देशको नाम, भाषा, खाना, फेसन र उत्पादनलाई सीमापार पुर्याउन सक्छ भन्ने कुरा दक्षिण कोरियाले अरू धेरै देशभन्दा पहिले बुझ्यो।

यही प्रक्रियाबाट ‘हल्ल्यु’ अर्थात् कोरियाली लहर जन्मियो – र संस्कृति बिस्तारै मनोरञ्जनबाट उद्योग, उद्योगबाट निर्यात र निर्यातबाट राष्ट्रिय ब्रान्डमा बदलियो।

यसको बीउ १९९० को दशकअघि नै रोपिएको थियो। तर १९९७-९८ को एसियाली वित्तीय संकटपछि यसको आर्थिक महत्व अचानक बढ्यो। संकटले दक्षिण कोरियालाई पुरानो ऋणमा आधारित औद्योगिक विस्तारको सीमाबारे सोच्न बाध्य बनायो।

सरकारले सूचना प्रविधि र सांस्कृतिक उद्योगलाई नयाँ वृद्धिक्षेत्रका रूपमा हेर्न थाल्यो। १९९० को दशकको मध्यदेखि नै सांस्कृतिक उद्योगलाई नीतिगत समर्थन दिन थालिएको थियो र किम डे-जुङको सरकार आएपछि १९९८ पछि यो नीति अझ संस्थागत बन्यो।

सरकारले सांस्कृतिक उद्योगका लागि कानुनी संरचना, लगानी संयन्त्र र सार्वजनिक समर्थन विस्तार गर्यो। महत्वपूर्ण कुरा, राज्यले कलाकारको ठाउँमा सिर्जना गर्ने प्रयास गरेन – उसले सिर्जना हुने उद्योगको पूर्वाधार बनायो।

त्यसको पहिलो ठूलो सफलता चलचित्र र टेलिभिजनमा देखियो। कोरियाली निर्माताले सीमित घरेलु बजारलाई मात्र लक्षित गरेर सामग्री बनाउन छाडे।

गुणस्तरीय कथा, तीव्र उत्पादन क्षमता, आकर्षक दृश्य भाषा र स्थानीय संस्कृतिलाई आधुनिक शैलीमा प्रस्तुत गर्ने क्षमताले कोरियाली सामग्रीलाई पहिले एसियाली बजारमा पुर्यायो।

१९९० को दशकको अन्त्यमा पूर्वी एसियामा फैलिएको हल्ल्यु त्यसपछि २००० को दशकमा विश्व बजारतर्फ लाग्यो। अनुसन्धानले पनि कोरियाली सांस्कृतिक उद्योगको विस्तारलाई सूचना तथा सञ्चार प्रविधि, आर्थिक उदारीकरण, बढ्दो मध्यमवर्ग र निर्यातमुखी औद्योगिक नीतिसँग जोडेको छ।

यसमा प्रविधिले निर्णायक भूमिका खेल्यो। पहिले टेलिभिजनको एउटा शृंखला अर्को देशको प्रसारण संस्थामार्फत पुग्थ्यो। इन्टरनेट र सामाजिक सञ्जाल आएपछि कलाकारले संसारभरका दर्शकसँग सीधा सम्बन्ध बनाउन पाए।

युट्युबले गीतलाई रेडियोको सीमाबाट निकाल्यो। डिजिटल मञ्चहरूले भाषाको सीमालाई कमजोर बनाए। त्यसपछि नेटफ्लिक्सजस्ता विश्वव्यापी वितरण मञ्चले कोरियाली सामग्रीलाई एकैपटक दर्जनौँ देशका दर्शकसम्म पुर्याउन थाले।

२०२२ मा नेटफ्लिक्सका विश्वभरका ६० प्रतिशतभन्दा बढी सदस्यले कुनै न कुनै कोरियाली सामग्री हेरेका थिए।

‘स्क्विड गेम’ यस परिवर्तनको सबैभन्दा शक्तिशाली उदाहरण बन्यो। एउटा कोरियाली कथा विश्वव्यापी मनोरञ्जनको केन्द्रमा पुग्यो। त्यसपछि कोरियाली नाटक, चलचित्र, वास्तविकता-आधारित कार्यक्रम र प्रेमकथाको अन्तर्राष्ट्रिय दर्शक तीव्र रूपमा बढ्यो।

नेटफ्लिक्सका अनुसार २०१८ देखि २०२२ बीच उसको कोरियाली प्रेमकथा सामग्रीको विश्वव्यापी हेराइ तीन गुणा बढ्यो र २०२२ मा त्यसको ९० प्रतिशतभन्दा बढी हेराइ दक्षिण कोरियाबाहिरबाट आएको थियो।

नेटफ्लिक्सले सम्भावना देखेपछि पैसा पनि पछ्यायो। २०२३ मा उसले आगामी चार वर्षमा कोरियाली शृंखला, चलचित्र र अन्य सामग्री उत्पादनका लागि २.५ अर्ब अमेरिकी डलर लगानी गर्ने घोषणा गर्यो।

कम्पनीका अनुसार यो २०१६ मा दक्षिण कोरियाली बजारमा प्रवेश गरेयताको घोषित लगानीको करिब दोब्बर थियो। अर्थात् कोरियाली सामग्री अब कोरियाले विश्वलाई बेच्ने वस्तु मात्र थिएन – विश्वका ठूला मनोरञ्जन कम्पनीले कोरियामै पैसा लगानी गरेर विश्व बजारका लागि उत्पादन गर्न थालेका थिए।

हल्ल्युको वास्तविक आर्थिक शक्ति भने पर्दामा देखिने आम्दानीभन्दा बाहिर छ। एउटा गीतले टिकट बेच्दछ, तर त्यही गीतले कोरियाको यात्रा खोज्ने पर्यटक पनि जन्माउन सक्छ। एउटा नाटकले दर्शक तान्छ, तर त्यही दर्शकले कोरियाली सौन्दर्य सामग्री, कपडा, खाना वा भाषा सिक्न खोज्न सक्छ।

दक्षिण कोरियाली सरकारले त्यसैले सामग्रीलाई फेसन, खाना, पर्यटन र सूचना प्रविधिसँग जोडेर हेर्न थालेको छ। २०२३ मा संस्कृति मन्त्रालयले कोरियाली सामग्रीको निर्यातलाई २०२७ सम्म २५ अर्ब डलर पुर्याउने लक्ष्य राख्दै सामग्रीसँग सम्बन्धित उत्पादन र सेवाको निर्यात विस्तार गर्ने रणनीति सार्वजनिक गरेको थियो।

केही वर्षमै यसको आकार पनि बदलियो। दक्षिण कोरियाको सांस्कृतिक सामग्री निर्यात २०२१ मा १२.४ अर्ब डलर पुगेको सरकारी तथ्यांक छ – त्यो समयसम्मको कीर्तिमानी स्तर। सरकारले त्यसलाई नयाँ निर्यात इन्जिनका रूपमा हेर्न थालेको थियो।

सामग्री उद्योगमा खेल, चलचित्र, संगीत, प्रसारण, प्रकाशन, वेबटुन र अन्य डिजिटल सिर्जनात्मक क्षेत्र जोडिँदै गए। यसको विशेषता पनि यही थियो – एउटा गीत वा चलचित्र बेच्दा त्यसको कच्चापदार्थ पुनःआयात गर्नुपर्दैन।

तेल, फलाम वा तामाजस्तो स्रोत सकिँदैन। कथा एकपटक बनाएपछि त्यसलाई लाखौँपटक विश्वभर बेच्न सकिन्छ।

हल्ल्युको फैलावटको अर्को मापन दर्शक होइन, समुदाय हो। कोरिया फाउन्डेसन र विदेश मन्त्रालयको २०२३ को विश्वव्यापी हल्ल्यु सर्वेक्षणअनुसार डिसेम्बर २०२३ सम्म विश्वभर हल्ल्यु प्रशंसकको संख्या करिब २२ करोड ५० लाख पुगेको थियो।

२०१२ मा यस्तो संख्या केवल ९२ लाख ६० हजार थियो। अर्थात् ११ वर्षमा विश्वव्यापी प्रशंसक आधार करिब २४ गुणा बढ्यो। सर्वेक्षण ११९ देश र १७२ कोरियाली कूटनीतिक नियोगबाट संकलित सूचनामा आधारित थियो। एसिया र ओसियानामा मात्रै करिब १५ करोड प्रशंसक थिए।

यस प्रभावको एउटा असाधारण उदाहरण बीटीएस हो।

२०१८ मा ह्युन्डाई अनुसन्धान संस्थानले बीटीएसको लोकप्रियताबाट कोरियाली अर्थतन्त्रमा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा वार्षिक करिब ४.१४ ट्रिलियन वनको उत्पादन प्रभाव र करिब १.४२ ट्रिलियन वनको मूल्य अभिवृद्धि प्रभाव पर्ने अनुमान गरेको थियो।

अनुसन्धानले बीटीएससँग सम्बन्धित विदेशी पर्यटक र कपडा, सौन्दर्य सामग्री तथा खाद्यवस्तुको निर्यातमा परेको प्रभाव पनि समेटेको थियो। त्यसअनुसार बीटीएसका कारण करिब ८ लाख विदेशी पर्यटक वार्षिक रूपमा कोरिया आउने अनुमान गरिएको थियो।

यसले दक्षिण कोरियाली निर्यातको प्रकृति नै बदलिदियो। पहिले ‘कोरियामा बनेको’ भन्ने वाक्यले उत्पादनको गुणस्तर जनाउँथ्यो। हल्ल्युको उदयपछि त्यसमा अर्को अर्थ थपियो – ‘कोरियाली’ हुनु आफैंमा एउटा आकर्षक ब्रान्ड बन्यो।

के-पप सुन्ने उपभोक्ताले कोरियाली फेसन खोज्न सक्छ। कोरियाली नाटक हेर्ने दर्शकले कोरियाली खाना चाख्न सक्छ। कोरियाली सौन्दर्य सामग्री प्रयोग गर्ने उपभोक्ताले कोरियाली जीवनशैलीप्रति चासो राख्न सक्छ।

संस्कृति यसरी अन्य निर्यातका लागि बजार खोल्ने ढोका बन्न पुग्यो। ह्युन्डाई अनुसन्धान संस्थानले पनि हल्ल्युको आर्थिक प्रभावलाई सांस्कृतिक क्षेत्रभन्दा बाहिर उपभोक्ता वस्तु र पर्यटनसम्म विस्तार गर्न सकिने निष्कर्ष निकालेको थियो।

तर कोरियाली मोडलको सबैभन्दा रोचक पक्ष राज्य र निजी क्षेत्रबीचको सम्बन्ध हो। सरकारले पैसा हालेर गीत हिट गराएको होइन। उसले सामग्री उद्योगलाई वित्त, पूर्वाधार, कानुनी संरचना, प्रतिभा विकास र विदेशी बजारसम्म पहुँच दिने वातावरण तयार गर्यो।

२०२३ मा संस्कृति मन्त्रालयले के-सामग्रीका लागि ८४४.२ अर्ब वनको बजेट छुट्याएको थियो, जुन मन्त्रालयको कुल बजेटको १२.५ प्रतिशत थियो।

त्यही वर्ष सामग्री निर्यात बढाउन ७९० अर्ब वनको नीतिगत वित्तीय सहयोगको योजना पनि अघि सारियो। लक्ष्य स्पष्ट थियो – संस्कृति केवल राष्ट्रिय पहिचान होइन, निर्यात रणनीति पनि हो।

यस यात्राको अन्तिम मोड साहित्यमा देखियो। २०२४ मा लेखक हान काङ नोबेल साहित्य पुरस्कार जित्ने पहिलो दक्षिण कोरियाली र एसियाकै प्रमुख साहित्यिक आवाजमध्ये एकका रूपमा विश्वमञ्चमा उभिइन्।

यो संगीत वा चलचित्रको जस्तो ठूलो व्यावसायिक निर्यात होइन। तर यसको सांकेतिक मूल्य फरक थियो – कोरियाली प्रभाव अब गीत, नाटक र चलचित्रमा मात्र सीमित थिएन; भाषा, साहित्य र विचारसम्म फैलिएको थियो।

दक्षिण कोरियाको तेस्रो निर्यात त्यसैले कुनै एउटा वस्तु होइन। यो एउटा प्रणाली हो। कारखानाले वस्तु बनायो, विश्वविद्यालयले प्रतिभा बनायो, प्रविधिले वितरण गर्यो, कम्पनीले बजार बनायो र संस्कृतिले ती सबैलाई एउटै राष्ट्रिय ब्रान्डमा बाँध्यो।

१९६० को दशकमा दक्षिण कोरिया संसारलाई कपडा बेच्थ्यो। त्यसपछि जहाज र मोटरगाडी बेच्यो। इलेक्ट्रोनिक्स र चिप बेच्यो। र अन्ततः उसले एउटा यस्तो वस्तु बेच्न थाल्यो, जसको ढुवानी खर्च लगभग शून्य थियो – आफ्नै संस्कृति।

यही दक्षिण कोरियाली मोडलको अर्को ठूलो पाठ हो – पहिले देशले सामानको ब्रान्ड बनायो, त्यसपछि सामान बेच्ने देशकै ब्रान्ड बनायो।

कोरियाको विकास नेपालका लागि पाठ

दक्षिण कोरियाको सबैभन्दा ठूलो पाठ कुनै एउटा उद्योग, कम्पनी वा आर्थिक नीतिमा छैन। त्यो एउटा सोचमा छ- देश बन्ने हो भने पहिले देश बनाउने सपना देख्नुपर्छ। सन् १९५० को दशकमा कोरिया युद्धले ध्वस्त थियो।

पूँजी र उद्योगको अभाव थियो। प्राकृतिक स्रोत पनि उल्लेख्य थिएन। देश विदेशी सहयोगमा निर्भर थियो। तर उसले विकासलाई संयोगमा छाडेन।

राज्यले प्राथमिकता तोक्यो, पूर्वाधारमा लगानी गर्यो, शिक्षा विस्तार गर्यो, उद्योगलाई प्रोत्साहन दियो र अर्थतन्त्रलाई विश्व बजारतर्फ मोड्यो।

१९६० को दशकदेखि सडक, रेल, कृषि, शिक्षा र औद्योगिक आधार निर्माणसँगै निर्यातमुखी रणनीति अघि बढ्यो। विश्व बैंकका अनुसार १९६२ देखि १९९४ बीच कोरियाको वास्तविक जीडीपी औसत करिब १० प्रतिशतले बढ्यो भने वास्तविक निर्यात वार्षिक करिब २० प्रतिशतले विस्तार भयो।

यसको अर्थ नेपालले कोरियाको मोडल हुबहु नक्कल गर्नुपर्छ भन्ने होइन। समय, भूगोल, राजनीति र विश्व अर्थतन्त्र फरक छन्। कोरियाले पाएको अमेरिकी सुरक्षा, विदेशी सहायता, जापानी बजार तथा शीतयुद्धको भू-राजनीतिक लाभ नेपालले पाउन सक्दैन। तर विकासलाई व्यवस्थित गर्ने तरिका भने सिक्न सक्छ।

पहिलो – प्राथमिकता

कोरियाले एकैपटक सबै क्षेत्रमा विश्वस्तरीय बन्न खोजेन। पहिले पूर्वाधार, त्यसपछि उत्पादन र निर्यात, त्यसपछि भारी उद्योग र अन्ततः प्रविधि तथा अनुसन्धान।

नेपालले पनि सीमित स्रोत दर्जनौँ क्षेत्रमा छर्नुभन्दा केही क्षेत्रमा निर्णायक लगानी गर्नुपर्छ। कुन क्षेत्रमा प्रतिस्पर्धी बन्न सकिन्छ? कहाँ ठूलो रोजगारी सिर्जना गर्न सकिन्छ? कुन उत्पादन विश्व बजारमा बेच्न सकिन्छ? विकास नीति यिनै प्रश्नबाट सुरु हुनुपर्छ।

दोस्रो – निर्यात

कोरियाको घरेलु बजार सानो थियो। त्यसैले उसले विश्व बजारलाई आफ्नो बजार बनायो। निर्यात विदेशी मुद्रा कमाउने माध्यम मात्र थिएन; त्यो उद्योगको प्रतिस्पर्धात्मकता परीक्षण गर्ने संयन्त्र पनि थियो।

नेपालले पनि ‘के उत्पादन गर्ने?’ भन्दा पहिले ‘कसलाई बेच्ने?’ भन्ने प्रश्न सोध्नुपर्छ।

तेस्रो – मानव पुँजी

कोरियाले स्रोतको अभावलाई शिक्षाले पूर्ति गर्यो। प्राथमिक शिक्षाबाट प्राविधिक सीप, विश्वविद्यालय, अनुसन्धान र प्रविधिसम्म लगानी विस्तार भयो।

नेपालको लक्ष्य पनि शिक्षित बेरोजगार होइन, उत्पादनशील जनशक्ति हुनुपर्छ। शिक्षा उद्योग, सीप, अनुसन्धान र रोजगारीसँग जोडिनुपर्छ।

चौथो – परिणाममुखी राज्य

कोरियाले निजी क्षेत्रलाई पूँजी, संरक्षण र सुविधा दियो, तर त्यसलाई उत्पादन र निर्यातसँग जोड्यो।

नेपालमा पनि कर छुट, सहुलियतपूर्ण ऋण, ऊर्जा वा अन्य सुविधा दिने हो भने बदलामा लगानी, रोजगारी, उत्पादन, निर्यात र उत्पादकत्वको स्पष्ट परिणाम मागिनुपर्छ।

पाँचौँ – पूर्वाधार भनेको उत्पादनको संरचना हो

सडक, विद्युत्, सिँचाइ र उद्योग अलग-अलग परियोजना होइनन्। उद्योगसम्म ऊर्जा, उत्पादनस्थलसम्म सडक र बजारसम्म प्रतिस्पर्धी ढुवानी नपुगेसम्म पूर्वाधार आफैंमा विकास होइन।

छैटौँ – विकास राजधानी बाहिर पनि हुनुपर्छ

कोरियाको ग्रामीण विकास अभियानले स्थानीय पूर्वाधार र सहभागितालाई जोड्यो। नेपालको विकास पनि काठमाडौंकेन्द्रित भएर पुग्दैन। गाउँमा उत्पादन, रोजगारी र बजारको पहुँच सिर्जना गर्नुपर्छ।

र संकटलाई पनि त्यसैगरी हेर्नुपर्छ। बाढी, पहिरो वा भूकम्पपछि पुरानै संरचना पुनःनिर्माण गर्न पर्याप्त हुँदैन। भत्किएको पुल फेरि बनाउनु होइन, अर्को बाढी आउँदा नढल्ने पुल बनाउनु हो। यही कोरियाको अर्को पाठ हो – संकट अन्त्य होइन, पुनर्संरचनाको अवसर पनि हुन सक्छ।

तर कोरियाको कथा पूर्ण सफलताको कथा भने होइन। तीव्र औद्योगिकीकरणसँगै ठूला कम्पनीहरूको शक्ति, सामाजिक प्रतिस्पर्धा, असमानता, महँगो आवास र जनसांख्यिक संकट पनि आए। त्यसैले नेपालको लक्ष्य केवल उच्च जीडीपी हुनुहुँदैन। प्रश्न यो पनि हो – त्यसको लाभ कसले पाउँछ?

अन्ततः कोरियाको कथा प्राकृतिक स्रोतको होइन, मानिस, नीति र निरन्तरताको कथा हो। कोरियासँग तेल थिएन। उसले उद्योग बनायो। ठूलो घरेलु बजार थिएन। उसले विश्व बजार बनायो। युद्धले देश भत्काएको थियो।

उसले पुनर्निर्माणलाई विकासको सुरुवात बनायो। नेपालका लागि अन्तिम पाठ सायद यही हो-स्रोतसाधनले देश धनी बनाउँदैन। स्रोतसाधनलाई सही दिशामा परिचालन गर्ने क्षमताले देशलाई धनी बनाउँछ। संकटले देशको भविष्य तय गर्दैन। संकटपछि देशले लिने निर्णयले भविष्य तय गर्छ।

2